फोटो खिच्न मनाईने ‘धान दिवस’

लक्ष्मी गौतम

बाह्रैै महिना सिँचाइ र सर्वसुलभ रूपमा मलखादको प्रबन्ध गरिदिने हो भने कुनै पनि नेपालीलाई रोजगारीका लागि विदेश जानु पर्दैन । धान–चामल निर्यातले मात्रै पनि नेपाल समृद्ध बन्न सक्छ । किनकी अहिले करिब २० लाख हेक्टर जमिनमा वर्षको एक सिजन धान खेती गरेर करिब ६० लाख मेट्रिक टन अर्थात चार खर्ब रुपैयाँ मूल्य बराबरको धान उत्पादन गर्ने गरिएको छ । जबकी सिँचाइ र मलखादको प्रशस्त प्रबन्ध गरिदिने हो भने नेपालमा करिब ५० लाख हेक्टर जमिनमा वर्षको दुई सिजन धान उत्पादन हुन्छ । उत्पादकत्व पनि दोब्बर हुन्छ ।

नेपाल कृषिप्रधान मुलुक हो । नेपालको समथर भूभाग भएको तराई कृषि क्षेत्रका निमित्त पकेटका रूपमा लिइन्छ । तराईको कृषि उत्पादनले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ । नेपालको प्रमुख आम्दानीको स्रोत नै कृषि हो । तर, कृषि उत्पादनलाई नै गुमाउनु पर्दाको पीडा सायदै सहन सकिँदैन । समयमा रासायनिक मल नपाउँदा उत्पादनमा बढवा दिन मुस्किल पर्दछ । यो नियती नेपाली किसानले भोगिरहनु परेको छ । यस्तो विडम्बनामा सरकार धान दिवसको शुभकामना दिइरहँदा भक्कानो छुटेर आउँछ । कसरी पो यो दिवस मनाउन सकेका होलान् भन्ने खुल्दुली पलाउँछ ।


यो समय मानो रोपेर मुरी उब्जाउने समय हो । असार महिना अर्थात बाली लगाउने समय त्यसमाथि पनि धाने रोप्ने सिजन हो । हामीले असार महिनाको महिमा गरेको गीत, कथा, कविता जताततै पढिन्छ अनि सुनिन्छ पनि । लेखकले कति गहन स्पर्श गरेर लेखेका छन् ‘असारै मैनामा पानी प¥यो रुझाउने…’ । हो असार आपैmँमा चाड हो, मेला हो अनि प्रेम र भातृत्व जोड्ने अवसर पनि हो । हाम्रा खेतबारी कसैका धेरै होलान् कसैका थोरै होलान् र पनि हामी अर्मपर्म गर्न रुचाउँछौँ, आफ्नो काम एक्लै गर्दैनौँ समूहमा गर्न रुचाउँछौँ । जसको अर्थ हो समूहमा काम गर्दा हामी एकअर्कामा प्रेम र भ्रातृत्व विकास गर्न चाहान्छौँ र त हामी नेपाली हौँ ।

असार १५ लाई ०६१ साल यता राष्ट्रिय धान दिवसको रूपमा मानिँदै आएको छ । यो दिवस मनाउनुपूर्व पनि नेपाली समाजमा असार १५ लाई दहीचिउरा खाने दिन वा पर्वको रूपमा लिइन्थ्यो र सोहीअनुसार दहीचिउरा खाएर असार १५ मनाइन्थ्यो । असार १५ लाई राष्ट्रिय तवरबाटै धान दिवस मान्ने निर्णय गरिनु मान्नु पक्कै पनि राम्रो हो, झट्ट हेर्दा किसानको हितार्थ वा सम्मानार्थ दिवस राखिएको वा मनाइएको जस्तो देखिन्छ, तर साच्चै यो दिवसको गहिराइमा पुगेर हेर्ने हो भने असार १५ कहिलै हिलो नदेखेका वा हिलोमा खुट्टा नराखेका नेता तथा मन्त्रीको गलाभरि धानको बिउको माला र गालामा हिलो लगाएर फोटो खिच्ने पर्वभन्दा बढी के भयो र ?

