नेपाली कांग्रेसभित्रको खुमबहादुर पथ

०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी र गणेशमान सिंह सँगै स्वदेश फर्केका खुमबहादुरविरुद्ध मृत्युदण्डको सजाय हुनसक्ने धेरै मुद्दाहरू थिए । विवाह गरेको एकसाता नबित्दै २५ वर्षको एक युवक मृत्युदण्डको भागीदार बन्न स्वदेश फर्कनु भनेको चानचुने हिम्मत होइन । प्रजातन्त्रका लागि उनले मृत्युदण्डको परवाह गरेनन् । यहाँभन्दा ठूलो त्याग अर्को के हुन सक्ला ?

विन्दुकान्त घिमिरे

जुझारु नेता खुमबहादुर खड्काको निधनपछि मिडियालाई संक्षिप्त प्रतिक्रिया दिँदै केन्द्रीय सदस्य शंकर भण्डारीले भनेका थिए, ‘उहाँले अघि सारेको हिन्दू राज्य पुनस्र्थापनाको अभियानलाई म अगाडि बढाउँछु ।’ भण्डारी मात्रै होइन, खुमबहादुरको अभियानलाई अघि बढाउँछौँ भन्नेहरूको तँछाडमछाड छ यतिबेला नेपाली कांग्रेसमा । ०४८ सालयता नेतात्रय गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालापछि नेपाली कांग्रेसभित्र सबैभन्दा धेरै आलोचना र प्रशंसा बटुलेका पात्र खुमबहादुर नै थिए । त्रय नेतापछि व्यक्तिगत रूपमा कार्यकर्ताको भिड खुमबहादुरकै वरिपरि हुन्थ्यो ।


०५९ सालमा पार्टी विभाजनपछि नेपाली कांग्रेस (प्रजातान्त्रिक) को महामन्त्री बनेसँगै खुमबहादुरको राजनीतिक शक्ति क्षीण भएको हो । ०४९ देखि ०५९ सालसम्म खुमबहादुर नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेतामध्ये सबैभन्दा बढी शक्तिशाली थिए । जोसँग शक्ति छ, उसैको पछि भिड जम्मा हुनु गरिब देशको चरित्र नै हो । पार्टी विभाजनपछि खुमबहादुरसँग शक्ति रहेन । किन शक्ति रहेन ? यो विश्लेषणको अर्कै पाटो हो । तर शक्ति नरहे पनि कार्यकर्ताहरूको भिड घटेको देखिएन । शाही सरकारको छायाँ बनेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले भ्रष्टाचारको अभियोग लगाएपछि र त्यो अभियोगलाई अदालतले अनुमोदन गरेपछि खुमबहादुरको राजनीतिक भविष्य समाप्त भइसकेको थियो ।

कानुनी रूपमै उनी सार्वजनिक पदधारण गर्न अयोग्य भएका थिए । चरित्र नभएकी आइमाई र भविष्य नभएको नेताका पछि मान्छेहरू लुकेर मात्रै लाग्छन् भन्ने भनाइ छ । तर खुमबहादुरका पछि कार्यकर्ताहरू खुलेआम लागिरहे । राजनीतिक पदीय हिसाबले शक्ति क्षीण भए पनि कार्यकर्ताहरू वरिपरि रहेका कारण खुमबहादुर कांग्रेसभित्र एउटा शक्तिकेन्द्रका रूपमा रहिरहे ।

