‘गोर्खाः बिनिथ द ब्रेभरी’ को ट्रेलर

काठमाडौं । भिक्टोरिया क्रस प्राप्त गर्ने गोर्खा सेना कुलवीर थापाको जीवनीमा आधारित चलचित्र ‘गोर्खाः बिनिथ द ब्रेभरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी भदौ २४ गतेदेखि देशव्यापी प्रदर्शनमा तयारीमा रहेको यो चलचित्रमा गोर्खा सेनाको कथा र अवस्थालाई उतारिएको छ । गोर्खा सेनाका लागि कुलवीर थापाले पहिलो पटक उक्त क्रस पाएका थिए । सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिस सेनाले लुस, फ्रान्समा आक्रमण गरेको थियो । सो युद्धमा २६ वर्षीय राइफलम्यान थापा गम्भीर घाइते भएका थिए । घाइते भएको भोलिपल्टदेखि उनी पीडितको उद्दारमा खटिए । त्यसपछि उनलाई गोर्खाका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । उनै कुलवीरको कथालाई पर्दामा उतारिएको हो ।

प्रदीप शाहीले निर्देशन गरेको यो चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतका कलाकारको अभिनय छ । चलचित्रको कथा निर्देशक शाही आफैंको रहेको छ । लामो समयदेखि बेलायतमा बसेर चलचित्र बनाउँदै आएका शाहीले विभिन्न अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरेका छन् ।
मधु गुरुङ र प्रयास गुरुङ निर्माता रहेको यो चलचित्र शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । निक्को प्रताप गुरुङ र अमृत गुरुङले छायांकन गरेको चलचित्रलाई रुपेश गुरुङले सम्पादन गरेका हुन् । बेलायत, अमेरिका, ब्रुनाई, सिंगापुर र अस्ट्रेलियामा यो चलचित्र प्रदर्शन गरिसकेपछि मात्रै नेपालमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । नेपालमा यो चलचित्रलाई आरआर चलचित्रस्ले वितरण गर्नेछ ।

प्रतिक्रिया