परराष्ट्र नीति, कूटनीति र हाम्रो हीन मानसिकता

मोहनकृष्ण श्रेष्ठ

सन् १९६१ मा संयुक्त राष्ट्रसंघका द्वितीय महासचिव स्वीडेनका डाग हामरस्वर्ड कंगोमा जाँदा जहाज दुर्घटनामा परी निधन भएको थियो । पछि संयुक्त राष्ट्रसंघले त्यो जहाज दुर्घटनाका बारेमा एउटा जाँचबुझ आयोग गठन गरेकोमा सोको संयोजकका रूपमा नेपाली स्थायी प्रतिनिधि राजदूत क्रृषिकेश शाहलाई नियुक्त गरेको थियो । यो भनेको संयुक्त राष्ट्रसंघले नेपालप्रति दर्शाएको अमूल्य विश्वास पनि थियो । पछिका वर्षहरूमा संयुक्त राष्ट्रसंघको समुद्री कानुनसम्बन्धी अभिसन्धि, निशस्त्रीकरण, रासायनिक हातहतियार नियन्त्रण अभिसन्धि, मानवअधिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने कार्यहरू समेतमा निकै प्रभावकारी तरिकाले कामहरू गरेको थियो ।

अहिले विश्वमा रूस तथा युक्रेन युद्धले जुन भयंकर त्रासदीको वातावरण पैदा गराइरहेको छ । यसले गर्दा विश्वका हरेक कुनाकाप्चामा प्रभावित गराइरहेको छ । आणविक युद्धको त्रासदी विश्वसामु छ । ७७ वर्ष अगाडि हिरोसिमा तथा नागासाकीमा खसालिएका अणुबमभन्दा ३ हजार ३ सय ६० गुणा शक्तिशाली अनुणमहरू बनेका सुनिन्छन् । शक्ति राष्ट्रहरूको अगाडि हाम्रोजस्तो देश त अति नै निरीह छौँ । शक्ति राष्ट्रहरू दुई खेमामा विभक्त भएका छन् । शक्तिशाली राष्ट्रले त अन्तर्राष्ट्रिय कानुनलाई पनि मान्न छाडेका छन् । आफ्नो राष्ट्रिय स्वार्थको अगाडि विश्व शान्ति तथा स्थायित्वलार्ई गौण मान्ने विचार प्रकट भइरहेको छ । यो अति नै चिन्ताजनक अवस्था सम्पूर्ण मानवजातिको आँखासामु प्रकट भएर आएको छ ।

नेपालले सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्यता लिएपश्चात् अन्तर्राष्ट्रिय रंगमञ्चमा राम्ररी तथा प्रभावकारी रूपमा भूमिका खेलेको पाइन्छ । यसको एउटा ज्वलन्त उदाहरण सन् १९६१ मा संयुक्त राष्ट्रसंघका द्वितीय महासचिव स्विडेनका डाग हामरस्वर्ड कगोमा जाँदा जहाज दुर्घटनामा परी निधन भएको थियो । पछि संयुक्त राष्ट्रसंघले त्यो जहाज दुर्घटनाका बारेमा एउटा जाँचबुझ आयोग गठन गरेकोमा सोको संयोजकका रूपमा नेपाली स्थायी प्रतिनिधि राजदूत क्रृषिकेश शाहलाई नियुक्त गरेको थियो । यो भनेको संयुक्त राष्ट्रसंघले नेपालप्रति दर्शाएको अमूल्य विश्वास पनि थियो । पछिका वर्षहरूमा संयुक्त राष्ट्रसंघको समुद्री कानुनसम्बन्धी अभिसन्धि, निशस्त्रीकरण, रासायनिक हातहतियार नियन्त्रण अभिसन्धि, मानवअधिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने कार्यहरू समेतमा निकै प्रभावकारी तरिकाले कामहरू गरेको थियो । नेपाल संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पनि सन् १९६७—१९६८ तथा १९८८—१९८९ मा गरी दुईपटक निर्वाचित भई काम गरेको थियो ।

