मतदाता नामावली अद्यावधिक १९ भदौसम्म

चुनावका लागि आयोगको सक्रियता

काठमाडौं । संघ (प्रतिनिधिसभा) र प्रदेशसभा सदस्यको आगामी निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधका लागि आह्वान गरेको छ । मतदाता नामावली अद्यवधिक र दाबी विरोधका लागि आयोगले भदौ १२ देखि १९ गतेसम्मको समय निर्धारण गरेको छ ।

उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिन, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिन र एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएमा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिने आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, मतदाता नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स र अनलाइनबाट पनि निवेदन दिन सकिने व्यवस्था गरिएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा हुने गरी मिति घोषणा गरिसकेको छ । निर्वाचनको मिति घोषणापछि निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट हुँदै आएको मतदाता नामावली संकलन कार्य यसअघि नै स्थगित भइसकेको छ ।

यसैगरी आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आगामी ८ भदौदेखि सुरु गर्ने भएको छ । आयोगको बुधबार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गर्दै राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची आगामी असोज २ र ३ गते पेस गर्नुपर्ने समय तोकेको छ ।

आयोगले समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले आगामी भदौ ८ गते निवेदन दिन सूचना आह्वान गर्नेछ । सोही अनुसार, भदौ १० देखि १२ गतेसम्म दलहरूले निवेदन पेस गर्नुपर्ने हुन्छ । आयोगले उक्त निवेदन भदौ १३ गते प्रकाशन गर्नेछ ।

यसैगरी भदौ १५ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गर्ने आयोगको निर्वाचन कार्यक्रममा उल्लेख छ । उम्मेदवारहरूको बन्दसूची भने असोज २२ गते प्रकाशन गरिने कार्यसूची आयोगले तय गरेको छ ।

आगामी असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता गराउने आयोगको तयारी छ । समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची भने आगामी कात्तिक ९ गते प्रकाशन गरिने आयोगले जनाएको छ ।

यसैबीच, सत्ता गठबन्धनको एउटा दलमध्येको एक नेकपा एकीकृत समाजवादीले आगामी निर्वाचनको तयारीका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी तोकेको छ । पार्टी मुख्यालयमा बुधबार बसेको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव गंगालाल तुलाधरलाई दिएको छ ।

बैठकले घोषणपत्र मस्यौदा तयार गर्ने जिम्मेवारी उपमहासचिहरूयलाई दिएको छ । घोषणापत्र तयार गर्न प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी दिइएको महासचिव वेदुराम भुसालले बताएका छन् । उम्मेदवारीको मापदण्ड र छनोट विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी महासचिव भुसाललाई दिइएको छ ।

प्रतिक्रिया