चुनावी तालमेलको विषयमा छलफल

प्रधानमन्त्री र लोसपा नेताबीच भेट

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूबीच आइतबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा विभिन्न राजनीतिक विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री र लोसपाका नेताबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने तथा लोसपा सरकारमा सहभागी हुने विषयमा पनि छलफल भएको जानकारी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले दिए ।

भेटका क्रममा लोसपाले नागरिकतासम्बन्धी ऐन कार्यान्वयन गर्ने विषयमा पनि कुरा उठाएको थियो । ‘नागरिकतासम्बन्धी ऐन कार्यान्वयन गर्ने र हाम्रा निर्दोष कार्यकर्ताहरुको रिहाइ गर्ने विषयमा पनि सकारात्मक छलफल भयो । प्रधानमन्त्री पनि हाम्रा माग सम्बोधनका विषयमा सकारात्मक हुनुहुन्छ,’ महतोले भने ।
प्रधानमन्त्री देउवाले नागरिकतासम्बन्धी विधेयक पारित भइसकेको र लोसपाका कार्यकर्ताहरूको रिहाइको मुद्दा फिर्ताका लागि प्रक्रिया अगाडि बढिसकेको जानकारी गराउँदै लोसपासँग सहकार्यका लागि सकारात्मक भएको पनि उनले जानकारी दिए । भेटमा प्रधानमन्त्रीसहित सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्णलगायत सहभागी थिए ।
निर्वाचनमा तालमेलका लागि प्रधानमन्त्री देउवासँग यसअघि पनि लोसपाले विभिन्न चरणमा छलफल गरेको थियो । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगिसकेको छ ।

प्रतिक्रिया