आठौँ पटक बिहारको मुख्यमन्त्री बने नितिश कुमार

पटना । नितिश कुमारले बिहारको मुख्यमन्त्रीको रुपमा शपथ लिएका छन् । उनीसँगै तेजस्वी यादवले पनि शपथ लिएका छन् । राजभवनमा आयोजित एक कार्यक्रममा बिहारका राज्यपाल फागु चौहानले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । एक दिन अघि, नितिश कुमारले एनडीए गठबन्धनसँग सम्बन्ध तोड्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनले राष्ट्रिय जनता दलसँग मिलेर नयाँ सरकार बनाउने दाबी गरेका थिए ।

नितिश कुमारले १६५ विधायकको समर्थन रहेको दाबी गरेका छन् । सन् २०२० को विधानसभा चुनावमा नितिश कुमारले बीजेपीसँग चुनाव लडेका थिए । तर पछिल्ला केही दिनदेखि यी दुई पार्टीबीचको मतभेद खुलेर बाहिर आउन थालेको छ । पूर्व केन्द्रीय मन्त्री आरसीपी सिंहलाई लिएर विवाद चर्किएको छ । मंगलबार नितिश कुमारले जनता दल युनाइटेडका विधायक र सांसदहरूको बैठक बोलाएका थिए, जसमा भाजपाबाट अलग हुने निर्णय गरिएको थियो । नितिश कुमारले आठौं पटक मुख्यमन्त्रीको शपथ लिएका छन् ।

उनले पहिलो पटक ३ मार्च २००० मा मुख्यमन्त्रीको शपथ लिएका थिए । त्यतिबेला उनको बहुमत थिएन र सात दिनपछि राजीनामा दिनुपरेको थियो । सन् २००५ मा, नितिश कुमारले दोस्रो पटक मुख्यमन्त्रीको रूपमा शपथ लिए । यसपटक उनले भाजपाको सहयोगमा सरकार बनाए । सन् २०१० मा उनले भाजपासँग मिलेर फेरि सरकार बनाए र तेस्रो पटक मुख्यमन्त्रीको शपथ लिए । तर २०१३ मा उनले भाजपा छोडे । सन् २०१४ को लोकसभा चुनावमा पराजित भएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएर जितनराम माँझीलाई मुख्यमन्त्री बनाएका थिए।

तर २०१५ मा उनले फेरि मुख्यमन्त्रीको शपथ लिए र राजीनामा दिनु आफ्नो गल्ती भएको बताए । त्यसपछि २०१५ को विधानसभा चुनावअघि उनले राष्ट्रिय जनता दलसँग गठबन्धन गरे । चुनावमा गठबन्धनले ठूलो सफलता पायो र नितिश कुमारले पाँचौं पटक मुख्यमन्त्रीको शपथ लिए । तर २०१७ मा उनले आरजेडीसँग सम्बन्ध तोडेका थिए। उनले भाजपा सरकार गठन गरे र छैटौँ पटक मुख्यमन्त्रीको रूपमा शपथ लिए । उनले सन् २०२० को विधानसभा चुनावमा बीजेपीसँग लडे र त्यसपछि सातौँ पटक सीएमको रूपमा शपथ लिए । तर अब उनले फेरि एकपटक भाजपाबाट अलग भए र आरजेडीसँग मिलेर सरकार बनाएका छन् र आठौं पटक मुख्यमन्त्रीको शपथ लिएका छन् ।

प्रतिक्रिया