सबल पक्ष

केही अपवाद र संयोगबाहेक खुमबहादुरसँग साक्षात्कार गर्ने अवसर यस पंक्तिकारलाई जुटेन । तर, राजनीतिक पत्रकारिताको क्षेत्रमा सक्रिय रहेका कारण खुमबहादुरका गतिविधिप्रति चासो नहुने कुरै भएन । ०५६ सालको आमनिर्वाचनका बेला उम्मेदवार चयन हुँदै गर्दा लीला कोइरालासँग अन्तर्वार्ता गर्ने क्रममा खुमबहादुरको प्रसंग उठ्यो । यस पंक्तिकारले जिज्ञासा राख्यो, ‘पछिल्लो कालखण्डमा खुमबहादुरलाई बद्नाम गराउन कोइराला परिवार नै मिसनका रूपमा जुटेको देखिएको छ, तर हरेक महत्वपूर्ण निर्णयमा गिरिजाप्रसाद कोइरालालाई खुमबहादुर नभई हुँदैन किन ?’ यो प्रश्न सुन्नेबित्तिकै लीला कोइरालाले भनिन्, ए बाबु, टेप रेकर्डर बन्द गर्नोस् त एकछिन् ।’ हस भन्दै यस पंक्तिकारले टेप रेकर्डर बन्द ग¥यो ।

उनले भनिन्, ‘मान्छेका गुण र दुर्गुण दुवै हुन्छन्, खुमबहादुरका व्यक्तिगत रूपमा यावत् दुर्गुण होलान्, तर कार्यकर्ता चिन्ने क्षमता खुमबहादुरसँग जति छ, कांग्रेसका अरू नेताहरूसँग छ ? हरेक गाविसमा कसले चुनाव जित्न सक्छ ? कसले सक्दैन ? कुन कार्यकर्तालाई के मद्दत ग¥यो भने चुनाव जित्न सकिन्छ भन्ने कुरा उनको दिमागमा रेकर्ड छ, उनको त्यो खुबीलाई पार्टीको हितमा प्रयोग गर्न खोजिएको हो ।’ अन्तर्वार्ता सकेर फर्कन लाग्दासमेत उनले रोकेर भनिन्, ‘ए बाबु, खुमबहादुरको नेगेटिभ कुरा नछापिदिनु है, यसले पार्टीलाई हित गर्दैन ।’

विवाह गरेको एक साता नबित्दै ०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी र गणेशमान सिंहसँगै स्वदेश फर्केका खुमबहादुर विरुद्ध मृत्युदण्डको सजाय हुनसक्ने धेरै मुद्दाहरू थिए । विवाह गरेको एक साता नबित्दै २५ वर्षको एक युवक मृत्युदण्डको भागीदार बन्न स्वदेश फर्कनु भनेको चानचुने हिम्मत होइन । प्रजातन्त्रका लागि उनले मृत्युदण्डको परवाह गरेनन् । यहाँभन्दा ठूलो त्याग अर्को के हुन सक्ला ?
दुर्बल पक्ष

०४८ सालपछि नेपाली कांग्रेसभित्र पार्टीलाई बलियो बनाउनेभन्दा पनि गुटलाई बलियो बनाएर पार्टी आफ्नो कब्जामा लिने प्रतिस्पर्धा सुरु भयो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला स्वयं नै त्यो अभियानमा लागे । गुटहरू बलिया हुनु भनेको पार्टी कमजोर हुनु हो । तर खुमबहादुरको सामथ्र्य गिरिजाप्रसादको गुट बलियो बनाउने अभियानमा एकलव्यताका साथ प्रयोग भयो । आफ्नो गुट बलियो बनाएर पार्टी कब्जामा लिन गिरिजाप्रसाद सफल रहे ।

