एपिएफलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं । विभागीय डर्वी भिडन्तमा नेपाल एपिएफ क्लबको चुनौती पन्छाउँदै नेपाल पुलिस क्लब बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको फाइनलमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस अपराजित रहेर च्याम्पियन बनेको हो ।

पुलिसले राउन्ड रोविन लिगमा एपिएफमाथि ३–१ को सेटमा जित निकालेको थियो । पहिलो सेटमा २५–१६ को सेटमा जित निकालेको पुलिसले दोस्रो सेटमा २७–२५ को रोमाञ्चक जित निकाल्दै जिततर्फ अघि बढ्यो । एक समय ६ अंकले पछि रहेको पुलिसले उत्कृष्ट पूनरागमन गर्दै जित निकाल्न सफल भयो। तेस्रो सेटमा २५–१९ को सेटमा जित निकाल्दै पुलिस च्याम्पियन बन्न सफल भयो ।

उपाधिसँगै पुलिसले ५ लाख रुपैया र शिल्ड हात पारेको छ । दोस्रो भएको एपिएफले २ लाख ५० हजार रुपैयाँ हात पारे । तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले १ लाख २५ हजार तथा चौथो भएको परोपकार आदर्श माध्यमिक विद्यालयले ७५ हजार रुपैयाँ हात पारेको छ । डायमन्डले शनिबारै परोपकारलाई २५–१२, २५–१४ र २५–२३ को सोझो सेटमा जित निकाल्दै तेस्रो स्थान हासिल गरेको छ ।

प्रतिक्रिया