२० वर्षको दौरानमा सुरक्षा परिषद्मा अस्थायी सदस्य निर्वाचित भए तापनि अर्काे २० वर्षपछि भने कुनै यस्तो कदम उठाइएन । अर्काे सबैभन्दा खट्किने कुरा के छ भने यस दक्षिण एसिया महाद्वीपबाट नेपालभन्दा पछि सदस्य भएको बंगलादेश तथा सानो टापुहरू मिली बनेको देश माल्दिभ्सका प्रतिनिधिले संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्ष भई कामकाज गरिसकेका छन् । दुर्भाग्य नै भन्नु पर्दछ, नेपालले यस विश्वमञ्चको सदस्यता लिएको ६७ वर्ष भइसके तापनि एकपल्ट पनि महासभाको अध्यक्षको पदमा निर्वाचित भई काम गर्न पाएको छैन । संयुक्त राष्ट्रसंघ भनेको बोल्नेको पिठो बिक्ने प्लेटफर्म हो । यहाँ सक्रियता अति आवश्यक पर्दछ । खासगरी विभिन्न खालका चुनावहरूमा भाग लिँदा आफ्नो देशको पक्षमा समर्थन जुटाउन निकै कसरत गर्ने गरिन्छ । भोटिङका आधारमा देश सानो होस् वा ठूलो होस्, विकसित वा अविकसित, धनी वा गरिब, सबैको समान अधिकार हुन्छ । नेपालले संयुक्त राष्ट्रसंघ तथा यसअन्तर्गत रहेका विभिन्न विशिष्टिकृत संस्थाहरूमा औसत रूपमा ठिक्क खालको भूमिका खेल्दै आएकाले बेलाबेलामा विभिन्न पदमा जित हासिल गर्दै आएको छ ।

आजको अवस्था

हामी नेपालीहरू वर्षाैंदेखि एउटा हिन मानसिकताबाट गुज्रिरहेका छौँ । भूपरिवेष्ठित मुलुक, गरिब तथा अविकसित छौँ भन्ने सोचाइ छ । मेरो विचारमा यो सरासर गलत छ । किनकि नेपाल विश्वको मानचित्रमा भौगोलिक क्षेत्रफलमा ९४औँ, जनसंख्याको आधारमा ४९औँ तथा वार्षिक कुल राष्ट्रिय आयको दृष्टिकोणले १०३औँ नम्बरमा रहेको छ ।

विभिन्न स्रोत साधनहरूको प्रचुरताले गर्दा समृद्ध मुलुक बन्नुपर्ने हो, हामी नेपालीहरू पनि अरूजस्तै धनी हुनुपर्ने हो । तर दुःखको कुरा न हामी समृद्ध छौँ न धनी । किनकि हामीलाई सही नेतृत्वले डो¥याउन सकेको छैन । राजनीतिमा सशक्तता देखिएको छैन । सबै कुरा राजनीतिको सेरोफेरोमा नै घुमिराख्छ । यदि समयसापेक्ष नीतिहरूको प्रतिपादन तथा तिनको सही तथा प्रभावकारी कार्यान्वयन हुने हो भने, नेपालले प्रगतिको मार्गमा निश्चय नै छलाङ मार्न सक्छ । चाँडै नै समृद्ध हुन सक्तछ । जनता पनि धनी हुन सक्छन् । यसका लागि सबल प्रजातन्त्र, प्रभावकारी आर्थिक नीतिहरू, कुशल सरकारी यन्त्र, भ्रष्टाचारमुक्त प्रशासन तथा सुयोग्य नेतृत्वको जरूरत पर्दछ ।

परराष्ट्र नीति भनेको विदेशी मुलुकहरूसँग अपनाउने सरकारको नीति हो भने कूटनीति भनेको त्यही नीतिलाई कार्यान्वयन गर्ने यन्त्र हो । सरकारको परराष्ट्र नीति तथा कूटनीति दुवै हुन्छ । तर व्यक्तिको भने कूटनीति मात्र हुन्छ । सरकारले प्रतिपादन गरेका परराष्ट्र नीतिहरू स्वदेश तथा विदेशमा कार्यान्वयन गर्ने अधिकार प्राप्त व्यक्तिहरू भनेको कूटनीतिज्ञहरू हुन् ।

नेपालले अँगालेको असंलग्न परराष्ट्र नीति अनुरूप कूटनीति पनि सोही रूपमा अगाडि बढिरहेको पाउँछौँ । यसको एउटा ज्वलन्त उदाहरण भनेको संयुक्त राष्ट्रसंघको १ सय ९३ सदस्य राष्ट्रमध्ये १ सय ७३ राष्ट्रसँग नेपालले दौत्य सम्बन्ध स्थापना गरिसकेको छ । यसमा सवै प्रकारका राष्ट्रहरू पर्दछन् । खासगरी संयुक्त राष्ट्रसंघमा कुनै पदमा निर्वाचनका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्दा हामीले पनि समर्थनका पाउन सक्छौँ । नेपालले ३० वटा मुलुकहरूमा आफ्नो राजदूतावास स्थापना गरिसकेको छ । यसको अलावा न्युयोर्क तथा जेनेभामा गरी दुई वटा स्थायी नियोगहरू तथा सात वटा सहरहरूमा महावाणिज्य दूतावासहरू पनि स्थापना गरिसकेको छ । जम्माजम्मी ३९ वटा कूटनीतिक नियोगहरूले नेपालको परराष्ट्र नीति सञ्चालनमा सघाउँदै आएका छन् ।