०५३ सालमा सम्पन्न नवौँ महाधिवेशनमार्फत गिरिजाप्रसाद पार्टी सभापति बने । त्यसबेला हरेक विकास क्षेत्रबाट एक–एकजना केन्द्रीय सदस्य निर्वाचित हुने र बाँकी केन्द्रीय सदस्य सभापतिद्वारा मनोनयन गर्ने प्रावधान थियो । मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट कोइराला पक्षधर उम्मेदवारका रूपमा खुमबहादुर अघि सर्नुपर्ने थियो । तर सुशील कोइराला अघि सार्ने गिरिजाप्रसादको निर्णयलाई खुमबहादुरले साथ दिए । त्यसअघि ०५१ सालमा भएको संसदीय दलको निर्वाचनमा पनि कोइराला पक्षबाट वरिष्ठताका आधारमा खुमबहादुरकै अग्राधिकार थियो । तर गिरिजाप्रसादको निर्देशनअनुसार खुमबहादुरले शेरबहादुर देउवालाई सर्वसम्मत संसदीय दलको नेता बनाए । अर्थात् ०५१ सालको संसदीय दलको नेता निर्वाचनपछि र ०५३ सालको नवौँ महाधिवेशनपछि कांग्रेसभित्रको कोइराला गुटमा खुमबहादुरलाई देउवा र सुशील कोइरालाले उछिने ।

शैलजा आचार्य त यसै पनि सिनियर छँदै थिइन् । खुमबहादुर जुन गुटलाई बलियो बनाउन जुटे, त्यही गुटमा आफू कनिष्ट हुँदै गए । अर्थात् आफ्नो हैसियत र स्थान सुरक्षित गर्न सकेनन् । कोइराला सभापति निर्वाचित भइसकेपछि उपसभापति या महामन्त्रीको जिम्मेवारी खड्काले पाउनुपथ्र्यो या लिन सक्नुपथ्र्यो । पाउन र लिन नसकेपछि त्यतिबेलै उनले आफ्नै नेतृत्वमा छुट्टै गुट निर्माण गर्नुपथ्र्यो या गुटगत राजनीति नगरी पार्टीलाई बलियो बनाउन लाग्नुपथ्र्यो । तर त्यसयता उनी ओल्लोघरको नरे पल्लो घरमा सरेको अवस्थामा पुग्न थाले ।

पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई उपनिर्वाचनमा हराउन गिरिजाप्रसादको आदेशलाई उनले जसरी इमानदारीका साथ पालना गरेका थिए, त्यसरी नै ०५६ सालमा भट्टराईलाई प्रधानमन्त्री पदबाट हटाउन गिरिजाप्रसादको आदेशलाई त्यसरी नै इमानदारीका साथ पालना गरे । ०५० सालमा गरिएको अन्तर्घातको औचित्य थियो होला, तर ०५६ सालमा भट्टराईलाई प्रधानमन्त्री पदबाट हटाउन भूमिका खेल्नुको कुनै औचित्य थिएन ।

वास्तवमा नेपाली कांग्रेस विभाजनको बिउ ०५० सालको अन्तर्घात र ०५६ सालको घटना नै हो । यी दुवै घटनामा कोइरालाका मुख्य सहयोगी खड्का रहे । ०५९ सालमा नेपाली कांग्रेस विभाजित भयो । यदि खुमबहादुरले देउवालाई साथ नदिएको भए कुनै हालतमा पनि विभाजन सम्भव थिएन । पार्टी विभाजनपछि खुमबहादुर नेपाली कांग्रेस (प्रजातान्त्रिक)को महामन्त्री बने । तर, दुई वर्ष पनि अडिन सकेनन् । गिरिजाप्रसाद नेतृत्वको नेपाली कांग्रेसमा प्रवेश गर्न हतारिए । कार्यकर्तालाई देउवासँगै छाडेर आएका खुमबहादुरलाई कोइरालाले खासै भूमिका दिएनन् ।

कांग्रेसभित्र दुई वटा गुट सशक्त रूपमा देखापरे । यी दुवै गुटका सर्जक खुमबहादुर थिए, तर यी दुवै गुटका नेताका लागि उनी साझा चुनौतीका रूपमा देखापरे । आफ्नै नेतृत्वमा तेस्रो गुट निर्माण गर्नुबाहेक उनीसँग अर्को विकल्प रहेन । तेस्रो गुट निर्माणको अभियानमा उनी जुटे, तर त्यतिबेलासम्म उनी साधनस्रोतविहीन भइसकेका थिए । सार्वजनिक पदधारण गर्न कानुनीरूपमै अयोग्य भइसकेका थिए, उमेर र स्वास्थ्यले पनि साथ दिन छाडिसकेको थियो ।

