मेचीनगर : जहाँ प्रधानमन्त्रीले पनि अब बस्न पाउँने छैनन् कुर्सीमा !

झापा । ‘मेरो वडामा प्रधानमन्त्री आउनुभयो भने पनि गुन्द्रीमै बसाउँछु ।’ यी भनाइ हुन् मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुनकुमार कार्कीको ।

गत वैशाख ३० गते स्थानीय चुनावबाट उनी वडाध्यक्ष निर्वाचित भएका हुन् । त्यसयता सो वडामा प्रधानमन्त्री आएका छैनन् । तर, जे जति उच्च पदस्थ अतिथि वडा कार्यालयमा आइपुगेका छन्, उनीहरू सबैलाई वडाध्यक्ष कार्कीले कुर्सीमा होइन, परालको गुन्द्री र मकैको खोसेलाबाट निर्मित पिरामा बसाउने गरेका छन् ।

भारतबाट मेची नदी तरेर सयको संख्यामा दिनका दिन जंगली हात्तीको हुल भित्रिने गौडाको रुपमा मुलुकमै परिचित बाहुनडाँगी क्षेत्रमा कार्की वडाध्यक्ष छन् । बिहानदेखि बेलुकासम्म यहाँका बासिन्दाको तनमन हात्तीबाट कसरी जोगिने भन्ने ध्याउन्नमै हुन्छ । वडावासी शिक्षा, स्वास्थ्य, रोजगारी र किनमेलका लागि टाढा सहरी क्षेत्र काँकडभिट्टा, धुलाबारी, विर्तामोड या भारतको नक्सलबाडी पुग्न बाध्य छन् ।

‘वडावासी विहान खाए बेलुकी के खानु भन्ने अवस्थामा छन्, उच्च शिक्षा पढ्ने एउटा क्याम्पस छैन, मानव–हात्ती द्वन्द्वले जनजीवन आक्रान्त छ’, कुर्सीको साटो गुन्द्री र पिरामा बसेर वडा कार्यालय सञ्चालन गर्दै आएका उनले भने, ‘जनताको यस्तो हालत रहेको बेला म कसरी बीसौँ हजार खर्चेर घुम्ने कुर्सीमा बस्न सक्छु ?’

विसंं २०७९ जेठ १२ गते खोसेलाको पिरामा बसेर वडाध्यक्षमा पद बहाली गर्दा उनी समाचारमा भाइरल बने । स्थानीयदेखि राष्ट्रिय तहका सञ्चारमाध्यमहरूले ‘कुर्सी हटाएर पिरामा बस्ने अनौठो वडाध्यक्ष’ भनेर चर्चा गरे । कतिपयले ‘सस्तो लोकप्रियताका लागि नटिक्ने ढर्रा’ भन्दै सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी पनि गरे ।

वडाध्यक्षको पदबहालीदेखि अहिलेसम्म वडाध्यक्ष कार्कीले कार्यालयमा कुर्सी प्रयोग गरेका छैनन् । सेवाग्राहीको निवेदनमा तोक लगाउने नियमित कामकाजदेखि वडाको बैठक बस्दासमेत उनले घरेलु गुन्द्री र पिरा छाडेका छैनन् । कार्यालयमा आउने पाहुनालाई पनि उनले गुन्द्री र पिराकै व्यवस्था मिलाउने गरेका छन् ।

‘कसैलाई देखाउन मैले ढर्रा गरेको होइन, पाँच वर्षे कार्यकाल गुन्द्री र पिरामै बिताउने संकल्प बोकेर जनताको सेवामा जुटेको छु’, उनले भने, ‘बाहिर आउने गरेका नराम्रा प्रतिक्रियाबाट म हत्तोत्साहित छैन र राम्रा प्रतिक्रियाबाट हौसिएको पनि छैन, म बिलासी जीवन बिताउन वडाध्यक्ष बनेकै होइन, जनताको घरमा चुलो नबल्ने अवस्था छ, म चाहिँ तिनै जनताको तिरोबाट घुम्ने कुर्सी किनेर वाहियात खर्च गर्न चाहन्न ।’

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरेर बाहुनडाँगीलाई कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यमा नमूना गाउँ बनाउने सपना साचेका वडाध्यक्ष कार्की विगत दुई दशकदेखि ग्रामीण पर्यटन र वातावरण संरक्षण क्षेत्रका अभियन्ता हुन् ।

वडाध्यक्ष भएपछिको तीन महिनाभित्रै उनको वडामा कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरीराज पौडेल, पूर्वोत्तर भारतका चर्चित पर्यटन अभियन्ता राज बसुलगायतका पाहुना भ्रमणमा आए । साउन ११ गते आएका महावाणिज्यदूत पौडेललाई वडाध्यक्ष कार्कीले गुन्द्रीमै बसाएर शिष्टाचार भेटघाट र पर्यटन प्रवद्र्धनसम्बन्धी छलफल गरे ।

त्यसैगरी, खाँदबारी नगरपालिका–४ का वडाध्यक्ष विनोद सुब्बा भगिनी सम्बन्ध स्थापनाका लागि आए । दुवै वडाबीचको भगिनी सम्बन्धको दस्तावेज आदानप्रदान समेत गुन्द्री र पिरामै बसेर गरिएको थियो । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती वडा कार्यालयको निरीक्षणमा पुग्दा उनलाई वडाध्यक्ष कार्कीले पिरामा बसाउँदै वडावासीका समस्या सुनाए ।

गत जेठ २० गते नेपाल भारत सीमाको दशगजा नजिक मेची नदीको किनारमा पत्रकार सम्मेलनको आयोजना गरी वातावरण संरक्षणबारे आफ्ना उनले योजना सुनाए । उक्त पत्रकार सम्मेलनमा समेत वडाध्यक्ष कार्कीले मकैको खोसेलाबाट बनेको पिरामा बसेर पत्रकारको सवालको जवाफ दिएका थिए ।

बाहुनडाँगी बजारमा रहेको वडा कार्यालयमा उनले २० वटा पिरा र ६ वटा गुन्द्री राखेका छन् । वडा कार्यालयको अहिलेसम्म भएका डेढ दर्जनभन्दा बढी बैठक गुन्द्री र पिरामै बसेर गरिएको कार्कीले जानकारी दिए । पिरामा बस्न असजिलो हुने शारीरिक अशक्त र ज्येष्ठ नागरिकका लागि बाँसका मुडाको व्यवस्था गरिएको उनले बताए ।

गुन्द्री र पिरा स्थानीय सामानहरू मकैको खोसेला, सुपारीका पात र परालले बनाइएका हुन्छन् । गुन्द्री–पिरा अभियानबाट वडावासी खुसी भएको कार्कीको बुझाइ छ । उनले भने, ‘घरेलु हस्तकला र सीपको सम्मान र प्रवद्र्धनमा यो अभियानले सघाउ पुर्याएको छ ।’

ज्येष्ठ नागरिकलाई निःशुल्क वितरणका लागि भगिनी सम्बन्ध स्थापना गरिएको खाँदबारीको वडा नम्बर ४ र तेह्रथुमबाट उनले घुँघुरोका चार सय लौरो मगाएका छन् । वडालाई हराभरा र सुन्दर बनाउन फूल फुल्ने प्रजातिका एक लाख बिरुवा आफ्नो कार्यकालभरिमा हुर्काउने उनको योजना छ ।

प्रतिक्रिया