हो त्यस्तै देखियो यो वर्षको धान मेलाको अवस्था । केही क्षेत्रमा धान रोपेर कृषि मन्त्रीदेखि कृषिसँग सरोकार राख्नेले यो पर्व मनाइरहँदा कृषिप्रधान देशको गरिमा घटेको स्पष्ट हुन्छ । हामीले कतै समाचारको रूपमा पढे ‘राष्ट्रिय धानदिवस धुमधाम सम्पन्न’ भित्र के लेखेको रहेछ भनेर हेर्दा त ‘फलाना नेताज्युको आतिथ्यतामा वा उपस्थितिमा फलानो ठाउँमा धान रोपेर धान दिवस मनाइयो…’ । म सोच्न बाध्य भए कि ती नेताले कति सेकेन्ड, मिनेट, घण्टा वा दिन भर धान रोपे होलान् ? ती नेताले जनतालाई मलजलको उपलब्धता के कस्तो छ सोधे सोधेनन् अनि ती नेताले स्वदेशी उत्पादित चामल उपयोग गर्छन कि आयातित ? यी मेरा प्रश्न मगजमा यसरी घुमे ताकि म र मेरा ठाउँमा यी वा यस्तै नेता आउँदा हुन त म यी सवाल जरुर सोध्दथे । तर, मलाई यो पनि थाहा छ ती लाज नभएका नेताले मेरो प्रश्नको जवाफमा त्यति धेरै सोच्दैनन् अन्तिम रेडिमेड उत्तर दिन्थे विगतमा जस्तो थियो अहिले पनि उही रूपमा अगाडि बढीरहेको छ ।

यो वर्ष राष्ट्रिय धान दिवस १९औँ धान दिवस । यो छोटो दौरानमा हामीसँग अविस्मरणीय क्षण छन् । सम्झन र गर्व गर्न लायकभन्दा पनि बिर्सनलायक धान दिवसका कथाहरू भेटिँदा रहेछन् । गमलामा धान रोपेकोदेखि खेत रोप्न गएकाहरू हिलो छ्यापेर र हिलोमा लडेर मात्रै आएकासम्म…. यस्तै यस्तै । यस्ता कार्य हरेक वर्ष भइरहेका छन् । आज धान दिवस मनायो भोलि अर्कै दिवस आउँछ, त्यसपछि अर्को क्रमशः आउने यस्ता धान दिवस दिवसमा मात्रै सीमित रहने यहाँको चलनले देखाउँछ ।

जब असार १५ आउँछ तब नेता र मन्त्री चिल्लो गाडीमा कतै नजिकैको खेतमा पुग्छन्, नेताका अघिपछि लाग्नेले पहिलै भनेर वा आफैँले बनाएर धानको बिउको माला राखेको हुन्छ, खेतमा पुगेर नेताले त्यहि धानको माला लगाउँछन्, खेतको हिलोमा पसेर दुई÷चार ओटा फोटा खिच्छन् अनि सकिन्छ धान दिवस । न उनीहरूले सोध्छन् तपाईंहरूको कृषि समस्या के छ ? मल पाउनुभयो ? बिउ वीजन उपल्बध छन् बजारमा ? कृषिजन्य उत्पादनको बजार व्यवस्थापन के छ ?

यी यावत् प्रश्न नसोध्ने वा कृषकले सोधेमा उत्तर दिन नसक्ने नेता तथा मन्त्री समाजिक सञ्जालमा फोटो राख्नका लागि किन आउनु । मारमा परेका किसानको खेतमा ? आज नेपालका किसान बारीमा मकैमा मल हाल्न नपाएर छट्पटाइरहेका छन, बाटो बाटोमै मल लुटेर हाल्नुपरेको दर्दनाक अवस्था बारे बेखबर नेता असार १५ मा सुटबुटमा किसानको खेतमा फोटो खिच्नकै लागि झुल्किनु कतिको लज्जास्पद हो ?


