महँगीविरुद्ध सडकमा कविता

काठमाडौं । बढ्दो भ्रष्टाचार तथा महँगीको विरोधमा सडक कविता कार्यक्रम गरिएको छ । प्रगतिशील लेखक संघ नेपाल, काठमाडौं जिल्ला कार्यसमितिले शुुक्रबार राजधानीको शान्ति बाटिकामा गरेको कार्यक्रममा डेढ दर्जन बढी कविले कविता वाचन गरे ।

‘नागरिकता खोस्टो होइन नागरिकलाई वस्तु नठान’ भन्ने नारासहित भएको कार्यक्रम प्रलेस काठमाडौंको निरन्तरको अभियान भएको प्रलेस काठमाडौं जिल्ला अध्यक्ष ज्ञानु विद्रोहीले बताए । उनले कार्यक्रमको औचित्य र सान्दर्भिकताबारे प्रकाश पारेका थिए । विद्रोहीले बेथितिविरुद्ध प्रलेस काठमाडौंले यस्ता कार्यक्रम निरन्तर आयोजना गरेर सरकारलाई खबरदारी गरिरहने बताए ।

विद्रोहीले अध्यक्षता गरेको कार्यक्रममा प्रलेसका केन्द्रीय अध्यक्ष डा.मधुुसूूदन गिरी प्रमुुख अतिथि थिए । कार्यक्रममा प्रलेस केन्द्रीय कोषाध्यक्ष बाबा बस्नेत, हिरण्यलाल श्रेष्ठ, रामबहादुर पहाडी, ध्रुुव घिमिरे, नारायण निरासी, बैरागी जेठा, मसान उपासक, रुपक अलंकार, कौशल्या रिसाल लगायतका अतिथि कवि साहित्यकारको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रश्मि रिमाल, भक्त विक, शिवकुमार श्रेष्ठ, समष्टि बुढामगर, अनु खड्का, कल्पना देवकोटा न्यौपाने लगायतले नागरिकता, सीमाना, भ्रष्टाचार, महँगी, अव्यवस्था लगायतका विविध विषयमा रचना वाचन गरेका थिए ।

कवितामार्फत कविले वर्तमान सरकार विदेशीको इसारामा चलेको, सुशासन कायम गर्न नसकेको, राष्ट्रियता कमजोर भएको, भ्रष्टाचारले देशलाई खोक्रो बनाएको, महँगीले आकाश छोएको लगायतका विषयमा रचेका कविता सुनाएका थिए । यस्तै, उनीहरुले सरकार भने आफ्नो कुर्सी जोगाउने ध्याउन्नमा रहेको वर्तमान अवस्थाप्रति कटाक्ष मात्र गरेनन् आक्रोशसमेत पोखे ।

प्रतिक्रिया