बेवारिस स्वतन्त्रतामा पिल्सिएको नारी अस्मिता र पूर्वीय दर्शन

मोहनप्रसाद सापकोटा

आइमाई शब्द संस्कृत शब्द आर्यमाताबाट नेपालीमा प्रवेश भई अपभ्रंश भएको शब्द हो । माताको अर्थ लेखिरहन परेन । आर्यको अर्थ पूज्य, श्रेष्ठ, बुद्ध, भनी शब्दकल्पद्रूमले र स्वामी, गुरु, सुहृद्, श्रेष्ठकुलमा उत्पन्न, पूज्य, श्रेष्ठ, मान्य, उदारचरित्रको, शान्तचित्तको भनेर वाचस्पत्यंले अर्थ दिएका छन् । यस्ता सन्तान जन्माउने वर्गलाई आर्यमाता भनी सम्बोधन गरिन्थ्यो । नेपालीमा आइपुग्दा आर्यमाता शब्द आइमाई बन्न पुग्यो ।

कानुन बनाउने निकायमा बालिका बलात्कारमा र अन्य नारी हिंसामा संलग्न हुने पुरुषलाई कठोरतम सजाय दिनुपर्दछ भनेर एकातिर छलफल भइरहन्छन् भने अर्कातिर अरू कुराको विकास सँगसँगै यौन अपराधको विकास हुन अझै धेरै बाँकी छ भन्ने किसिमका आधिकारिक धारणाहरू पनि सँगसँगै बाहिरिन्छन् । विश्वभरका महिला यौनजन्य अपराधबाट पीडित छन् । यो विश्वव्यापी समस्या बनिरहेको छ । के भनिएको छ त पुराण, स्मृति आदि पूर्वीय दर्शनमा यस सम्बन्धमा केही सार संक्षेप केलाउन चाहेँ । आत्मसंयमता नभएको समाजमा स्वतन्त्रता अभिशाप हुन्छ । मैले गरेको क्रियाकलापले अरूलाई असर गर्दछ कि गर्दैन भनेर ख्याल नगर्ने समाजमा गरिएको विकास स्थिर हुँदैन । नारीमाथि भइरहेको अन्यायका कुरा गर्दा यी मूल कुरालाई सबैभन्दा पहिला ध्यान दिन जरुरी हुन्छ ।

मानिस आपैmँ मानव पनि हो दानव पनि हो । आफू बसेको भूगोलको संस्कार, संस्कृति, परम्परा र शास्त्रीय ज्ञानले मानवको दानवीय भावलाई दबाएर मानवीय भावलाई सतहमा लेराउने काम गरिरहेको हुन्छ । धर्म, पाप, लोकलज्जा, इज्जत, कुल र कानुनको डरले दानवीय भावना दबिरहेको हुन्छ । जब स्वतन्त्रता र अधिकारको यी कुरालाई प्रतिस्थापन गर्ने किसिमले व्याख्या हुन थाल्दछ तब समाजमा दानवीय भाव उजागर हुन थाल्दछ नै । धर्मान्तरण समस्या हुँदैन तर धर्म र अर्थलाई पर्यायवाची बनाइएपछि समस्या हुन्छ । धर्म मान्नु समस्या होइन धर्म मानीदिनु समस्या हो ।

नारीलाई कतै अग्नि त कतै भूमिकारूपमा व्याख्या गरिएको छ । अग्निमा आफू नजिक जे आउँदछ वा पर्दछ त्यसलाई डढाउने वा पगाल्ने गुण हुन्छ । यसैगरी भूमिमा जेजसरी जेको वीज परे पनि त्यसलाई उमार्ने गुण हुन्छ । आफूमा भएका यी ईश्वरप्रदत्त प्राकृतिक गुणलाई नारीले कहिल्यै भुल्नुहुन्न ।


