ओहायोमा गोली चल्दा चारको मृत्यु

न्युयोर्क । अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा भएको गोलाबारीमा परी चार जनाको मृत्यु भएको छ । प्रहरीले गोलीबारीमा संलग्न व्यक्तिको खोजी भइरहेको बताएको छ । डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोलाबारीमा उनीहरूको मृत्यु भएको हो । जताभावी गोली चलाएपछि आक्रमणकारी फरार भएका थिए । प्रहरीले आक्रमणमा संलग्न रहेका एक संदिग्ध व्यक्तिको वरपर नजान सर्वसाधारणलाई आग्रह पनि गरेको छ । स्टेपेन मार्लो नाम गरेका ती व्यक्तिसँग हतियार रहेको प्रहरीले जनाएको छ ।

आक्रमणमा चार जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको प्रहरीले पुष्टि गरेको छ । बट्लर सहरको जनसंख्या आठ हजार रहेको छ । पछिल्लो समय अमेरिकाका विभिन्न राज्यमा सार्वजनिक स्थानमा गोलीबारी गरी सर्वसाधारणको हत्या गर्ने घटना निकै बढेको छ । यसैबीच, अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार भएको बम विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्युको छ । उक्त घटनामा २२ जना घाइते भएको स्थानीय अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन् ।

अल्पसंख्यक शिया मुस्लिम समुदायका सदस्यहरू नियमित भेला हुने सहरको पश्चिमी जिल्लामा बम विस्फोट भएको थियो । सुन्नी मुस्लिम आतंकवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको बताइएको छ । विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको स्थानीय अस्पतालका एक वरिष्ठ अधिकारीले बताए । अनलाइनमा पोस्ट गरिएको भिडियो फुटेजमा एम्बुलेन्सहरू घटनास्थलमा कुदिरहेको देखिएको छ ।

प्रतिक्रिया