‘लोककलाकार जीवनी’ विमोचित

काठमाडौं । नेपालमा प्रचलित विभिन्न लोककलामा काम गर्ने एक दर्जन बढी कलाकारको जीवनी प्रकाशित भएको छ । कलाकार तथा लेखक देवेन्द्र थुम्केलीद्वारा लिखित ‘लोककलाकार जीवनी’ को मंगलबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा सार्वजनिक गरियो । प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विमोचन गरेको उक्त कृतिलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको लोककला विभागले प्रकाशन गरेको हो ।

सो कार्यक्रममा प्रतिष्ठानका कुलपति कर्माचार्यले पुस्तकले नेपालका लोककलाकारलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले लोककला र कलाकारको जीवनयात्रालाई चर्चा गरिएको पुस्तकले नेपाली कलाको बहुआयामिकतालाई प्रकाश पारेको भनाइ राखे । उनले देशभर हरेक स्थान र जाति विशेषमा रहेका लोककलाका बारेमा सानो पुस्तकले समेट्न नसके पनि आगामी दिनमा यस विषयमा पुस्तक लेख्नका लागि प्रतिष्ठानले पहल लिने जनाए । उनले भने, ‘आगामी दिनमा प्रतिष्ठान एवं अन्य लेखकले पनि लोककला र कलाकारका बारेमा अझै व्यापक ढंगले लेख्नुपर्ने आवश्यकता बढेर गएको छ ।’

राजनीतिज्ञ एवं भाषाविद् डा. गोपाल ठाकुरले कलाले मानिसलाई समृद्ध र वैभवशाली बनाउने बताए । समाजलाई सभ्य र पहिचान दिलाउन कला र संस्कृतिले भूमिका खेल्ने भएकाले राज्यले यसको महत्वलाई बुझेर जनस्तरमा विकास भएका कलाको संरक्षण, प्रवद्र्धन तथा राष्ट्रियकरण गर्न विशेष ध्यान दिनुपर्नेमा डा. ठाकुरले जोड दिए । उनले कलाकारले इश्वर बनाउने तर त्यही कलाकारलाई उपेक्षा गर्ने मनोवृत्ति राम्रो नभएको जिकिर गरे । कलाकार राष्ट्रका सम्पदा भएकाले उनले कलाकारको उचित ढंगले राज्यले सम्मान गर्नुपर्नेमा विचार व्यक्त गरे ।


कार्यक्रममा नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले लोककलाको बृहत पाटोलाई अझै गहन रुपमा ल्याउनुपर्ने विचार व्यक्त गरे । उनले लोककलाकारका बारेमा पुस्तक पहिलो पटक लेखिएको र अन्य शृंखला पनि भाग १–२ गर्दै लेख्दै जानुपर्ने सुझाव दिए । त्यसैगरी पुस्तकका लेखक देवेन्द्र थुम्केलीले पुस्तकमा नेवार, अवधी, मिथिला, थारू र राजवंशी लोककलामा काम गर्ने कलाकारका बारेमा लेखिएको बताए । उनले नेपाली लोककला क्षेत्रमा विशिष्ट कलाकार धेरै भए पनि एउटा पुस्तकमा सबैलाई स्थान दिन नसकिएको जनाए । थुम्केलीले आगामी संस्करणमा लोककलाकारका बारेमा कलम चलाउने प्रतिबद्धता व्यक्त गरे । प्रतिष्ठानका प्राज्ञ रमेशनाथ खनालले पुस्तकले नेपाली लोककला र कलाकारलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको बताए । उनले पुस्तक सानै भए पनि महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा प्रतिष्ठानले अझै गम्भीर ढंगले कलाक्षेत्रका विविध आयामलाई खोज अनुसन्धान गर्दै प्रकाशन गर्ने भनाइ राखे ।

प्राज्ञ सञ्जय वान्तवाले लोककलाको विकासमा सबै क्षेत्रले विशेष ध्यान दिनुपर्ने बताए । उनले लोककलालाई मूलधारमा ल्याइ यसको महत्व र पहिचानलाई बचाउन खोज अनुसन्धान तथा प्रकाशन लगायतका विविध कार्यक्रममार्फत काम गर्नुपर्नेमा जोड दिए । प्रतिष्ठानको लोककला विभाग प्रमुख मिथिलादेवी यादवले लोककलाको वैभवको प्रवद्र्धनका लागि हरेक समुदायमा अभ्यास भइरहेको लोककलाको बारेमा पुस्तक लेख्न सकिने बताइन् । उनले लोककला मानव जीवनको लामो परम्परालाई जोडेको विचार व्यक्त गरिन् । उनले सीमित स्रोत र साधनका कारण यस पुस्तकमा लोककलाबारे सानो अंशमात्र लेख्न सफल भएको बताइन् । पुस्तकमा शारदा चित्रकार, जीतबहादुर रायमाझी ‘मैथिल’, जुलुमलाल चित्रकार, सुर्यबहादुर चित्रकार, श्यामानन्द ठकुरी, अजितकुमार साह, मिथिलादेवी यादव, एससी समुन, सीतादेवी कर्ण, लक्ष्मण मण्डल, पवनकुमार राजवंशी, पुनमकुमारी दास र मित्थु थारूको जीवनीसहित कलाकृतिको चर्चा गरिएको छ ।

प्रतिक्रिया