मानिसलाई असल कुरा सिक्न विशेष प्रयास गर्नुपर्दछ भने खराब कुरा सिक्न सहज हुन्छ । म सामाजिक सञ्जालबाट हामीले लिइरहेका ज्ञानबाट पटकपटक विचलित हुने गर्दछु । हामी विश्वले जेजति प्रगति गरिरहेको छ त्यसको कारण अमुक जनावरको मासुमा, अमुक शैलीको जीवनस्तरमा र अमुक शैलीको स्वतन्त्रतामा देखिरहेका हुन्छौँ । विकसित देशमा त यस्ता गतिविधि हरेक परिवार र समाजमा व्यापकरूपमा हुन्छन्, त्यसैले पो ती विकसित छन् नी भन्ने भ्रमले हामीलाई गाँजेको हुन्छ । यसमा पाँच प्रतिशत पनि सत्यता छैन त्यसैले म यसलाई दिमागको तस्करी भन्न रुचाउँदछु ।


प्रायः सबै ग्रन्थमा स्त्रीलाई बाल्यकालमा पिताले, युवावस्थामा पतिले र वृद्धावस्थामा छोराले हेरचाह र संरक्षण गर्नु भनेर आदेश दिएको पाइन्छ । जीवनका सबै अवस्थामा ढुक्क हुने यस्तो व्यवस्थामा नारीले स्वतन्त्र हुन आवश्यकता नै पर्दैन । मनलागे उत्पादन गर्नु र मन नलागे उत्पादन नगर्नु भूमिको स्वतन्त्रता हो । मनलागे जलाउनु र मन नलागे नजलाउनु अग्निको स्वतन्त्रता हो । भूमि र अग्निले साँच्चिकै स्वतन्त्र हुन खोजे के हुन्छ होला ? हामी स्वतन्त्रता र अधिकारलाई गलत ढंगले व्याख्या गरिरहेका छौँ । जब बाल्यकालमा पिताबाट, तरुनो हुँदा पतिबाट र बुढी हुँदा छोराछोरीबाट संरक्षित हुन पर्दैन नारीले भनिन्छ र यसलाई स्वतन्त्रता हनन् भएको रूपमा अर्थ लगाइन्छ तब पिता, पति र छोराहरू पनि नारीको संरक्षण गर्ने जिम्मेवारीबाट पन्छिन थाल्दछन् ।

स्त्री र पुरुष दुबैलाई शास्त्रमा लक्ष्मण रेखा कोरिएका छन् । लक्ष्मण रेखाको महत्व महाभारतका अम्बा, अम्बिका, अम्बालिका, कुन्ती र द्रौपदी तथा रामायणका कैकेयी, मन्थरा, शुर्पणखा र सीताबाट बुझ्न आवश्यक हुन्छ । सृष्टिको आदिकालदेखि नै मानिसमा यौनजन्य विकृति र अपराध हुने गरेको पाइन्छ । उपनिषदकालसम्म छिटपुट घटनाबाहेक स्त्रीपुरुषको सम्बन्धमा त्यति विकृति विस्तारित भएको देखिन्न । तर जब स्मृति र पौराणिक काल प्रारम्भ भयो तब विविध कारणले यौन अपराध बढेको देखिन्छ । त्यसैले प्रायः सबै स्मृति र पुराणहरूमा यस विषयले स्थान पाएका छन् । मैले यसका विभिन्न कारण देखेको छु ।

पहिलो कारण लवाइखवाइमा आएको परिवर्तन देखिएको छ । पहिले अल्प मांशाहारी भएका मानिस यस युगमा आएपछि बढी मांसाहारी हुन थाले । जमिनबाट वा अन्य तरिकाले जानी नजानी उत्तेजक पदार्थहरू बढी उत्पादन गरी अन्धाधुन्ध खानपिउन थालिए । अनेकथरी वस्त्र र आभूषण लगाई अरूलाई आकर्षित गर्न÷गराउन थालियो । यसले यौन उत्तेजना बढायो र यौन अपराध बढे । पछि खानेपिउने र लगाउने सम्बन्धमा अनेकौँ नियमहरू बनाइए ।