यस्तो प्रतिकूल अवस्थाका बाबजुद उनले तेस्रो गुट निर्माण गरे । १३औँ महाधिवेशनसम्म आइपुग्दा खुमबहादुर गुटले जसलाई साथ दियो, उसैले सभापति पदमा चुनाव जित्ने अवस्था देखाप¥यो । देउवा र रामचन्द्र पौडेलमध्ये खुमबहादुरले देउवा रोजे । देउवा रोज्नुको कारणबारे उनले सार्वजनिक रूपमै भनेका थिए, ‘आफू सभापति निर्वाचित भएपछि उपसभापति मलाई मनोनीत गर्ने वचन देउवाजीले दिनुभएको छ ।’

तर महाधिवेशनपछि भने देउवाले आफूलाई पनि त्यो वचन दिएको विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले पनि सार्वजनिक रूपमै बताए । १३औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष एक महिनापछि खुमबहादुरको निधन भयो । जुनबेला नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी थियो । यही बैठकमा सभापति देउवाले पदाधिकरी मनोनयनको एजेन्डा लैजाने चर्चा थियो । खुमबहादुरको निधनपछि बैठक अनिश्चितकालसम्मका लागि स्थगित भयो ।

पछिल्लो कालखण्डमा खुमबहादुरले आफ्नो गुटलाई सवल बनाउन हिन्दू राज्य पुनर्बहालीको पथलाई सहारा लिएका थिए । उनका गुटका कार्यकर्ताहरूले खुमहादुर पथलाई अघि बढाउने घोषणा गरेका छन् । तर खुमबहादुर पथको गन्तव्य परिभाषित छैन । उनी बिपी जीवित छइन्जेल बिपीपथमा हिँडेको कुरामा दुई मत रहेन । बिपीको निधनपछि ०५७ सालसम्म गिरिजापथमा हिँडेकोमा पनि दुई मत रहेन । ०५७ देखि ०६१ सम्म देउवापथ, ०६१ देखि ०६६ सम्म कोइरालापथ, त्यसपछि फेरि देउवापथमा हिँडेकोमा पनि दुई मत रहेन । तर पछिल्लो कालखण्डमा सुरु गरेको हिन्दू राज्यको पथचाहिँ खुमबहादुरको आफ्नै हो ।

०३६ जेठ १० गते जनमतसंग्रह घोषणा भएपछि बहुदलको प्रचार प्रसारका क्रममा ०३६ साल साउनमा ‘विक्ली मिरर’ ले बिपीलाई सोधेको थियो, ‘तपार्इं धर्म मान्नु हुन्न भनिन्छ, बहुदलले जित्यो भने नेपालको धार्मिक अवस्था कस्तो होला ?’ बिपीको जवाफ थियो, ‘नेपाललाई जबर्जस्ती हिन्दू अधिराज्य भनिएको छ, नेपाल न हिजो हिन्दू अधिराज्य थियो, न भोलि रहनेछ, नेपाललाई हिन्दू अधिराज्य भन्नु झेली कुरा हो ।’ ०३६ सालको जनमतसंग्रहमा बहुदलको प्रचारप्रसारका क्रममा बिपी कोइराला धर्मनिरपेक्षताको एजेन्डा लिएर जनतामा गएको यो अन्तर्वार्ताले पुष्टि गर्छ । त्यसैले नेपाली कांग्रेसभित्रको हिन्दूवादी अभियान बिपीपथ नभएर खुमबहादुरपथ हो । यसबाहेक अरू मुद्दामा भने खुमबहादुरको आफ्नै पथ देखिन्न । उनी लामो समय गिरिजाप्रसादपथ र केही समय देउवापथमा हिँडेको देखिन्छ ।

प्रतिक्रिया