परिवर्तित विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई अहं बनाउनु जरूरी छ । साथै हालका वर्षहरूमा राजनीतिक लक्ष्यभन्दा आर्थिक लक्ष्यहरूले प्राथमिकता पाउँदै आएका छन् । विश्व व्यापार संघको स्थापनापश्चात् विश्वमा व्यापारका आयामहरू परिवर्तन भएका छन् । नियमबद्ध तथा समान अधिकार व्यापारमा पनि स्थापित भएको छ । २३ अप्रिल २००४ देखि नेपालले यस विश्व व्यापार संगठनको सदस्यता लिएपश्चात् नेपाललाई पनि विश्वमा आफ्नो व्यापारिक तथा आर्थिक अधिकार तथा अवसरहरू पाउने भएको छ । खालि नेपालले पनि कसरी आफ्नो यस्तो व्यापारिक हित प्रवर्धन गर्ने भन्ने विषयमा ध्यान केन्द्रित गर्नु जरूरी छ ।

अबको मार्गचित्र

. कूटनीतिक क्षेत्र :– साना तथा विकासोन्मुख राष्ट्रहरूका लागि सक्रिय कूटनीति आफ्नो देशको हित प्रवर्धन गर्ने एक सशक्त माध्यम हो । अतः नेपालले आफ्नो कूटनीतिलाई सक्रिय रूपमा सञ्चालन गर्नुुप¥यो । सक्षम तथा देशको हितप्रवर्धन गर्न सक्ने उपयुक्त व्यक्तिहरूलाई राजदूत पदमा नियुक्त गर्नुप¥यो । राजदूत पदमा नियुक्ति पाएका व्यक्तिहरूले आफ्नो देश तथा जनताको भलो हुने काम गर्नुपर्यो ।

सरकारले आफ्ना कूटनीतिक नियोगहरूलाई सक्रिय रूपमा काम गर्ने वातावरण तथा आर्थिक स्रोत साधन दिनु आवश्यक छ । अनुपयुक्त तथा निकम्मा राजदूतहरूलाई समय घर्किनु अगाडि नै फर्काइनु पर्दछ । नत्र समय तथा स्रोत साधनको क्षयबाहेक केही हुन्न । परराष्ट्र मन्त्रालयले सक्षम नेतृत्व प्रदान गरी परराष्ट्र नीतिको सञ्चालनमा गतिशीलता ल्याउनु पर्दछ । हाम्रा कूटनीतिक अधिकृत कर्मचारीहरूलाई आफ्नो योग्यता तथा क्षमता प्रदर्शन गरी काम गर्ने समय तथा अवसर दिइनु पर्दछ ।

.व्यापारिक क्षेत्र :– नेपालको वैदेशिक व्यापारमा निर्यातभन्दा आयात करिब १२ गुणा बढी छ । हामीले खाद्यान्नदेखि सबैजसो सामानहरू आयात गरिआएका छौं । औद्योगिकीकरणको राष्ट्रिय आयमा योगदान एकदम न्यून छ । यताका केही वर्षहरूदेखि निर्यातमा वृद्धि भइआएको देखिन्छ । तर, आयात प्रतिस्थापन नगरी निर्यात केही हदसम्म बढे पनि यसबाट देशलाई फाइदा हुने होइन । औद्योगिकीकरणलाई प्रश्रय दिई निर्यातयोग्य वस्तुहरूको उत्पादन बढाउनु पर्दछ । स्वदेशमा उपलब्ध कच्चा पदार्थहरूको अधिकतम उपयोग गरिनुपर्दछ । यसो भएमा सरकारलाई राजस्वमा अभिवृद्धि हुनुका साथै देशमा रोजगार पनि सिर्जना हुन्छ । जापान, कोरिया, सिंगापुर, ताइवानजस्ता देशहरूले निर्यातलाई दु्रतत्तर रूपमा वृद्धि गरी आफ्नो अर्थतन्त्रलाई उकासेको हो ।

सरकार तथा निजी क्षेत्रले एकआपसमा विश्वासको जग मजबुत बनाई सहकार्य गर्नुपर्दछ । कार्ययोजना तथा नीतिनियम सरकारले बनाउने हो, काम गर्ने भनेको निजी क्षेत्रले हो । व्यापार तथा औद्योगिकीकरणको क्षेत्रमा सक्रिय भई काम गर्ने वातावरण बनाएर प्रोत्साहन दिनु आवश्यक छ ।

