संघ-प्रदेश निर्वाचन : पहिलो दिन पाँच राजनीतिक दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबारबाट दल दर्ता कार्यक्रम सुरु गरेको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा हुने गरी मिति घोषणा गरिसकेको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन जनमत पार्टी (जपा) निर्वाचन आयोगमा पहिलो नम्बरमा दर्ता भएको छ । पार्टी उपाध्यक्ष वसन्त कुशवाहा, बविता इसर, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।

पहिलो दिन पाँच वटा राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार पहिलो नम्बरमा सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको हो । दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी, तेस्रोमा नेपाल समावेशी पार्टी, चौथोमा हाम्रो नेपाली पार्टी र पाँचौं नम्बरमा पुनर्जागरण पार्टी नेपाल दर्ता भएका हुन् ।


आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ । आयोगमा साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम साउन २२ देखि साउन ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको हो ।

दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ ।
दलले निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा सात वटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्ने आयोगले जनाएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगले आफ्नो तयारीलाई तिब्रता दिएको छ ।

प्रतिक्रिया