चुनावमा पाँच दलबीच तालमेल गर्ने गठबन्धनको निर्णय

गठबन्धनको खाका तयार गर्न बन्यो ११ सदस्य कार्यदल

काठमाडौं । सत्तारुढ पाँँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँँच दलीय गठबन्धन बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । बैठकले गठबन्धनका विषयमा आवश्यक गृहकार्य गरि प्रतिवेदन तयार गर्न एक कार्यदल गठन गरेको छ ।

गठबन्धनले बनाएको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन्। यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट देव गुरुङ र वर्षमान पुन छन् ।

नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

याे पनि : एकल बहुमत पुग्नेगरी गठबन्धन गर्ने कांग्रेसको प्रस्ताव

बिहीबार सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि शुक्रबार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेर हस्ताक्षर हुन् ।

प्रतिक्रिया