काठ आयातलाई निरुत्साहित गर्छु : वनमन्त्री यादव

काठमाडाैं । वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपालको सबै वन क्षेत्रको दिगो व्यवस्थापन गर्दै काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाइने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ‘सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी’ भन्ने मूल नाराका साथ आज आयोजना गरेको सामुदायिक वन दिवस, २०७९ को कार्यक्रममा मन्त्री यादवले नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाई नेपालमा वैदेशिक काठको आयातमा निरुत्साहित गर्ने बताए । उनले भने, ‘वनको दिगो व्यवस्थापन गर्दै काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाउने र वैदेशिक काठ आयातमा निरुत्साहित गर्ने मेरो योजना छ, सोहीअनुसार काम गर्ने छु ।’

यसैगरी मन्त्री यादवले सामुदायिक वनले अघि सारेका कार्यक्रमले नेपालमा हरियाली वृद्धि हुन सहयोग पुग्नुका साथै वनले ओगटेको क्षेत्रफलमा उल्लेखनीय वृद्धि भई वनको हैसियतमा सुधार आएको तथा भूक्षय नियन्त्रण एवं जलाधार संरक्षण हुँदा वन्यजन्तुको बासस्थान संरक्षणलगायत जैविक विविधतामा अतुलनीय योगदान पुगेको जिकिर गरे । उनले सामुदायिक वनकै कारण गरिब तथा विपन्न वर्गको जीविकोपार्जनमा सुधार हुनुका साथै सामाजिक बहिष्करणमा परेका महिला, दलित, आदिवासी जनजाति वर्गलाई सामाजिक मूल प्रवाहीकरण, महिला वर्गको नेतृत्व विकास तथा सामाजिक सद्भाव कायम राख्न उल्लेख्य योगदान र भूमिका निर्वाह गरेको भन्दै धन्यवादसमेत व्यक्त गरे ।

मन्त्री यादवले हाल विविध कारणले वन क्षेत्रबाट टाढा रहेका तर वनका परम्परागत उपभोक्ता विशेषतः मधेसी, दलित, जनजाति, आदिवासी तथा मुसलमानहरुको वन पैदावारको माग र आवश्यक्तालाई पनि प्राथमिकताका साथ पूरा गर्नुपर्ने धारणा अघि सारे । उनले वर्तमान अवस्थामा वन ऐनका प्रावधानबमोजिम व्यवस्थापनका लागि नेपालमा करिब २२ हजार पाँच सय १९ सामुदायिक वन उपभोक्ता समूहले करिब २३ लाख ५१ हजार पाँच सय ७७ हेक्टर राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोगमा निकै सहयोग पुर्याएको जानकारी दिए ।

मन्त्री यादवले विशेषगरी तराई तथा मधेसका नजिक एवं टाढा दुवै स्थानमा बस्ने उपभोक्ताको काठ, दाउरालगायत वन पैदवारको आधारभूत मागलाई परिपूर्ति गर्न अझै बढी मेहनत गर्नुपर्ने बताए । विश्वमा नै नमूनाका रूपमा रहेको नेपालको सामुदायिक वन कार्यक्रमलाई अझ बढी समूह केन्द्रित, स्वायत्त तथा सशक्तरूपमा अगाडि बढाइने मन्त्री यादवले जानकारी गराए ।

प्रतिक्रिया