नगर बिकास कोषको सप्तकोशी खानेपानीसंग ऋण सम्झौता

काठमाडौं । सप्तकोसी सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँग नगर विकास कोषको ११ करोड ७२ लाख रुपैयाँ ऋण लगानी सम्झौता भएको छ ।

एसियाली विकास बैंकको वित्तीय सहयोगमा सञ्चालित उक्त आयोजना अन्तर्गत सप्तकोसी सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि सम्झौता भएको हो । सम्झौतापत्रमा सप्तकोसी नगरपालिका प्रमुख कृष्णप्रसाद ढकालले ऋण सम्झौतामा जमानतकर्ताको रुपमा हस्ताक्षर गरेका छन ।

ठेक्का कवोल रकम ४६ करोड ८९ लाख ९४ हजारमा निर्माण हुने उक्त आयोजनामा नेपाल सरकारको तर्फबाट ७० प्रतिशत अनुदान बापत ३२ करोड ८२ लाख ९५ हजार, कोषका तर्फबाट २५ प्रतिशत ऋणबापत ११ करोड ७२ लाख ४८ हजारका साथै आयोजनाबाट लाभान्वित हुने उपभोक्ताका तर्फबाट ५ प्रतिशतबापत २ करोड ३४ लाख ४९ हजार लगानी गरिनेछ ।

आयोजनाले ५ वटा डिप बोरिङको माध्यमबाट आयोजना निर्माण गरिने बताएको छ । यसको निर्माण कार्य सन २०२३ सम्ममा सम्पन्न गरिने कोषले जनाएको छ । यसबाट सप्तकोसी नगरपालिकाको वडा १ देखि ११ सम्मका ५ हजार घरधुरीका करिब ३० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन । कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटाले खानेपानी आयोजनालाई गुणस्तरीय रुपमा सम्पन्न गर्न नगरपालिकाबाट नियमित रुपमा अनुगमन हुनुपर्ने बताए ।

प्रतिक्रिया