प्रशिक्षक प्रभाकर यसै साता नेपाल आइपुग्ने

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक भारतीय पूर्व स्टार अलराउन्डर मनोज प्रभाकर यसै साता नेपाल आइपुग्ने भएका छन् । नेपालले दुई सातापछि केन्या भ्रमण गर्ने हुँदा शुक्रबारसम्म नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । ‘सायद १२ अगष्ट (शुक्रबार) सम्म प्रभाकर नेपाल आइपुग्छन् होला । हामी केन्या २३ अगष्टमा जान्छौं होला’, मल्लले भने ।

नेपालले केन्यासँग पाँच टि२० आई र तीन एकदिवसिय अभ्यास खेल खेल्नेछ । टि२० आई सिरिज २५ अगष्टदेखि सुरु हुनेछ । मल्लका अनुसार नेपालले टोली घोषणा हुनेछ । क्यारेविन प्रिमियर लिग (सिपिएल) को कारण सन्दीपले तीन एकदिवसिय अभ्यास खेल भने खेल्ने छैनन् । सन्दीप नहुँदा रोहित पौडेलले कप्तानी गर्नेछन् । अघिल्लो महिना पुबुदु दासानायकेले राजीनामा दिँदै क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि नेपालले प्रभाकरलाई नियुक्त गरेको हो । बिसिसिआईका उच्च पदाधिकारीको सिफारिसमा प्रभाकरलाई नियुक्त गरेको क्यानले जनाएको छ । प्रभाकरको सम्झौता एक वर्षको रहेको छ । सन् २०१९ मा उमेश पटवालपछि प्रभाकर नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्ने दोस्रो भारतीय हुन् ।

प्रभाकर भारतीय क्रिकेटमा सन् १९९० को समयका चर्चित अलराउन्डर थिए । ५९ वर्षीय प्रभाकारले भारतबाट ३९ टेस्ट, १ सय ३० ओडिआई, १ सय ५४ प्रथम श्रेणी र २ सय १४ लिष्ट ए खेलेका छन् । प्रभाकरले सन् १९८७, १९९२ र १९९६ मा लगातार तीन विश्वकप खेलेका थिए । १९९६ मा श्रीलंकाविरुद्ध विश्वकपमा खराब बलिङ गरेपछि उनको करिअरको पूर्णविराम लागेको थियो । सनाथ जयसूर्याले उनको करिअर समाप्त पार्नेक्रममा एकै ओभरमा २२ रन प्रहार गरेका थिए । उनले मुख्य प्रशिक्षकको रुपमा भारतको राजस्थानलाई रणजी ट्रफीमा हेरेका छन् । दिल्ली र अफगानिस्तानको बलिङ प्रशिक्षकको रुपमा २०१६ को टि२० विश्वकपमा काम गरेका थिए ।

प्रतिक्रिया