सस्तोमा इन्धन खरिद गर्न भारतसँग छलफल

काठमाडौं । नेपालले भारतसँग सस्तोमा पेट्रोलियम पदार्थ खरिद गर्न अनौपचारिक कुराकानी सुरु गरेको छ । पेट्रोलियम पदार्थको चर्को मूल्यका कारण समग्र अर्थतन्त्रमै असर परेपछि सरकारले सस्तोमा इन्धन किन्न भारतसँग अनौपचारिक कुराकानी थालेको उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेयले बताए ।

भारतले रसिया लगायतका मुलुकबाट सस्तोमा इन्धन किनेका कारण त्यस्तो इन्धन नेपाललाई दिन सक्छ कि भन्ने अनुमानमा कुराकानी अघि बढाएको सचिव पाण्डेयले बताए । ‘यो कुनै पाको भएको विषय होइन । हामी अनौपचारिक च्यानल प्रयोग गरिरहेका छौं,’ पाण्डेयले भने, ‘यदी यसो हुनसके मुलुकलाई ठूलो राहत मिल्ने थियो ।’

इन्धनको मूल्यका कारण समग्र अर्थतन्त्रमा असर हुनबाट जोगाउन सरकारले अधिक प्रयास गरिरहेको पनि पाण्डेयले बताए । सन् २०२० को जनवरीदेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको कच्चा पदार्थको मूल्य वृद्धि हुँदा प्रशोधित इन्धनको मूल्यको मारमा मुलुक पर्दै आएको छ । इन्धनको मूल्य वृद्धिसँगै दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य बढ्दा महँगी ६ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । इन्धनको उच्च मूल्यका कारण यसको कारोबार गर्ने नेपाल आयल निगमको घाटा १५ दिनमा १० अर्ब रुपैयाँ नाघ्न थालेको छ । निगमले तेल खरिद गर्ने भारतीय आयल कर्पोरेसन(आईओसी) लाई तिर्नुपर्ने बक्यौता पनि बढ्दै गएको छ ।

निगमको पछिल्लो विवरणअनुसार यस्तो बक्यौता रकम २३ अर्ब पुगिसकेको छ । आईओसीलाई भुक्तानी गर्न पैसाको अभाव भएपछि निगमले टेकुस्थित १०८९२ वर्गमिटर र ५३५५ वर्गमिटरको जग्गा धितोमा राखेर राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब रुपैयाँ ऋण लिंदैंछ । यसैबीच भारत सरकारले पेट्रोलियम तथा हवाई इन्धनको निर्यातमा कर लगाउने तयारी गरेको छ । पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलमा १३ रुपैयाँ (भारु) कर लगाउने तयारी भएको हो ।

भारतले नेपालसहित बंगलादेश, भुटान र श्रीलंकामा तेल निर्यात गदै आएको छ । यसरी भारतले पेट्रोलियम पर्दाथमा निर्यात कर लगाउँदा त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने संभावना देखिएको छ ।

प्रतिक्रिया