मिथिला लोककलामा सक्रिय सीतादेवी

कलाकार सीतादेवी कर्ण

विषय प्रवेश

कला मानवीय संवेगको उपज हो । सिर्जनात्मक अभिव्यक्ति पनि हो । मानवीय गतिविधिबाट सिर्जित श्रम र सीपको समुच्य रुप पनि हो । मानव समुदायले निर्माण गरेको पहिचानको जगाधार हो । नेपालमा कलाको लामो परम्परा छ । बहुविविधता र बहुसंस्कृतिमा आधारित रहेर कला निर्माण भएको पाइन्छ । यही परम्परामा प्रचलित मिथिला लोककलामा लामो समयदेखि सक्रिय कलाकारको रुपमा सीतादेवी कर्णको पहिचान स्थापित छ ।

परिचय

अग्रज कलाकार सीतादेवी कर्ण मिथिला लोककलामा परिचित नाम हो । २०२० साल जेठ २२ गते बुबा उपेन्द्रलाल कर्ण र आमा सुनयनादेवीको कोखबाट उनको जन्म जनकपुरधाम उ.म.न.पा.–१६, कपिलेश्वरमा भएको हो । हाल जनकपुरधाम उ.म.न.पा. वार्ड–१० मा रहेर कलाकर्म गरिरहेकी कर्ण बाल्यकालदेखि मिथिला चित्रकलामा लागेकी हुन् । सानैदेखि कलाप्रति रुचि भएकाले र सांस्कारिक रूपबाट पनि परिवारमा यो मिथिला लोककलाको अभ्यास भइरहने हुनाले उनमा यसको प्रभाव प¥यो । यसकै प्रभावका कारण उनले मिथिला लोककलालाई व्यवसायिक रूपमा अँगाल्न पुगिन् । घरमा विभिन्न चाडपर्व, संस्कार तथा विभिन्न सामाजिक, धार्मिक एवं सांस्कृतिक कार्यमा बनाइने अरिपन, कोहबर तथा अन्य चित्र देखेरै उनी यसप्रति आकर्षित भइन् ।

कलायात्रा

उनको किशोरावस्था कपडामा सियो–धागोले चित्र बनाउँदै तथा आँगनमा गोबरको रङ बनाई अरिपन चित्र कोर्दै बित्यो । मिथिला चित्रकर्ममै व्यस्त उनले यसै कलापरम्परालाई नै पेसा व्यवसायका रूपमा अगाडि बढाइरहेकस् छन् । जनकपुरधाममा आफ्नै घरमा दैनिक चित्रकर्ममा रमाइरहेकी सीतादेवीले निकै संघर्ष गरेर आजको पहिचान स्थापित गर्न सफल भएकी हुन् ।

कलाकार सीतादेवीले तिनै विषयलाई चित्रमा उतारे सामाजिक जागरणका लागि योगदान दिएकी छन् । उनले नारीशक्ति त्यसको सामाजिक, सांस्कृतिक तथा राजनैतिक महत्वका बारेमा समेत थुप्रै चित्र बनाएकी छन्

उनको व्यवसायिक रूपमा २०५० सालबाट कलायात्रा सुरु भएको हो । त्यसवेला अमेरिकन मिस क्लियरका कारण जनकपुरको कुआमा ‘जनकपुर नारी विकास केन्द्र (जेडब्लुडिसी) मा कलाकार पदको भ्याकेन्सी खुल्यो । त्यसमा ६२ जना प्रतियोगीमध्ये उत्कृष्ट भएपछि उनले विविधवत् रूपमा मिथिला कलामा सक्रियताका साथ जोडिइन् । उनी आमाले जहिल्यै प्रेरणा दिँदै कला निर्माणमा हौसला प्रदान गरेको सम्झिन्छिन् । उनले आमाकै हौसलाका कारणले आफूले कलाक्षेत्रमा राम्रो गर्न सकेको सुनाइन् । साथै उनलाई पति डा. ब्रजेन्द्रलाल कर्ण (जिएएमएस) ले पनि कलाकर्ममा लाग्न प्रेरणा र हौसला प्रदान गरिरहे । उनी अवकाशप्राप्त अधिकृत कविराज हुन् ।