संकलनका विवरण अध्ययन गर्दा दोस्रो कारण जीविकोपार्जनका लागि लामो समय पतिपत्नी छुट्टिएर बस्नुपर्ने बाध्यता बढ्दै जानु देखिएको छ । आवश्यकता बढ्दै गएपछि स्थानीय श्रोतसाधनले त्यसको पूर्ति गर्न सम्भव हुँदैनथ्यो त्यसैले प्रायः पुरुषहरू लामो समयसम्म देशदेशान्तर गएर धन कमाउन थाले । लामोसमयसम्म पतिपत्नी सँगै नबस्दा यौन अपराध बढ्न थाले । यसपछि जातभातको आधुनिक रूप, वर्णसंकरका नियम, पतिपत्नी छुट्टिने समय, सम्बन्ध बिच्छेद आदिजस्ता अनेक नियमहरू बनाइए ।

तेस्रोे कारणमा त्यतिखेर बढ्दै गएको अव्यवस्थित सहरीकरणलाई देखेको छु । यस सम्बन्धमा मेरो अध्ययनले तत्कालीन समाजका दुईटा अहं कुरा पहिल्याएको छ । पहिलो कुरा यस्तो छ–यौनसम्बन्धी सामाजिक मर्यादाको उल्लंघन गरेपछि मानिसलाई त्यो ठाउँ छोड्न बाध्य बनाइन्थ्यो । ऊ यही मानसिक रोग नै लिएर अर्को समाजमा पुग्दथ्यो र त्यहाँ फेरी रोग फैलाउँदथ्यो । फेरी त्यस समाजबाट निष्काशित हुन्थ्यो र अर्को समाजमा पुग्दथ्यो । समान औकात वा विरादरीको खुल्ला समाजमा अपराध गर्ने वातावरण कम हुन्छ । वरिपरि दाजुभाइ वा आफन्त भए स्वस्फूर्तरूपमा एकअर्काको निगरानी र नियन्त्रण भइरहेको हुन्छ । तर, जब एकअर्कालाई कुनै कुरामा पनि वास्ता नगर्ने सहर बन्दछ तब अपराधी मनोवृत्तिलाई चल्नेखेल्ने वातावरण सहज हुन्छ । किनकी व्यक्तिको दैनिक तालिकाको अनुगमन गर्ने कोही पनि हुँदैन ।

चौथो कारण त्यतिखेर हुने पुरुषहरूको अत्यधिक मृत्युदर थियो । ससाना राज्य भएकाले पुरुषहरूको अधिकांश समय युद्धमा बित्दथ्यो । युद्धमा धेरै पुरुष मारिन्थे र तिनका पत्नी विधवा हुन पुग्दथे । यसबाट यौनजन्य दुराचारमा वृद्धि हुन्थ्यो । पुरुषले महिलालाई जिभ्रोको स्वाद जसरी प्रयोग गर्ने प्रचलन त्यसबेला यौन अपराध बढ्नुको अर्को कारण देखिन्छ । महाभारतकालमा समेत यसको दृष्टान्त पाइन्छ । वाणासुरले हरण गरेर थुपारेका हजारौँ स्त्री बन्दीलाई कृष्णले छुटाई समाज तहसनहस नहोस् भनी आफैँले बिहे गरेको प्रसंग भेटिन्छ ।

यसपछि समाजमा बढ्दै गएको यौन अपराध नियन्त्रण गर्न अपराधको प्रकृति हेरी कठोर दण्डका व्यवस्था गरिए । तातो फलामलाई अँगालो हाल्न लगाउने, गुप्तांग काटी दिने, मृत्युदण्ड दिने, डामेर देश निकाला गर्ने आदि जस्ता अनेकौँ सजायका प्रावधानका व्यवस्था गरिए । यी प्रावधानले पनि यौन अपराधमा कमी आए । तैपनि शास्त्रले निचोडमा भन्दछ कि इन्द्रियनिग्रह नै सबै समस्याको निराकरण हो । मानिसले सानै उमेरदेखि इन्द्रियलाई वशमा पार्न सिक्नु सिकाउनु । सोच्ने शैलीमा अपराधले प्रवेश गर्न नपाओस् भन्नेतर्फ सबै सचेत हुनु ।

