अपमानजनक नाम र थर प्रयोगमा रोक

नागरिकताको विषयमा गृह संवेदनशील

काठमाडौं । नागरिकतामा प्रयोग गरिने नाम र थरको विषयमा सरकार संवेदनशील देखिएको छ । सरकारले आगामी दिनमा नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने निर्णय गरेको छ । यसअघि नागरिकता बनाउँदा नाम र थरमा अपमानजनक शब्द प्रयोग भएको भए त्यसलाई सच्याउन पाउने सुविधा पनि सरकारले प्रदान गरेको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यसअघि जारी भएको नागरिकतामा कुनै व्यक्तिको नाम वा थरमा अपमानजनक शब्द प्रयोग भएको भए सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पु¥याएर सच्याउन दिने उल्लेख गरिएको छ ।

‘विभिन्न जिल्लाबाट जारी भएका नागरिकता प्रमाणपत्रमा अपमानजनक शब्द प्रयोग भएको सम्बन्धमा समाचार, सूचना तथा जनकारीहरूप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । दुई बुँदे विज्ञप्तिको पहिलो बुँदामा नगरिकतामा अपमानजनक शब्द प्रयोग गरी व्यक्तिको नाम र थर प्रयोग नगर्ने उल्लेख गरिएको छ । ‘त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने’, विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ ।

खासगरी दलित समुदायका नाममा नागरिकता जारी गर्दा अपमानजनक नाम राखेर नागरिकता जारी गरेको भन्दै त्यसको चौतर्फी विरोध भएपछि गृहले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई त्यस्तो शब्द प्रयोग नगरी नागरिकता जारी गर्न निर्देशन दिएको हो । केही समयअघि दैलेखका एक व्यक्तिको नागरिकतामा ‘कुकुर’ नाम राखेर नागरिकता दिएको समाचार प्रकाशित भएपछि त्यसको चौतर्फी आलोचना भएको थियो । आफ्नो नाम कविराम कामी लेख्न भन्दाभन्दै नागरिकता बनाउने टोलीले ‘कुकुर कामी’ नाम राखेर नागरिकता दिएको गुनासो उनले गरेका थिए ।

नागरिकतामा ‘कुकुर कामी’ नाम उल्लेख भएपछि त्यसले उनका छोराछोरी र नातिनातिनासम्मलाई समस्या हुँदै आएको थियो । ०४६ साल जेठ ७ गते गाउँमै गएको नागरिकता टोलीले ०१७ साल पुस २५ गते जन्मेका कविराम कामीको नाम ‘कुकुर कामी’ नाम राखेर नागरिकता जारी गरेको थियो ।

प्रतिक्रिया