तीन छोरी र दुई छोराकी आमा सीतादेवीले मिथिला कलामार्फत सामाजिक, राजनीतिक तथा सांस्कृतिक रूपान्तरणका विषयलाई उठान गरेको पाइन्छ । उनले परम्परागत ढंगले चलेका विषय र शैलीलाई अंगीकार गरी बनाएका कलामा महिला, मिथिला समाज र त्यसको सांस्कृतिक तथा सामाजिक परिवेशको अन्तरघुलन भएको पाउँछौँ । भारत, बेल्जियम, अमेरिका, न्यु मेक्सिको लगायतका देशमा कलाकै कारण भ्रमण गरेकी सीतादेवीले सन् २००९ मा ‘सेलिब्रिटिङ वोमेनहुड अन्नपूर्णा’ अवार्ड पाउन सफल भएकी छन् । उनी सन् २००९ मा ‘लसना एन अल्टरनेटिभ आर्ट स्पेस’ बाट समेत सम्मानित भएकी छन् । यस्तै, सन् २०१० मा ‘भद्रकुमारी घले सेवा सदन’ काठमाडौैंबाट अभिनन्दनपत्रले सम्मानित उनले सन् २०११ मा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट क्षेत्रीय विशेष पुरस्कारसमेत पाएकी थिइन् । सन् २०१५ मा राष्ट्रिय ललितकला प्रदर्शनीबाट कदरपत्रले सम्मानित, सन् २०१६ मा अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला, हेटौँडा हर्नामाडी गुम्बा डाँडाद्वारा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

त्यस्तै, उनले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदेश २ (मधेस) को प्रादेशिक प्रतिभा पुरस्कार प्राप्त गरेकी छन् । उनको परिवारमा अहिले छोरी तथा बुहारीले मिथिला चित्रकलामा सक्रिय छन् ।

उनले पहिलोपटक ‘महिलाको जिम्मेवारी’ शीर्षकको कलाकृति २०५० सालमा बनाएको बताइन् । यो कलाकृति बनाउन ३ घण्टा लागेको थियो । चित्रमा घर–परिवारमा महिलाका काम तथा जिम्मेवारीको विषयलाई उतारेको पाइन्छ । उनी नेपालका विभिन्न सघ–संस्था, जानकी जागरण अभियान, एफटिजी, युएसएआइडीलगायतमा वरिष्ठ प्रशिक्षकको रूपमा प्रशिक्षण दिँदै आएकी छन् । यसरी नै उनी भारतको पटनास्थित नारी हरितकलालगायत अन्य संघ–संस्थामा गई कलासम्बन्धी कार्यको अवलोकन गरी अनुभव हासिल गर्नुका साथै नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत धनुषा जिल्लाका विद्यालयमा मिथिला चित्रकलासम्बन्धी तालिमसमेत दिँदै आएकी छन् ।

यही कलाका कारण उनले सन् २०११ मा अमेरिकासमेत जाने मौका पाइन् । त्यहाँको न्यु मेक्सिको सन्ताफेको भव्य प्रदर्शनी फोल्क आर्टमा नेपालबाट प्रथम महिला प्रतिनिधिका रूपमा सामेल भई विभिन्न किसिमका मिथिला चित्र बनाएको उनले स्मरण गरिन् । जुन उनको जीवनको सबभन्दा महत्वपूर्ण पल रहेको थियो । यसरी उनले कला क्षमताको उजागर गरी परिवार, समाज र देशलाई गौरव गर्ने काम गर्दै कर्ण २०७० सालमा नारी विकास केन्द्रबाट बाहिरिइन् । अहिले उनी स्वतन्त्र रूपमा मिथिला कला र संस्कृतिको विकासमा लागिरहेकी छन् । चित्रकर्मसँगै उनँले समाजका विविध विषयलाई मिथिला शैलीमा उतार्दै आएकी छन् ।

कलायात्राका क्रममा उनलाई २०६५ सालमा तत्कालीन प्रचण्डको नेतृत्वको सरकारले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्राज्ञपरिषद्मा नियुक्ति गरेको थियो । कलाकारले मुद्दा दायर गरे । पछि सर्वोच्च अदालतले उनीहरूको नियुक्तिलाई बदर ग¥यो । यस्तै, २०७१ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को निर्णायक समितिमा रही उनले काम गरिन् । मिथिला लोकचित्रकला क्षेत्रमा निरन्तर रूपमा कार्य गरेका आधारमा उनलाई सन् २००९ मा सेलिब्रिटिङ वोमेनहुड अन्नपूर्णा अवार्डजस्ता अन्य कैयौँ पुरस्कार र सम्मानले सम्मानित गरिएको छ ।