यौनमा चर्ने बानी खराब हो । पति होस् वा पत्नी स्वेच्छाले एकबाट दुई हुनासाथ त्यो सकियो । बाध्यात्मक यौन सम्पर्कलाई शास्त्रले छुट दिएको छ । जसरी आहार र निद्रा मानिसका लागि स्वाभाविक हुन् त्यसैगरी मैथुन पनि स्वभाविक हो । जसरी आहार र निद्रालाई व्यवस्थित गरी उपभोग गर्नुपर्दछ त्यसैगरी मैथुनलाई पनि उपभोग गर्नुपर्दछ ।

यही सोचले मैथुनमा पति र पत्नी बीचमा अधिकतम सन्तुष्टि नहुनु नै अनेक थरी रोग र सामाजिक विकृतिका कारण हुन् भन्ने सोची तत्कालीन समाजका अगुवाहरूले त्यसपछि वेद एवं उपनिषदमै भएका यौनसन्तुष्टिका उपायहरूलाई जनस्तरमा बुझिने गरी व्याख्या गर्दै कामशास्त्रहरू लेखिदिए, अनि मर्यादित रूपले वेश्यालयहरू पनि खोलिए ।

अहिले भइरहेका यौन अपराधहरूलाई यी सबै कुरासँग भिडाई समाधान खोज्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्दछ । हामीले बालविवाहको विरोध गरिरहेका छौँ तर त्यो विरोध एकांकी छ । शास्त्रमा विवाह सानै उमेरमा गरिए पनि सन्तान जन्माउने उमेर वैज्ञानिक ढंगले नै तोकिएको पाइन्छ । कुनै दिन बालविवाह पनि वैज्ञानिक रहेछ भन्ने समय आउला । मैले बालविवाहको समर्थन गर्न खोजेको होइन किनकि यसको जवाफ मैले चित्तबुझ्दो पाइसकेको छैन । तर मैले जेजति अध्ययन गर्न सकिरहेको छु त्यसका आधारमा बिनाकारण कुनै पनि प्रचलन चलाइएको छैन भन्ने कुरामा भने म विश्वस्त छु ।

अहिले पनि, नजिकै मरेको मान्छे पनि गनाएपछि मात्र थाहा पाउने खालको अव्यवस्थित सहरीकरण, गलत कुरा मनमा खेल्न पाउने खालका पारिवारिक वातावरण, हामीले आँखा चिम्लेर खाइपिइरहेका कृत्रिम कुराहरू, कर्तव्यबोध नभएको समाजमा अन्धाधुन्ध तरिकाले हुलिएका ‘बोकाको मुखमा कुभिण्डो’जस्ता अधिकार र स्वतन्त्रता, हाम्रो शिक्षा प्रणाली, हाम्रो विवेकशून्य अन्धभक्ति, अर्थप्रधान सोच आदिलाई एकै ठाउँमा राखेर विश्लेषण नगरी यौनजन्य विकृतिको निराकरण गर्न खोजेर केही उपलब्धी पाइन्न भन्ने मलाई लाग्दछ । नारीहरूले पनि पति, पिता र पुत्रबाट स्वतन्त्र भई राज्यबाट मात्र संरक्षण खोज्न हुन्न, पाउन सकिन्न भन्ने मेरो धारणा छ ।

नारीसँगको सम्बन्ध र संरक्षणका विषयमा शास्त्र के भन्दछ ?