यो वर्षको असार १५ मा प्रायः सबै नेताहरूले धान दिवसको शुभकामना दिएको कतिले कसैको खेतमा पुगेर हिलो पोतेर फोटो हालेर शुभकामना दिएको पनि देखियो । यो सब केका लागि हो ? किसानले हरेक वर्ष बालीमा हाल्न मल पाउँदैनन्, कीटनासक औषधि पाउँदैनन्, सरकारी तवरबाट कृषिजन्य उत्पादनको उचित बजार व्यवस्थापन नहँुदा बिचौलियाले विनापरिश्रम किसान मारमा पर्ने गरी बीचमा बसेर कमिसन खान्छ । अनि कसरी हुन्छ कृषि क्रान्ति अनि कृषिबाट समृद्धि ?

नेपालको अर्थतन्त्र तथा नेपाली संस्कृतिमा धानको महत्वलाई मध्यनजर राख्दै सरकारले २०६१ सालदेखि हरेक वर्षको असार १५ गते धान दिवस मनाउँदै आएको छ । १५ असार भनेको धान खेतीसँग जोडिएको सयौँ वर्ष पुरानो नेपाली चाड हो । यो चाडलाई कसैकसैले किसान दिवससमेत भन्ने गरेका छन् । धान भनेको प्रायः सबै नेपालीको महत्वपूर्ण खद्यान्न मात्रै नभएर नेपालको आर्थिक मेरुदण्डसमेत हो । नेपालको कुल अर्थतन्त्रमा धानको योगदान करिब १० प्रतिशत रहेको छ । यसको अर्थ हो नेपालमा धानको उत्पादन वार्षिक चार खर्ब रुपैयाँ बराबरको हुन्छ । धानको उत्पादन बढ्दा कुल ग्रार्हस्थ उत्पादन बढ्ने र धानको उत्पादन घट्ना कुल ग्रार्हस्थ उत्पादनसमेत घट्ने अवस्था छ । नेपाली संस्कार तथा संस्कृतिमा धानको सम्बन्ध ज्यादै नै गहिरो छ । दुई जना व्यक्ति भेट हुने बित्तिकै सोधिने प्रश्न हो, ‘भात खानुभयो ?’ त्यति मात्रै होइन, धानका परिकारविना नेपालीहरूका सबैजसो चाडपर्वहरू सम्पन्न हुँदैनन् । जन्म संस्कारदेखि मृत्यु संस्कार तथा देवकार्य तथा पितृकार्य गर्दासमेत धानको परिकार अनिवार्य मानिन्छ । नेपालका अधिकांश चाडपर्व तथा संस्कृतिहरू धान बालीको बिउ राख्ने बेलादेखि धानबाली भित्र्याउने अवधिभित्र पर्छन् । धानखेती नेपालको २७ सय मिटर उचाइको भूभागसम्म हुने गरेको छ । नेपालको ९७ प्रतिशतभन्दा बढी जनसंख्याको बसोबास हुने क्षेत्रमा धानखेती हुन्छ ।

