‘रोगले छोएन, दुःखले छोडेन’

फरासिला बाजेको निरसिलो कथा

गलेश्वर । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बनेका छन्, म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा । उमेरले ९७औँ वसन्त पार गरे पनि उनले जीवनमा कहिल्यै पनि सुख प्राप्त गरेनन् । स्वस्थ शरीर र फरासिलो अनुहार भए पनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो । करिब एक दशकअघि खुट्टामा चोट लागेर अस्पतालमा जानुबाहेक यो उमेरसम्म बिरामी भएर कहिल्यै सुत्न नपरे पनि नियतिले उनलाई सुखसँग कहिल्यै बस्न दिएन । श्रीमती खिरकुमारीसँग सामान्य छाप्रोमा बस्दै आएका थापा दम्पत्तिलाई स्याहारसुसार गर्ने आफ्नै सन्तान छैनन् ।

झण्डै ४० वर्षअघि छोरा मीनबहादुर थापाको युवावस्थामा नै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ (पीडा) थपियो । त्यतिबेला त जेनतेन सहेरै बसे तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ (छोरा नहुनुको पीडा) चह¥याइरह्यो, दुःखी रह्यो । थापा दम्पत्तिका मुख नबोल्ने एउटी छोरी पनि विवाह गरेर बेनी नगरपालिका–३ तोराखेत पुगेकी छन् ।

बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो मुद्रामा देखिने थापा लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याएर खाने गर्छन् । उनको निधारमा चन्दन त कहिल्यै छुट्दैन् तर जीवनको एक मात्र सहारा (पत्नी) पनि आफूभन्दा पहिला छुट्लिन् (मृत्यु होला) कि भन्ने पिरले उनलाई सताइरहन्छ । सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस । आफ्नै भाइको गोठमा बुढेसकालका दिन गनिरहेका थापा दम्पतीलाई बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर र हिराबहादुरले हेर्ने गरेका छन् ।

बिहान ६ बजे उठेर नित्यकर्मपछि घरको तलपट्टिको धारामा नुहाएर निधारमा चन्दन लगाएर दैनिक एक घण्टा हात जोडेर भगवान्को नाम उच्चारण गर्दै बस्छन् । त्यसपछि चिया खाएपछि लठ्ठीसहित गाउँमा निस्कने थापा ९ बजेतिर खाना खान घर आउने र खाना खाएपछि छिमेकीको घरमा गएर ठट्यौला कुरा गरेर हँसाउने छिमेकी पदमपाणी शर्माले बताए । ‘मनमा जति ठूलो पीर भए पनि मुहारमा कहिल्यै पनि देखाउनु भएन, यो उमेरसम्म बिरामी भएर सुतेको कहिल्यै थाहा पाइएन्,’ शर्माले भने । उमेरले नेटो काटे पनि उनको स्वभाव भने बालसुलभ नै छ । ससाना बालबालिकासँग जिस्कँदै अझै केटाकेटीसँग खेल्ने र रमाउँदै दिन काट्छन् उनी ।

५० वर्षको उमेर पार गर्न नपाउँदै नानाभाँतीका रोगले सताउने गरेको अहिलेका मानिसका लागि थापा अपवाद हुन् । रोगको बारे उनले ठट्यौली शैलीमा भने, ‘चिनी खाँदा मुख गुलियो र करेला खाँदा मुख तीतो हुने रोग छ बाबु मलाई । राती अलि धेरै खाँदा पेट साह्रो हुन्छ, बिहान उठ्दा गिलोगिलो हुन्छ, अरू त केही हुँदैन ।’

उमेरमा अरूको ज्याला मजदुरी र बनिबुतो गरेर जीविका चलाएकी उनकी श्रीमती खिरकुमारी पनि कम रंगिली छैनन् । ८० वसन्त पार गरिसकेकी खीरकुमारीका दुःख भनिसाध्य छैन । बिहान उठेदेखि राती नसुतुन्जेलसम्म घरधन्दाले कहिल्यै नछोड्ने खिरकुमारीले विगतलाई सम्झँदै भनिन्, ‘घर पनि थियो, कमाइ खान अलिअलि सम्पत्ति पनि थियो, तर ३९ वर्षअघि छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदियाँै अनि झारेगैरा (तराई) गयौँ, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आयौँ, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौँ ।’

थापाका उट्पट्याङ कुराले सुन्नेहरूलाई नलाई बिन्दास देख्छन् । उनका रसिला गफ सुन्न गाउँका बुढापाका मात्र नभई केटाकेटी र युवायुवती झुम्मिने गर्छन् । ‘तपाईंको रहर के छ’ भनेर जिज्ञासा राख्दा थापाले भने, ‘सय वर्ष कटेपछि बिहे गर्ने रहर छ ।’ थापाको कुरा सुनेपछि छिमेकी पदमपाणी मरीमरी हाँसे । बिरामी परेर अहिलेसम्म उपचारमा रकम खर्च गर्न नपरेका थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गतको सामाजिक सुरक्षा भत्ता पाउँछन् । सोही रकमले घरको केही खर्च चल्ने गर्छ । अझैसम्म पनि थापा दम्पत्तिले खसीको मासु खान छोडेका छैन । गाउँमा खसी काटे भने सबैभन्दा पहिला थापा नै पुगेर आफ्नो भाग लिएर जाने गरेको छिमेकी शर्माले बताए ।

श्रीमती खिरकुमारीलाई आफूले फकाएर बिहे गरेको र माइतबाट भगाएर घरमा ल्याएको बताउने थापाले आफ्नी श्रीमतीलाई ‘च्याखुरी बजै’ भनेर जिस्क्याउँछन् । ‘पहिला त मलाई खुब मन पर्थिन् यिनी, अहिले त…’ भनाइ पूरा नगरिकन खित्का छोडेर हाँस्दै थापाले भने, ‘सय वर्षसम्म बाँचे भने त अर्की ल्याएर सबैलाई देखाउँथे ।’

दिनभरि गाउँ घुमेर र छिमेकीहरूसँग गफिएर समय बिताए पनि रात परेपछि भने थापा दम्पत्तिलाई निकै नियास्रो लाग्छ । नाता सम्बन्ध, घर व्यवहार र समय परिवेशका कुरा गर्न नपरेपछि सधैँभरि बूढाबूढीले गन्थन गर्ने विषय भनेको एउटै हुन्छ ‘छोराछोरी भइदिएको भए कति जाति हुन्थ्यो होला ?’
रात अबेरसम्म निद्रा नलागेपछि बूढाबूढी बाहिर निस्केर आँगनमा बस्छन् । त्यहाँ बस्दै आएको कुकुर थापा दम्पत्तिको साथी बन्छ । उनले सेतो कुकुर पालेका छन् । घरको सुरक्षा गर्ने देखि बूढाबूढीको साथी बनेको त्यस कुकुरलाई ‘सेते’ नामले बोलाउँछन् । त्यही कुकुर सुम्सुम्याउँदै माया गर्छन् र एकोहोरो आफ्नो पीडा कुकुरलाई सुनाउँछन् ।

‘बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ,’ थापाले भने, ‘यही पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौँ भनेर श्रीमतीलाई भनेँ तर उनी मान्दै मानिनन् र अहिलेसम्म बाँचिएको छ ।’ ठट्यौला थापाका यस्ता निरस लाग्ने कुराले सबैका आँखा रसाएर आउँछ ।

प्रतिक्रिया