एनआरएनए डेनमार्कलाई उपाधि

डेनमार्क । गैरआवासीय नेपाली संघ स्विडेनले स्टकहोल्मको भिकिङ यती क्लबसँगको सहकार्यमा चौथो एनआरएनए कप फुटबल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा स्विडेनबाट चार टिम, नर्वेबाट एक टिम र डेनमार्कबाट एक टिमको सहभागिता भएको थियो । युरोपभर बसोबास गर्ने गैरआवासीय नेपालीलाई खेलकुदको माध्यमबाट एकताबद्ध गर्दै युवा तथा बालबालिकामा खेलप्रति अभिरुचि बढाउन प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । स्विडेनका रहेका नेपाली बाल खेलाडीलाई दुई टिममा राखेर प्रतिस्पर्धा गराइएको थियो ।

सिनियर ६ टिमले दुई समूहमा रहेर लिगकम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए । एनआरएनए एनसीसी डेनमार्कले नर्वेको आइस एफसीलाई फाइनलमा अतिरिक्त समयमा २–१ ले हराएर उपाधि जितेको थियो । निर्धारित समयको खेल १–१ को बराबरीपछि अतिरिक्त समयमा पुगेको थियो । विजेताले १२ हजार र उपविजेताले ७ हजार स्विडिस क्रोनर नगद पुरस्कार जितेका थिए । फेयर प्ले टिमको उपाधि धौलागिरि टिम स्विडेनले जितेको थियो । उसले १ हजार नगद पुरस्कार पायो ।

उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक क्रमशः एनआरएन डेनमार्कका सरोज श्रेष्ठ र भुवन खड्काले जितेका छन् । सर्वाधिक गोलकर्ताको उपाधि आइस एफसी नर्वेका जुरासिक मौसमले पाए । इमर्जिङ प्लेयरको उपाधि एनआरएनए स्विडेनका दीपक रोक्काले पाए । रेफ्रीद्वय संजय कार्की र बेन्जामिन एरिसेले निर्णायकको भूमिका निर्वाह गरेका थिए । गैरआवासीय नेपाली संघ डेनमार्कका वर्तमान अध्यक्ष शैलेन्द्र (शैलु) अधिकारी, गैरआवासीय नेपाली संघ नर्वेका वर्तमान महासचिव विष्णु गौतम तथा आईसीसी सदस्य राजु अर्याल, गैरआवासीय नेपाली संघ स्विडेनका संस्थापक अध्यक्ष नवीन थपलिया, पूर्व अध्यक्ष चिरञ्जीवी खरेल, निवर्तमान अध्यक्ष दिनेशकुमार श्रेष्ठलगायत शुभकामना मन्तव्य दिएका थिए ।

फुटबल प्रतियोगिता सफल पार्न विशेष भूमिका निर्वाह गरेका शैलेशमणि उपाध्याय, पूर्णबहादुर थापा, फोटोग्राफर अनिश ताम्राकार, निर्जल खड्कालगायतलाई सम्मान गरिएको थियो । सम्पूर्ण टिमका खेलाडीका लागि खानपानको व्यवस्थापन स्टकहोल्मस्थित चाँदनी रेस्टुरेन्टका मालिक सन्नी प्रधानले गरेका थिए । गैरआवासीय नेपाली संघ स्विडेनका अध्यक्ष राजकुमार पाठकले प्रतियोगितालाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया