युक्रेनमा आणविक प्रकोपको जोखिम

न्युयोर्क । संयुक्त राष्ट्रको आणविक निगरानी संस्थाले युक्रेनको जापोरिज्जिया आणविक प्लान्टनजिक सैन्य कारबाही तत्काल अन्त्य गर्न आह्वान गरेको छ । आणविक प्रकोपको ठुलो जोखिम रहेको भन्दै आणविक निगरानी संस्था आईएईएका प्रमुखले यस्तो आह्वान गरेका हुन् । आईएईएका प्रमुख राफेल मारियानो ग्रोसीले युरोपको सबैभन्दा ठुलो आणविक उर्जा केन्द्रमा गोलाबारीको रिपोर्टबाट आफु अत्यन्त चिन्तित भएको बताएका छन् । उनले आणविक उर्जा केन्द्रमा आक्रमण भए परिणाम निकै गम्भीर आउने बताए ।

युक्रेनले रुसी सैन्य हमलाका कारण उक्त आणविक केन्द्रका केही भागलाई गम्भीर रूपमा क्षति पुगेको दाबी गरेको छ । रुसले भने आफुमाथि लागेको आरोप गलत भएको बताएको छ । रुसले उक्त आणविक उर्जा केन्द्रमा युक्रेनले नै क्षति पु¥याएको दाबी गरेको छ । रुसले अहिले पनि उक्त आणविक उर्जा केन्द्रमा युक्रेनी कर्मचारीहरु नै कार्यरत रहेको बताएको छ । रुसी सेनाले गत मार्चमा उक्त आणविक केन्द्रमा कब्जा गरेको थियो । उक्त आणविक उर्जा केन्द्रमा आफ्ना कर्मचारी नै कार्यरत रहेको युक्रेनले पनि स्वीकारेको छ । किभले रुसी सेनालाई आतंकवादी रणनीति प्रयोग गरी नागरिक क्षेत्रमा रकेट प्रहार गरेको आरोप पनि लगाएको छ । आणविक उर्जा केन्द्रमा गोलाबारी भएको सूचना बाहिरिएपछि विश्वब्यापी रुपमा यो गम्भीर वहसको विषय बनेको छ ।

प्रतिक्रिया