विभिन्न स्मृति र पुराणमा भगवान्को मुखबाट निस्केका वचनहरूको सार यस्तो छ,

वंशमा कुनै दाग वा खोट हुनु हुन्न यो पहिलो सर्त हो । दाग वा खोट भए त्यसको विधिपूर्वक सबैलाई बताएर नै प्रायश्चित गरिएको हुनुपर्दछ, गुपचूप राख्नुहुन्न, यो दोस्रो सर्त हो । परिवारका हरेक सदस्य नियममा बसेकै हुनुपर्दछ यो तेस्रो सर्त हो । यसरी वंशानुगत शुद्धता कायम रहेको स्थितिमा बाबुले, पतिले र पुत्रले गर्ने नारीप्रतिको मायामा कुनै पनि स्वार्थको घुलन भएको हुँदैन । त्यो सम्बन्ध यति पवित्र र शक्तिशाली हुन्छ कि हस्तक्षेप गरेँ भने मैले पनि दण्डित हुनै पर्दछ । त्यसैले हरेक स्त्रीले कन्या हुँदासम्म पिताको, विवाहपछि पतिको र पति नभएको अवस्थामा पुत्रको विश्वास जितेर बस्नु । पिताको अवज्ञा गर्ने कन्या, पतिको अवज्ञा गर्ने स्त्री र पुत्रको अवज्ञा गर्ने एकल महिलाले कहिल्यै दीगो सुख प्राप्त गर्न सक्ने छैनन् । जबसम्म यी तीनको विश्वास कायम रहन्छ तबसम्म दुनियाँले जतिसुकै अविश्वास गरे पनि केही लछारपाटो लाउन सक्दैनन् । जबसम्म नारी यी तीनको संरक्षणमा रहन्छे तबसम्म संरक्षणका लागि कसैको मुख ताक्नु पर्दैन । जब यी तीन अवस्थामा तीन जनाको नजरमा कुनै नारी अविश्वसनीय हुन्छे तब स्वयं ईश्वरले पनि तिनलाई विश्वास गर्ने छैनन् । द्रौपदीलाई मैले यसकारण संरक्षण गर्नुपरेको थियो कि कुलतमा (जुवा) फसेका कारण उनका पतिहरूले उनको संरक्षण गर्न सकेनन् । नातामा वा सम्बन्धमा खोट छ तर भक्तको मनमा पाप छैन भने जसले जतिखेर जसरी सम्झे पनि म हाजिर हुने गर्दछु । अन्यथा यी सबै नातामा अदृश्यरूपले मै उपस्थित रहिरहेको हुन्छु भनेर सम्झनु ।

आइमाई, महिला, स्त्री, नारी, स्वास्नीमान्छे वा अरू कुनै सम्बोधनका शब्दलाई लिएर समाजमा बेलाबेलामा अनावश्यक बहस चल्ने गर्दछन् । कतै कुनै कालखण्डमा कुनै शब्दले सम्बोधन गरिएकी पात्राले नराम्रो काम गरिदिन्छिन् अनि एकल नाताको अर्थमा संकुचित बनाएर हामी सम्बोधनका शब्दलाई लिएर अनावश्यक बहस गर्न थाल्दछौँ । महिला भन्नु हुन्न, आइमाई भन्नुहुन्न, स्वास्नीमान्छे भन्नुहुन्न, होच्याएको हुन्छ भनेर तर्कवितर्क गर्न थाल्दछौँ । पुरुष शब्दमा यस्तोे विवाद त्यति सुनिन्न ।

अब यी शब्दका नालीबेली केलाउँ । आइमाई शब्द संस्कृत शब्द आर्यमाताबाट नेपालीमा प्रवेश भई अपभ्रंश भएको शब्द हो । माताको अर्थ लेखिरहन परेन । आर्यको अर्थ पूज्य, श्रेष्ठ, बुद्ध, भनी शब्दकल्पद्रूमले र स्वामी, गुरु, सुहृद्, श्रेष्ठकुलमा उत्पन्न, पूज्य, श्रेष्ठ, मान्य, उदारचरित्रको, शान्तचित्तको भनेर वाचस्पत्यंले अर्थ दिएका छन् । यस्ता सन्तान जन्माउने वर्गलाई आर्यमाता भनी सम्बोधन गरिन्थ्यो । नेपालीमा आइपुग्दा आर्यमाता शब्द आइमाई बन्न पुग्यो । आइमाईको अर्थ स्वास्नीमान्छे, नारीजाति, महिला भनेर नेपाली शब्दकोशले लेखेको छ । नारी शब्दको मुख्य अर्थ ‘नरधर्म आचरणले युक्त भएकी’ भन्ने हुन्छ । यसका पर्यायवाची शब्दमा स्त्री, योषित्, अबला, योषा, सीमन्तिनी, वधू, प्रदीपदर्शिनी, वामा, वनिता, महिला, प्रिया, रामा, जनि÷नी, योषिता, जोषित्, जोषा, जोषिता, धनिका, महेलिका, महेला, शव्र्वरी, सिन्दूरतिलका र सुभ्रू भनेर दिइएको छ ।

