सहकार्यमा पेट्रोलियम भण्डारण गृह निर्माण गरिने

काठमाडौं । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन(आईओसी) को सहकार्यमा अमलेखगञ्जस्थित निगमको कार्यालयमा दुईवटा भण्डारण गृह निर्माण गर्ने भएको छ । शुक्रबार र शनिबार निगम र आईओसी पदाधिकारीबीच भारतमा भएको छलफलको क्रममा यो बिषयमा यस्तो समझदारी भएको हो । यो संँगै नेपाल–भारत पेट्रोलियम पाइपलाइनअन्तर्गतको दोश्रो चरणको निर्माण कार्य सुरु हुँदैछ । समझदारीअनुसार अमलेखगञ्जस्थित कार्यालयमा ४१ हजार लिटर क्षमताको २ वटा भण्डारण ट्याँकी निर्माण गरिनेछ । निगमका बितरण विभागका प्रमुख वीरेन्द्र गोइतकाअनुसार नायब कार्यकारी निर्देशक सुशिल भट्टराईको नेतृत्वमा भारत गएको टोलीले आईओसीको टोलीसँग छलफल गरेका थिए । छलफलपछि भएको समझदारीअनुसार आगामी भदौंदेखि दोश्रो चरणको कामलाई अघि बढाइनेछ ।

मोतिहारी अमलेखगञ्ज पाइपलाइनअन्तर्गत ४१ हजार लिटरको २ वटा भण्डारण ट्याँकी निर्माण गर्न बाँकी छ । यसमध्ये एकवटा आईओसी र एकवटा निगम आफ्नै लगानीमा निर्माण गर्ने तय भएको छ । ‘२ वटा ट्याँकीसँगै २४ वटा लोड अनलोड–वे निर्माण पनि हुनेछ । ‘फेज २ को लागि काम सुरु गर्न भारतीय पक्ष तयार छ, छिट्टै काम सुरु गर्ने सहमति भएको छ,’ गोइतले भने ‘सन् २०२४ को जनवरीसम्म आयोजना पुरा गर्ने लक्ष्यसाथ काम अघि बढाउन भारतीयहरु अघि बढिसकेका छन् ।’ दोस्रो चरणको आयोजनाको काम सम्पन्न भएपछि पाइपलाइनमार्फत नेपालमा पेट्रोल ल्याउने बाटो खुल्नेछ । भण्डारण ट्यांकी निर्माणका लागि आवश्यक प्लेट पाताहरु नेपाल ल्याउने काम आईओसीले सुरु गरिसकेको पनि उनले बताए ।

आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भने निगम वित्तिय रुपले कमजोर भएकाले तत्काल नेपालले लगानी गर्ने अवस्था नरहेको बताए । ‘भारतले काम थालेपछि नेपालले विस्तारै अघि बढ्ने कुरा स्वभाविक होला तर, तत्काल नेपालले योे आयोजनामा लगानी गर्ने अवस्था छैन,’ कार्यकारी निर्देशक थानीले भने ।
नेपाल र भारतको लगानीमा मोतीहारी अमलेखगन्ज ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ गतेबाट सञ्चालनमा आएको थियो । पाइपलाइन निर्माणका लागि भारतले ५ अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको थियो ।

मट्टितेल बिक्रेताको प्रमाण पत्र खारेजको चेतावनी

नेपाल आयल निगमले अव्यवस्थित तरिकाले मट्टीतेल बिक्री–वितरण गरिरहेका बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्ने चेतावनी दिएको छ । सोमबार सार्वजनिक रुपमा सूचना प्रकाशित गर्दै मट्टीतेल बिक्रेतालाई ३५ दिनभित्र तोकिएबमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाणसहित निगमको सम्बन्धित कार्यालयमा सम्पर्क गर्न निगमले भनेको छ ।

सूचनामा भनिएको छ,‘तोकिएको समयभित्र तोकिएको मापदण्ड पूरा गरी सम्पर्क गर्न नआउने मट्टीतेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गरिने व्यहोरा जानकारी गराइन्छ ।’ तत्कालीन अवस्थामा मापदण्ड तथा भौतिक पूर्वाधार पूरा गरी नियुक्ति पाएका मट्टीतेल बिक्रेताले अहिले मापदण्ड अनुसरा बिक्री–वितरण नगरेको देखिएको पनि निगलमे बताएको छ ।

निगमले तत्कालीन बिक्रेता विनियमावलीअनुसार तथा विद्यमान पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ को परिच्छेद ३ को विनियम १९ तथा अनुसूची ७ बमोजिमको मापदण्ड तथा भौतिक पूर्वाधार पूरा गरी नियुक्ति पाएका मट्टीतेल बिक्रेताको बिक्री स्थल हाल तोकिएको न्यूनतम पूर्वाधार एवं बिक्री स्थलको जानकारी समेत आम उपभोक्ताले सजिलोसँग पाउन नसक्ने अवस्थामा अव्यवस्थित तरिकाले बिक्री–वितरण गरिरहेको आधारलाई ध्यानमा राख्दै ३५ दिने सूचना सार्वजनिक गरेको हो ।
३५ दिनभित्र तोकिए बमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाणसहित निगमले तोकेको कार्यालयमा सम्पर्क गर्न पनि निगमले भनेको छ ।

प्रतिक्रिया