यसै सन्दर्भमा नेपाल भारतबीचको सम्बन्धलाई सुमधुर बनाउने प्रतीकका रूपमा ‘सीता स्वयंवर’ सम्बन्धी चित्र बनाई दुवै देशबीच अटुट सम्बन्ध भएको कुरा कलामा झल्काई भारतीय दूतावासबाट दिइएको आफ्नो जिम्मेवारी पूरा गरेको उनले बताइन् । मिथिला लोकचित्रकला बनाउने सन्दर्भमा २०७६ सालमा भाउ फाउन्डेसनद्वारा दिइएको कार्यमा जनकपुरधाममा भित्तेचित्र कार्य सम्पन्न गरेको उनले जनाइन् । यसरी नै लोककलाको क्षेत्रमा अग्रसर रही उनको कलायात्रा निरन्तर रूपमा अगाडि बढिरहेको छ ।

कलाकृति

लोककला मनभित्रको कुरा प्रकट गर्ने माध्यम भएको बताउँदै उनले सामाजिक तथा सांस्कृतिक विषयलाई समेत कलाका माध्यमबाट प्रकट गर्न सकिने विचार व्यक्त गरिन् । उनको कला सिर्जनाको विकासक्रम घरआँगनमा अरिपन कोर्दै, बिहेबारीमा घरका पर्खालमा कोबर आदि चित्र बनाउँदै अगाडि बढ्यो । ‘नारी विकास केन्द्र’ मा काम गर्न थालेपछि उनले मिथिला कलाको व्यवसायिकता सोच्न थालिन् र अन्ततः यसै क्षेत्रमा दत्तचित्त भएर लागिरहिन् । यसैका माध्यमबाट उनी विश्वका विभिन्न देशमा भ्रमण गर्दै मिथिला लोकचित्रकलाको व्यवसायलाई समेत प्रवद्र्धन गरिरहेकी छन् ।

कलाकार सीतादेवीले लोककलाको सुरुआत् मानव सभ्यताको विकाससँगै भएको बताउँदै ढुंगे युगमा घुमन्ते मानिसले चट्टानमा, गुफामा, भुँइमा पहिचानका लागि विभिन्न खालका चिह्न कोरेको इतिहास रहेको सुनाइन् । त्यहीँबाट लोकचित्रकलाको सुरुआत भई बिस्तारै सामाजिक रूप सांस्कृतिक कार्यमा चित्रकलाको प्रयोग गर्न थालेको बताइन् । उनका अनुसार धार्मिक अनुष्ठान, पूजापाठ, विवाह, व्रतबन्ध, चाडपर्व आदिमा ग्रहण गरेको हो । कलाकार कर्ण भनिन्, ‘अरिपन, कोबर, अष्टदल आदिजस्ता चित्रहरू बनाउन थालियो । त्यसपछि विभिन्न धर्म ग्रन्थ, पौराणिक कथाका आधारमा लोकचित्रकला बनाउन थालियो । समाजमा गरिने कार्यहरू, घरायसी कामकाजलाई चित्रमा उतार्न थालियो । लोक–कला कुनै विशेष सिकाइबाट नभई स्वतः रूपमा सिकिने कला हो । आफ्नै टोल–छिमेकबाट आफ्ना अग्रजबाट पुस्ता दरपुस्ता हस्तान्तरण हुँदै यो कला विकसित हुँदै आएको छ ।’

उनले लोककला सबभन्दा पुरानो प्राचीन कालको कला भएता पनि यो कला अरू आधुनिक कला जति विकसित हुन नसकेको जिकिर गरिन् । जीवनको सुरुदेखि अहिलेसम्म यस क्षेत्रमा लागे पनि अरू कला र कलाकार जति लोककला र कलाकारले पहिचान पाउन नसकेको बताउँदै उनी भन्छिन्, ‘लोककलाको विकासका लागि प्रारम्भिक शिक्षामा चित्रकला विषयलाई पनि समावेश गर्नुपर्छ । लोककलाको आवश्यकता र महत्व बुझी यसका लागि विशेष अवसरहरू प्रदान गरिनुपर्छ । यस कला र कलाकारलाई प्रोत्साहन गर्न उचित सम्मान, पुरस्कार र पारिश्रमिकसमेत दिनुपर्छ । लोककलाको बिक्री वितरणको उचित बजारको व्यवस्थासमेत गर्नुपर्छ ।’