अब सम्बोधनका शब्दलाई धेर केलाउनतिर नलागी मूल विषयतिर प्रवेश गर्न चाहेँ । स्वास्नीमान्छे र महिला शब्दले अलि संकृचित खालका र अनेकार्थीसमेत भएका हुनाले विवादमा परेका हुन सक्छन् । प्रयोगकर्ताको ध्येयमा देखिने खोटले पनि यी शब्दहरू विवादमा परेका हुन सक्छन् ।
नारीलाई सम्मान गरी विश्वमा नारी दिवस मनाइन्छ । पूर्वीय दर्शनका केही कुरा राख्न अनुमति चाहन्छु । नारीको सृष्टि सृष्टिकै लागि भएको हो भन्ने कुरामा सम्पूर्ण पूर्वीय दर्शन एकमत छ । पुरुषबाट मात्र सबै युगमा सृष्टिको क्रम बढाउन नसकेपछि प्रकृतिको सृष्टि भएको हो । प्रकृति शब्दले यो ब्रह्माण्डमा भएका सबै चलअचल स्त्रीभावलाई बुझाउँछ । प्रकृति शब्दको एउटा प्रमुख अर्थ दुर्गा हो र दुर्गा शब्दले चराचर जगतको स्त्रीभावको प्रतिनिधित्व गर्दछ । प्रकृतिको स्त्रीभावमा माया, मोह, शक्ति, सहनशीलता, धैर्यता, भ्रम आदि समावेश भएका हुन्छन् । त्यसैले प्रकृतिकै एक अंग भएका कारण नारीहरूमा स्वभावतः यी गुण हुने गर्दछन् ।

नारी अर्थात् प्रकृति अर्थात् पृथ्वी अब यसरी बुझौँ । यही पृथ्वीबाट अणुबम जन्मिए, जीवनका लागि अनिवार्य जल र अन्न पनि यही पृथ्वीले दिइरहेकी छिन् । बेलाबेलामा अतिक्रमणका कारण सन्तुलन बिग्रन्छ अनि पृथ्वी आपैmँले त्यो सन्तुलन मिलाउँछिन् । जसरी शुद्ध जल, पौष्टिक अन्न, फलफूल आदिका लागि जमिनको शुद्धता (उर्वरता) अनिवार्य सर्त हुने गर्दछ त्यसरी नै सृष्टिको शुद्धताका लागि नारीमा शुद्धता अनीवार्य सर्त हुने गर्दछ । यसैले नारीलाई कतै फुक्र्याइएको छ, कतै फकाइएको छ, कतै घुक्र्याइएको छ त कतै दण्डित गरिएको छ ।

