विपुल ‘ग्रामी अवार्ड’ मा मनोनित

काठमाडौं । गायक विपुल क्षेत्री विश्व प्रतिष्ठित सांगीतिक अवार्ड ‘ग्रामी अवार्ड’ को सदस्यमा मनोनित भएका छन् । क्षेत्रीले सामाजिक सञ्जालमार्फत आफू ग्रामीको सदस्यमा मनोनित भएको जानकारी दिएका छन् । अवार्ड आयोजक समितिले विश्वभरका दुई हजारभन्दा बढी सर्जकलाई सदस्यमा मनोनित गर्दा क्षेत्री पनि परेका हुन् । उनी संगीत क्षेत्रको अस्कर मानिने ‘ग्रामी अवार्ड’ को सदस्यमा मनोनित हुने पहिलो नेपाली भाषी गायक हुन् ।

‘तपाईंका साथीहरुले तपाईंलाई २०२२ को सदस्यताका लागि उपयुक्त व्यक्तिको रुपमा छानेकोमा बधाई छ,’ क्षेत्रीलाई पठाइएको बधाई सन्देशमा भनिएको छ, ‘यो निम्तो तपाईंले सांगीतिक कला क्षेत्रमा दिएको योगदान, सिर्जनशीलता र नेतृत्वको प्रतिबिम्ब हो ।’ ग्रामीको सदस्यता पाएसँगै क्षेत्रीले अब ग्रामी अवार्डका लागि मतदान गर्न पाउने छन् । युवामाझ निकै चर्चित नेपालीमूलका दार्जिलिङे गायक क्षेत्रीले सन् २०१४ मा ‘स्केच अफ दार्जिलिङ’ एल्बमबाट आफ्नो करिअर सुरु गरेका थिए । उनका ‘सिण्डिकेट’, ‘डढेलो लाग्यो’, ‘भेट भयो आज हामी’ लगायतका गीत निकै चर्चित छन् ।

प्रतिक्रिया