उनले बनाएका कलाकृतिका विषयमा महिलाले निर्वाह गर्ने दायित्व र जिम्मेवारीका विषय अधिक रहेको पाइन्छ । चाडपर्वमा बनाइने पारम्परिक अरिपन आदिबारे (अष्टदल, चौपरि, ककबा, सूर्य, चन्द्रमा, नवग्रह, पञ्चमुखी आदि) छन् । यस्तै विवाह व्रतबन्ध आदिमा बनाइने कोबर, बाँस, नैनाजोगिन, दशावतार, बेलपत्र, खटबार, पुरैन पात, बर्रे आदि विषय रहेका छन् ।

यसैगरी, महिला पनि पुरुषसरह सबै काम गर्न सक्छन् । जाँतो, ढिकीलगायत जहाजसमेत महिलाले उडाउन सक्छन् भन्ने सन्देश दिने विषयका चित्र पनि उनले बनाएकी छन् । महिला हिंसासम्बन्धी चित्रण, छोराछोरीबीच हुने भेदभावका विषय पनि उनका कलामा झल्किएको पाइन्छ । उनले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति, वेशभूषाका मानिसका एकताको सन्देश दिने कलाकृति मिथिला शैलीमा बनाएकी छन् । यो उनको कलागत वैशिष्ट्य हो ।

त्यस्तै, मिथिला क्षेत्रमा मनाइने विभिन्न चाडपर्व (छठ, दिपावली, सामाचकेबा, चौठचन्द्र, मधुश्रावणी, वटसावित्री पूजा, भ्रातृद्वितीया, माघेसङ्क्रान्ति आदि) झल्किएको चित्रसमेत उनले बनाएकी छन् । वेद पुराण, रामायण, महाभारत आदिमा वर्णित धार्मिक कथाहरूबारे (समुद्र मन्थन, सीता जन्म, स्वयंवर, विवाह, राम–सीता विछोड, लवकुश जन्म, वनवास, सीताको अग्निपरीक्षा) लगायतका विषयका चित्र पनि उनले प्रशस्तै बनाएकी छन् । सामाजिक तथा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने मिथिला शैलीमा बनाइएका उनका चित्र निकै उत्प्रेरणा दिने खालका छन् । प्राकृतिक प्रकोप (बाढी, पहिरो, भूकम्प) बाट प्रभावित जनजीवन र सरकारले उद्धार गरेको विषयलाई समेत उनले चित्रमा उतारेकी छन् ।

यसैगरी उनले जनकपुरधाम र जानकी मन्दिरको प्रचार–प्रसारको पोस्टर, कुटुम्ब बैन्डको पोस्टर आदि पनि बनाएकी छन् । मधेस प्रदेश सरकारले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान चलाएको थियो तर कलाकार सीतादेवीले तिनै विषयलाई चित्रमा उतारे सामाजिक जागरणका लागि योगदान दिएकी छन् । उनले नारीशक्ति त्यसको सामाजिक, सांस्कृतिक तथा राजनैतिक महत्वका बारेमा समेत थुप्रै चित्र बनाएकी छन् ।

उनको कला–यात्राको सुरुवात्को चरणलाई पहिलो मोडका रूपमा लिनुपर्दछ । यसबेला उनले जनकपुर नारी विकास केन्द्र (जेडब्लुडिसी) मा उत्कृष्ट प्रतियोगीमा छनोट भई कला यात्रा सुरु गरिन् । पहिले सामाजिक, सांस्कृतिक तथा धार्मिक रूपमा घरमा नै बनाउँदै आएको कला परम्परालाई उनले व्यवसायिकरूप दिन थालिन् । योबेला उनले चित्रमा सामाजिक, धार्मिक, सांस्कृतिक तथा समाजका विविध विषयलाई चित्रमा उतार्न थालेको समयका रूपमा लिनुपर्दछ । उनी उक्त संस्थामा पहिला, २०५१ सालदेखि २०७० सालसम्म उक्त कार्यालयको बोर्ड मेम्बरको सदस्य, सचिव, कोषाध्यक्ष, अध्यक्ष, मास्टर आर्टिस्ट, शाखा म्यानेजर आदि विभिन्न पदमा रही अनवरत्रूपमा काम गरिरहेकी छन् । उक्त कार्यालयबाट राजापुरको माहुरीपालन, काठमाडौँको एसडिसी अफिस, एकान्तकुना, जनकपुर रेलवे, जनकपुर एयरपोर्ट, ब्रिटिस गोरखा क्याम्प, पोखराजस्ता नेपालका अन्य ठाउँमा पुगेर उनले भित्तेचित्र लेखन पनि गरिन् । यसैक्रममा काठमाडौँ, कुपण्डोल महागुठीको भवनमा मैथिली विवाहको कोहबरको चित्र बनाई विभिन्न सामग्रीले सजाइन् ।