लथालिंग छोड्दा जमिनले गुणस्तरीय उब्जनी दिन छोड्दछ । त्यसबेला हामीसँग तीन वटा मात्र विकल्प बाँकी रहन्छन् । कि रोपेको जेजस्तो फल्छ वा नाभो उम्रन्छ त्यही खाएर बाँच्न अभ्यस्त हुनुपरो कि अरूलाई मारेर त्यसको मासु खाएर बाँच्नुपरो । तेस्रो विकल्प भनेको भोकभोकै मर्नु मात्र बाँकी रहन्छ । प्रकृतिको एउटा गुण जड पनि भएकोले यसलाई चलायमान बनाउन जीवहरूले खनीखोस्री गरिरहेका हुन्छन् । प्रकृतिकै एक अंश भएका कारण नारीहरूलाई पनि खनीखोस्री गरिरहनुपर्दछ, यो तीतो सत्य हो । जसरी पृथ्वीले धर्म छाड्दा जीवको अस्तित्व समाप्त हुन्छ त्यसरी नै नारीले धर्म छाड्दा सृष्टिको अस्तित्व समाप्त हुन्छ । जसरी प्रकृति स्वनियन्त्रणमा हुन्छिन्, अतिक्रमण सहन नसके विरोधमा उत्रिन्छन् र अतिक्रमणकारीको सर्वनाश गर्दछिन् त्यसरी नै नारीहरूले पनि स्वनियन्त्रण (सेल्फ रेगुलेसन, सेल्फ कन्ट्रोल) मा बस्नुपर्दछ । अधिकार र स्वतन्त्रतामा रमाउन खोज्दा नारीहरूले म प्रकृति पनि हुँ, मेरो पूरै सृष्टिप्रति पनि जवाफदेहिता छ भन्ने कुरा भुल्नु हुँदैन । चाहे पुरुष होस् वा प्रकृति (नारी) मर्यादामा बसेन भने आफैँ दण्डित हुन्छन् । पृथ्वीभर घटिरहेका घटनाहरूले यसलाई प्रमाणित गरिरहेका छन् ।

अभागी निर्मला

देशको अस्मिताका प्रतिविम्व अर्थात नारीहरू दिनहुँजसो बलात्कृत भइरहेका छन् । एउटी बालिका बलात्कृत भइन् अनी निर्ममतापूर्वक मारिइन्, नाम थियो निर्मला । परिवानजनमा कहिल्यै नहराउने पीडाको खिल छाडेर गइन् । इतर पक्ष कोही यो जघन्य घटानालाई नाटक बनाउन, कोही इन्सुलिन बनाउन, कोही हाजमोला र कोही भ्यान्टिलेटर बनाउन कम्मर कसेर लागे, अझै लागिरहेकै छन् ।

घटनाको अनुसन्धानका अद्यावधिक प्रगति विवरणहरू बजारमा छ्यापछ्यापती छन्, म त्यसलाई केलाउँदै हजूरहरूको समय खेर फाल्न चाहन्न । संवेदनशीलतालाई भजाउने बानी लागेको अगुवा समाजमा न पीडाबोध हुन्छ न नैतिकताको बिउ नै बाँकी रहन्छ । जे हुन्छ वा देखिन्छ त्यो सबै कृत्रिम हुन्छ, कृत्रिम देखिन्छ वा देखाइन्छ । जतिसुकै गम्भीर घटना किन नघटुन्, त्यसपछि आउने प्रायः सबै खाले प्रतिक्रियाहरू चलचित्रको पर्दामा जस्तैगरी शृंखलावद्धरूपमा सललल बगिरहेका हुन्छन् । चलचित्रको दृश्यमा एउटा पात्र गिल्सिरिन दलेर रोइदिन्छ, दर्शकहरू आँखा रसिला पार्ने गर्दछन् । जब चलचित्र भवनबाट यी दर्शकहरूको समूह बाहिर निस्कन्छ, यथार्थ संसारमा उत्रन्छ, तब उसका आँखा त्यही अघि चलचित्रमा देखिएको दृश्य यथार्थरूपमा आफ्नै अगाडि देख्दा पनि रसाउँदैन । आफूलाई नपर्दासम्म उसलाई केही कुरा पनि बिझ्दैन । निर्मला यस्तै एक वास्तविक घटनाकी अभागी पात्र हुन् ।