केही दशक अघिसम्म धानखेती नेपालको वैदेशिक मुद्रा आर्जनको समेत मुख्य स्रोत रहेको थियो । नेपालको तराई क्षेत्रबाट प्रसस्त धान भारत निर्यात हुन्थ्यो । तर, पछिल्ला केही वर्षदेखि धान–चामल आयात बापत नेपालको ठूलो रकम विदेशिन थालेको छ । चालु आर्थिक वर्षको ११ महिनामा मात्रै धानचामल आयातमा करिब ४५ अर्ब रुपैयाँ बिदेसिएको तथ्यांक छ । यो ज्यादै कहालीलाग्दो तथ्यांक हो । अझ ठूलो विडम्वना त जुन बेलादेखि धान दिवस मनाउन थालियो, त्यति बेलादेखि धान–चामल आयातको परिमाण बढेको तथ्यांक छ । धान दिवस नारामा मात्रै सीमित रहने गरेको यो तथ्यांकले सिद्ध गर्छ । सिंहदरबारभित्र गमलामा धान रोपेर धान दिवस मनाउनुको कुनै अर्थ छैन । वर्षको दुईबाली धान उत्पादन हुनसक्ने हावापानी हाम्रो मुलुकमा छ, तर सिँचाइको अभावका कारण कुल खेतीयोग्य जमिनको ४० प्रतिशतमा मात्रै धानखेती गरिएको अवस्था छ । तर त्यो ४० प्रतिशत मध्ये पनि अधिकांशमा सिँचाइको भरपर्दो सुविधा छैन, आकाशकै पानीमा भर पर्नुपर्ने अवस्था छ ।

प्रर्याप्त सिँचाइ तथा मलखादविना धानखेती संभव छैन । तराई तथा बेसी क्षेत्रमा कुलो तथा नहरको माध्यमद्वारा बाह्रै महिना सिँचाइको सुविधा पु¥याउन सकिने नदीनाला नेपालमा छन् । पहाडी क्षेत्रका कतिपय टार तथा उच्च समस्थलीहरूमा पनि लिफ्ट प्रणालीमार्फत नदीको पानी तानेर सिँचाइ गर्न सकिन्छ । तर सिँचाइको प्रबन्ध गर्न नसकिएकै कारण धान खेतीको संभावनालाई हाम्रो मुलुकले उपयोग गर्न सकेको छैन । यसैगरी विगत केही दशकदेखि हरेक वर्ष धानबाली लगाउने सिजनमा रासायनिक मलको हाहाकार मच्चिने गरेको छ । जबकी हाम्रै देशमा रासायनिक मल कारखाना स्थापना गर्न पुग्ने विद्युतीय ऊर्जा छ ।

बाह्रै महिना सिँचाइ र सर्वसुलभ रूपमा मलखादको प्रबन्ध गरिदिने हो भने कुनै पनि नेपालीलाई रोजगारीका लागि विदेश जानु पर्दैन । धान–चामल निर्यातले मात्रै पनि नेपाल समृद्ध बन्न सक्छ । किनकी अहिले करिब २० लाख हेक्टर जमिनमा वर्षको एक सिजन धानखेती गरेर करिब ६० लाख मेट्रिक टन अर्थात् चार खर्ब रुपैयाँ मूल्य बराबरको धान उत्पादन गर्ने गरिएको छ । जबकी सिँचाइ र मलखादको प्रशस्त प्रबन्ध गरिदिने हो भने नेपालमा करिब ५० लाख हेक्टर जमिनमा वर्षको दुई सिजन धान उत्पादन हुन्छ । उत्पादकत्व पनि दोब्बर हुन्छ । यस हिसाबले वर्षको ४० खर्ब रुपैयाँ बराबरको धान उत्पादन गर्न नेपाललाई खासै ठूलो समस्या छैन । चीन र भारतजस्ता ज्यादै धेरै जनसंख्या भएका छिमेकी रहेकोले धान–चामलको बजारसमेत सुनिश्चित छ ।

जबसम्म कृषक र कृषिको पिरमर्का राम्रोसँग बुझ्ने काम हुँदैन तबसम्म असार १५ धान दिवस नेताकै लागि फोटो खिच्ने पर्व बन्छ, गहिरिएर सोचाँै नेपालको समृद्धिको मुख्य कुरा कृषि र जलविद्युत्भन्दा अरू हुन सक्दैन त्यसैले यी कुराहरूमा कसरी हुन्छ आमजनताको पहुँच र मनोबल उच्च हुने काम गरौँ र गर्न दबाब सिर्जना गरौँ । अनि मात्रै समृद्ध नेपाल सुखी नेपाली बन्ने हाम्रो राष्ट्रिय अभियान सफल हुन्छ ।

प्रतिक्रिया