दोस्रो मोडका रूपमा उनले देश विदेशमा पुगेर कला हेर्ने र त्यसमा नयाँपन ल्याउने काम गरिन् । यसरी व्यक्तिगत र विभिन्न कार्यालयमा चित्र बनाउँदै जाँदा उनी घुँघटभित्र बस्ने महिला बेल्जियमसम्म पुगिन् । सन् २००४ मा युरोपेली देश बेल्जियममा भएको घुर्रा प्रदर्शनीमा भाग लिई म्युजियम तथा अन्य स्थानमा हिन्दु धर्मसम्बन्धी मिथिला चित्र बनाइन् । यसरी उनले समाजसँग घुलमिल हुँदा सिकेको ज्ञानलाई चित्रमा उतारेर सामाजिक यथार्थलाई समेत उजागर गरिन् । सर्वप्रथम त हाम्रो दैनिक जीवनमा विभिन्न पूजा, अनुष्ठानमा बनाइने अरिपन चित्रलाई नै साज–सज्जा गरी बनाउनमा चासो देखाएर आफ्नो धरोहर मैथिल कलाको उजागर गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको उनले सुनाइन् । यसैक्रममा उत्कृष्ट खालका चित्र बनाउने हुँदा टोलछिमेकमा हुने बिहेबारीलगायत अन्य अनुष्ठानमा कोहबर, बाँस, अष्टदलजस्ता सान्दर्भिक चित्रहरू बनाई आफ्नो सहयोगी भावना प्रस्तुत गदै आएकी छन् ।

कलाप्रतिको लगाव र निष्ठाका कारण नारी विकास केन्द्रमा अन्य कलाकारमध्ये उच्चस्थान प्राप्त गर्न सफल भई पौराणिक, सांस्कृतिक, पारिवारिक तथा आधुनिक खालका चित्रहरू बनाई कार्यालय, आफू र आफ्नो कलालाई विश्व स्तरमा चर्चित बनाउन उनी सफल भएकी छन् । उनले आफ्नो घरपरिवार, टोलछिमेक तथा देशविदेशका युवा पिँढीलाई मिथिला चित्रकलासम्बन्धी तालिम दिई यस कलालाई अझ आधुनिकीकरण गर्न र जीवन्त राख्न विशिष्ट भूमिका निर्वाह गर्दै आएकी छन् । यसरी आफ्नो कला शैलीमा नवीन चिन्तनलाई समावेश गर्नुका साथै आफ्नो सांस्कृतिक, पारम्परिक धरोहर र आमा–हजुरआमाबाट प्राप्त ज्ञानका कारण नै नारी विकास केन्द्रमार्फत नेपालबाट अमेरिकाको न्यु मेक्सिकोमा भएको फोक आर्ट एक्जिविसनमा एकमात्र नेपाली लोकचित्रकारका रूपमा प्रस्तुत भई आफू र देशलाई विश्व स्तरमा परिचित गराउन उनी सफल भइन् ।

उनले मिथिला क्षेत्रको पारम्परिक चित्रकलालाई अगाडि बढाउन तालिम, प्रशिक्षण, कार्यशाला तथा प्रदर्शनीमार्फत काम गर्दै आएको सुनाइन् । पौराणिक चित्रलाई नै अझ राम्रो र सुन्दर देखाउन सजाउने विभिन्न तरिकाहरू अपनाउनुका साथै त्यसमा समयसापेक्ष दिन सक्नु उनको कलात्मक विशेषता रहेको छ । घरमै सीमित रहने चेलीबुहारीमा अन्तर्निहित कलाक्षमतालाई उजागर गर्न प्रोत्साहन दिनुका साथै उनीहरूलाई सशक्तिकरण गर्नमा उनले विशिष्ट भूमिका खेल्दै आएकी छन् ।