कुनै प्राकृतिक वा आवेशमा हुने दुर्घटना भए त्यसको सत्यता बाहिर आउँछ, लेराउन पनि सकिन्छ । जुनकुरा सुनियोजित वा प्रयोजितरूपमा हुन्छ त्यसको सत्यतथ्य प्रायः कहिल्यै बाहिर आउँदैन । ‘मेस्ट्री अफ मेरिसिलेस्ट’ जस्तै सधैँ रहस्यमय भइरहन्छ र युगौँसम्म अनुमानहरू लगाइरहिन्छ । गगन सिंह, वीरेन्द्रको वंश र मदन–आश्रितको मृत्यु इतिहासमा यस्तै रहस्य लुकेका मृत्युहरूभित्र पर्दछन् । घटना घटेको लामो समयपछि मानिसहरू त्यो घटनाबाट सबैभन्दा बढी लाभान्वित जो भएको हुन्छ उसतर्फ दोष देखाउँदै इतिहास कोर्न थाल्दछन् । गगन सिंहको हत्याको दोष जंगबहादुरलाई लगाइएको छ अरू घटनाको दोष कसलाई लगाइन्छ त्यो भविष्यमा इतिहास पढ्न पाउनेहरूले पढ्लान् नै ।

राजनीतिक संक्रमणलाई जानीजानी लम्ब्याउँदा समाजका हरेक क्षेत्रहरू प्रदूषित हुने गर्दछन् । यस्तै प्रदूषित भएका क्षेत्रमध्ये निर्मला हत्या काण्डले राज्य संयन्त्रको एउटा प्रदूषित क्षेत्रलाई उजागर गरिदिएको छ । जतिसुकै बलगरे पनि बुढीऔँलाले सूर्यलाई छेक्न सकिन्न । अत्तर छरेर नाली गनाउन छोड्दैन । कीर्तिहरू दबाएर सधैँ दबिन्नन् । प्रतिशोध साँध्ने वा भजाउने औजारका रुपमा लिनुभन्दा पनि देशको यो अप्रिय, तीतो र हानिकारक यथार्थतालाई हामी अझै गम्भीररूपमा लिन चाहिरहेका देखिएका छैनौँ ।

देशका कार्यकारी प्रमुखजस्तो गरिमामय पदमा जो पुगे पनि कहिले चार्ली चाप्लिनको भूमिकामा त कहिले जेम्स बण्डको भूमिकामा रमाइरहेका देखिन्छन् । कहिले यो पद निर्मला हत्या प्रकरणमा ‘अनुसन्धान अधिकृतको भरपर्दा धोका भो’ भनेर पत्रकार सम्मेलन गरिन्छ त कहिले ‘हत्यारा पत्ता लगाउन १२ वर्ष लाग्न सक्छ’ भनेर अमेरिकाबाट आकाशवाणी गर्दछ ।

हत्याको छानबिनका लागि टोलीमाथि टोली बने । प्रतिवेदन पनि पत्रपत्रिकाले लेखे, सार्वजनिक भयो भनेर मान्नै पर्दछ । प्रतिवेदन पढ्दा एउटा चुट्किला सम्झन पुगेँ । एकजना पर्यटकले स्थानीय सडकपेटीमा हिँडिरहेको एउटा बटुवालाई एक रात पूर्व कता हो भनेर सोधेछ । बटुवाले जवाफ दिएछ– यहाँबाट एक किलोमिटर उत्तर जानुहोस्, त्यसपछि आधा किलोमिटर पूर्व जानुहोस्, अनि फेरी एक किलोमिटर दक्षिण गएर फेरी आधा किलोमिटर पश्चिम आउनुहोस् । हजूर ठिक्क यही ठाउँमा आइ पुग्नुहुन्छ । त्यतिखेर पनि म यहाँ उभिइरहेको पाउनु भो भने फेरी मलाई ‘पूर्व कता हो ?’ भनेर सोध्नु होला । अनि म त्यतिखेर ‘म पनि यो देशको होइन, पूर्व कता हो मलाई पनि थाहा छैन’ भनेर तपाइँलाई जवाफ दिउँला । थप केही नभनौँ ।

अन्त्यमा

हनुमान विचरालाई के थाहा ‘सञ्जीवनी बुटी कुन हो’ भनेर विचराले पहाडै उचालेर लेराइदिए । त्यतिखेर त बुटी चिन्न रावणका वैद्य सुसेन थिए । यहाँ को सुसेन हुन्छन् र कहिले जन्मन्छन् थाहा छैन । अस्तु ।

प्रतिक्रिया