. सफ्ट पावरहरूलाई बढावा :– नेपालमा विश्वभर चिनिने सफ्ट पावरहरू थुप्रै छन् । प्रकृति, सांस्कृतिक, एडभेन्चर, आध्यात्मिक सफ्ट पावरहरूको अलावा अब मेडिकल सफ्ट पावरहरूको पनि विस्तारै अभिवृद्धि हुँदै आएको देखिन्छ । विश्वको सर्वाेच्च टाकुरा सगरमाथा, भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनी, जीवित देवी कुमारी, विश्वप्रसिद्ध गोरखाली वीरताको अलावा हाम्रो प्राकृतिक सौन्दर्य, हिमाल, पहाड, नदीनाला, तालतलाउ, खाना, भेषभुषालगायत विभिन्न धार्मिक मठमन्दिर, भेषभुषा, रीतिरिवाज, संगीत, कलाकौशल आदि सबैको सम्मिश्रणले नेपालबाट विश्वमा प्रवर्धन गर्न सकिने अनेकन् सम्पदाहरू तथा सफ्ट पावरहरू उपलब्ध छन् । तर खास यसतर्फ कुनै ध्यान गएको पाइँदैन । यी धरोहरलाई सरकार, निजी क्षेत्र तथा विदेशस्थित नेपाली डायस्पोराको संयुक्त प्रयासबाट निकै प्रवर्धन गर्न सकिनेछ । यसतर्फ सक्रियता आवश्यक पर्दछ । विश्वमा नेपालप्रति लगाव, चाहत तथा स्नेहको रिजर्भवाएर रहेको अनुभव गर्न सकिन्छ ।

४. शान्ति सेना :– नेपालको एक महत्वपूर्ण सफ्ट पावर शन्ति सेना पनि हो । संयुक्त राष्ट्रसंघमा सदस्यता लिएको तीन वर्षपश्चात् सन् १९५८ देखि नै नेपालले विश्वका विभिन्न समस्याग्रस्त देशहरूमा स्थापित शान्ति सेनामा योगदान दिँदै आएको छ । हालसम्म करिब १ लाख २० हजार अधिकृत–जवानहरूले लेबनान, कंगो, सुडान आदि देशहरू गरी झण्डै १५ वटा यस्ता मिसनहरूमा कामकाज गरी आएको तथा नेपाली शान्ति सेनाले आफ्नो कामको राम्रो मूल्यांकन पाएको छ । संख्याको दृष्टिकोणले हाल नेपाल नम्बर ३ मा रहेको भए तापनि आउँदा दिनमा अझ माथि उक्लन सक्ने गुन्जायस रहेको छ ।

. सोच तथा बानी व्यवहारमा परिवर्तन :– हामी नेपाली समयको पर्वाह नगर्ने वर्गमा पर्दछौँ । अब यो सोच तथा व्यवहारमा परिवर्तन गर्नु अपरिहार्य छ । हीन भावनालाई त्यागी अव सकारात्मक सोच तथा व्यवहार लिई अगाडि वढ्नु जरूरी छ । शान्ति, मेलमिलाप तथा एकआपसमा सहयोगी वातावरणमा अभिवृद्धि गर्नु जरूरी छ । यो देश सबैको साझा भन्ने भावना जागृत गराई सबैले देश विकासको काममा सक्दो योगदान पु¥याउनु पर्दछ । राजनीति तथा कूटनीति सग्लो भएमा यसबाट देशलाई विभिन्न प्रकारले प्रगतिको बाटोमा लम्काउन मद्दत हुन जान्छ ।

६. समाजको शुद्धीकरण :– हाम्रो नेपाली समाजमा व्याप्त नकारात्मक सोच, व्यवहार तथा आचरणलाई शुद्धीकरण गरिनु पर्दछ । नकारात्मक प्रवृत्ति तथा आचरणले समाजमा गलत बाटोमा अग्रसर गराउँछ । हाल देशमा भइरहेका विभिन्न प्रकारका हत्या, हिंसा तथा बलात्कारका घटनाले समाज कतातिर गइरहेको छ भन्ने प्रश्न उब्जाउँछ । आध्यात्मिक सोच तथा मननले हाम्रो आत्मालाई शुद्ध गराइदिन्छ । मनमा भएका विकार तथा नकारात्मक विचारहरूलाई फ्याँकिदिन्छ । एक बारको जिन्दगीको मूल्यप्रति सचेत गराइदिन्छ । सत्कार्यमा लाग्न प्रेरित गराइदिन्छ । अन्ततोगत्वा देशको एक सच्चा नागरिक भएर आफ्नो घर, परिवार, समाज तथा देशलाई सक्दो योगदान दिन सक्ने नागरिक बनाइदिन्छ ।

(श्रेष्ठ कूटनीतिज्ञ हुन्)

प्रतिक्रिया