टोल–समाजका नवपिँढीलाई लोककलासम्बन्धी तालिम दिई मिथिला चित्रकलातर्फको रुचि जगाउँदै महिलामा अर्थोपार्जन गर्ने स्रोत निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलेकी छन् । उनले मिथिला कलामा त्यसको पारम्परिक, सांस्कृतिक तत्व नछुटाई नवीन चिन्तनको प्रवेश गराएकी छन् । लोककला महिलाले मात्र गर्ने कार्य हो भन्ने रुढिवादी परम्पराका कारण उत्पन्न भएको लैङ्गिक भेदलाई हटाउन समाजमा जनचेतना फैलाउने, मिथिला लोककला मैथिलको मात्र नभई सम्पूर्ण देशको धरोहरका रूपमा रहेको कुरा विश्व स्तरमा फैलाउनेजस्ता कार्यहरू गर्दै उनी अगाडि बढिरहेकी छन् ।

कला मानवमा रहेको अन्तर्निहित क्षमता हो, जसलाई प्रस्फुटन गरी प्रदर्शनी गर्नु एउटा कलाकारका लागि अति नै आवश्यक रहेको हुन्छ । उनले एउटा सामान्य व्यक्तिलाई विशिष्ट कलाकारको रूपमा पहिचान बनाउन कला प्रदर्शनीको आवश्यकता पर्ने धारणा व्यक्त गर्छिन् । त्यस्तै, कलालाई आयआर्जनको माध्यम बनाउन प्रदर्शनीको आवश्यकता पर्दछ भन्दै उनले लोकजीवन र लोकसमाजमा सीमित रहेका कलालाई राष्ट्र र विश्वसामु चिनाउन प्रदर्शनीको आवश्यकता पर्ने जिकिर गरिन् ।

उनी नेपाली कलाको विकासका निम्ति राज्यले सरकारी तथा गैरसरकारी कार्यालय, संस्थाहरूका भित्तामा लोकचित्रकला बनाउन लगाउनुपर्ने बताउँछिन् । उनका अनुसार मठमन्दिर तथा सार्वजनिक स्थलमा लोकचित्रकलाले सुसज्जित गर्नुपर्ने, पाठ्यपुस्तकमा लोकचित्रकलासम्बन्धी पठनपाठन गराउनुपर्ने, कलाकारको आर्थिक स्तर उकास्ने र प्रोत्साहित गर्ने योजना निर्माण गर्नुपर्ने, कलाकारले बनाएका कलाकृतिको बिक्री वितरणका लागि उचित बजार व्यवस्थापन गर्नुपर्नेलगायतका काम राज्यले गर्नुपर्दछ ।

त्यस्तै, उनले लोककलाको निःशुल्क प्रशिक्षण केन्द्रको स्थापना हुनुपर्ने, लोकचित्रकलाको विश्वबजारमा प्रचारप्रसार गर्नुपर्ने, जनचेतना फैलाउने माध्यम लोकचित्रकलालाई बनाउनुपर्ने बताइन् । लोककलाको व्यवसायिक पक्षलाई मजबुत बनाउन अरू कला र कलाकारसरह यस कला र कलाकारको मूल्यांकन गर्नुपर्दछ भन्दै उनले भनिन्, ‘कलाकारले बनाएका कलाकृति बिक्री वितरण गर्न बिचौलियाको माध्यमबाट नभई बिक्रेता र क्रेताको प्रत्यक्ष रूपमा किनबेच हुनुपर्छ । चित्रकला बनाउनमा लागेको लागत र कलाकारको पारिश्रमिकको उचित मूल्य निर्धारण गर्नुपर्छ ।’

निष्कर्ष

मिथिला लोककलामा तीन दशकदेखि निरन्तर सक्रिय सीतादेवीले सम्झनलायक काम गरेकी छन् । उनको कलायात्रा र त्यसमा हासिल भएका कलात्मक उपलब्धिलाई संरक्षण, प्रवद्र्धन गर्दै नेपाली कलाको ऐतिहासिक मौलिकतालाई बचाउनु र विकासमा ध्यान दिनुपर्ने आजको आवश्यकता हो । आफ्नो सम्पूर्ण जीवन मिथिला लोकचित्रकलाको रचनामा बिताएकी अग्रज स्रष्टा सीतादेवी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एक वरिष्ठ कलाकारका रूपमा स्थापित हुन सकेकी छन् ।

प्रतिक्रिया