अल्मुताइरीकै कारण खेलाडी विदेश पलायन भए : रञ्जित

कठमाडौं । डिफेन्डर रञ्जित धिमालले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कारण खेलाडीहरू विदेश पलायन भएको बताएका छन् । पहिले पनि खेलाडीहरू लिग नहुँदा नेपालमा नै रहेको समयलाई इंगित गर्दै धिमालले अल्मुताइरीको कारण खेलाडी मानसिक रूपमा थकित भएको आरोप पनि लगाए ।
धिमालले शनिबार सामाजिक सञ्जाल फेसबुकबाट प्रशिक्षक अलमुताईरीको खेलाडीहरू शारीरिक रूपमा भन्दा पनि मानसिक रूपमा थकित भएको बताए । यसअघि शनिबार नै अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई आग्रह गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।

‘पहिले पनि राम्रो फुटबल गतिविधि भएन तर खेलाडीले यसरी विदेश पलायन रोजेनन् । तर तपाईंको हर्कत पनि खेलाडी विदेशिनुको अर्को प्रमुख कारण हो । यो त हामी पनि चाहन्छौँ कि फुटबल गतिविधि होस् । तर अहिले त नयाँ खेलाडी पनि सुरक्षित भविष्यको लागि विदेश रोजिरहेका छन् । यो समयमा खेलाडीहरू शारीरिक रूपमा हैन मानसिक रूपमा थकित छन् । तितो सत्य यही हो,’ उनले लेखेका छन्, ‘तपाई नेपालको फुटबल गतिविधिको कुरा गर्दै हुनुहुन्छ । वाह, तपाईंलाई लाज लाग्दैन ? तपाई कति झुट बोल्न चाहनुहुन्छ ? एनएसएल रोक्न खोज्ने तपाई नै होइन ? हामी सबैलाई यो घटना याद छ । जब एन्फाले एनएसएल गर्न चाहन्थ्यो । तपाईंलाई २ हप्ताको लागि प्रशिक्षण योजना पछाडि धकेल्न भन्यो । तर तपाईंले सबै खेलाडीहरूलाई कोठामा बोलाएर व्यक्तिगत रूपमा उनीहरूलाई धम्की दिनुभयो,’ उनले त्यसअघि लेखेका छन् ।

अल्मताइरीले गर्दा नै नेपाल सुपर लिग (एनएसएल) हुन नसकेको आरोप लगाएका छन् । उनैको कारण विवाद आउँदा नै एनएसएल नभएको उनले भने । अल्मुताइरीले मानसिक रूपमा मात्र नभएर खेलाडीलाई बेला बेला धम्काउने गरेको पनि बताए । ‘तिमीहरू एनएसएल खेल्न चाहन्छौ कि अलमुताईरीको टोलीबाट खेल्न चाहन्छौ ? सबै खेलाडी चुप लागे र कसैले एनएसएलको लागि आवाज उठाउन सकेनन् । पछि आफैँ तपाईंले पोस्ट लेखेर जनताको ध्यान खिच्ने प्रयास गर्नुभयो । र, एनएसएल हुनुपर्छ भन्ने चाहना भएको जस्तो नाटक गर्नुभयो ।’

प्रतिक्रिया