एकल बहुमत पुग्नेगरी गठबन्धन गर्ने कांग्रेसको प्रस्ताव


काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न सत्ता गठबन्धनको आजको बैठकले कार्यदल गठन गर्दैछ । कार्यदलले कुन क्षेत्रमा कसलाई छोड्ने र समर्थन गर्ने भन्ने खाका तयार गर्ने छ ।

बैठकमा गठबन्धन गर्ने विषयमा सैद्धानि्तक रुपमा सहमति भएपनि ब्यवहारिक जटिलता भने कायमै छ । स्रोतका अनुसार गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले आफ्नो एकल बहुमत पुग्ने गरी प्रस्ताव गर्ने तयारी गरेको छ ।

सो अनुसार ९९ सिटमा कांग्रेसले दावी गरेको छ भने अन्य दलले यसलाई मानेका छैनन । नेपाली कांग्रेस आफ्रले एक्लै ८० सिटमा आफू जित्ने आँकलन गरेको छ । त्यसमा समानुपतिक मतको सिट संख्या जोड्दा एकल बहुमत पुग्ने उसको दाबी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बैठक बस्नुअघि कांग्रेस नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग अनौपचारिक छलफल समेत गरेका छन् । उनीहरुले कांग्रेसको बहुमत पुग्नेगरी गठबन्धन गर्न सुझाव दिएको एक नेताले बताए । कांग्रेसले गठबन्धनमा ९९ सय सिट आफूले लिने र बाँकी अन्य घटकलाई दिने मनसाय राखेको छ । त्यसो गर्दा समानुपातिकको मत जोड्दा कांग्रेस एकल वहुमतको नजिक पुग्ने अपेक्षा नेताहरुको छ ।

तर माओवादी लगायत अन्य दलले कांग्रेसको प्रस्ताव मान्ने सम्भावना छैन । माओवादी नेताहरुले प्रधानमन्त्रीसँगको अनौपचारिक छलफलमा जुन दलले जहाँ जितेका छन् ती सिट कायम राखेर एमालेले जितेका सिट स्थानीय तह चुनावको नतिजालाई समेत आधार बनाएर बाँडफाँट गर्ने प्रस्ताव राखेका छन् ।

कांग्रेसले ८० सिटमा लडेर बाँकी ८५ सिटमा गठबन्धनका अन्य दलहरुले उम्मेदवारी दिने प्रस्ताव माओवादीको छ । यसमा नेकपा एस,जसपा लगायतका दलहरुको पनि सहमति रहेको एक नेताले बताए ।

ति नेताले भने, ‘कांग्रेसले ६० प्रतिशतको दावी गर्नु उसको कुरा हो,गठबन्धन बैठकमा सबैका आ–आफ्ना प्रस्ताव हुन्छन् । हाम्रो पनि हुन्छ, तर सहमतिमै टुंगो लाग्छ, कसले कति पाउने भन्दा पनि विगतमा कसले कहाँ जितेका छन् ती कायम राखेर बाँकी ठाउँ जनमत, व्यक्तित्व हेरेर सम्मानजनक ढंगले टुंगो लगाइनुपर्छ ।’

आजको गठबन्धन बैठकले सबै आधार र मापदण्डका आधारमा सिट बाँडफाँडका लागि कार्यदल बनाउने र कार्यदलले दिने सुझावका आधारमा शीर्ष नेतृत्वले टुंगो लगाउने विषयमा छलफल भएको छ ।

शुक्रबार बिहानै छलफल भनि निर्धारण गरिएको भएपनि झण्डै २ घण्टा ढिलो गरेर सुरु भएको छ । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लगायतका शीर्ष नेताहरु सहभागी छन् ।

प्रतिक्रिया