मदन भण्डारीलाई आज सम्झँदा

देवेन्द्र घिमिरे

लुम्बिनी अञ्चलमा कम्युनिस्ट पार्टीमा लाग्दा वारेन्टेड भएका थियौँ हामी । पार्टी कामले वनारसमा पुष्पलाललाई भेट्ने क्रममा विद्यार्थी मदन, लेखक र गायक मदनलाई भेटेका थियौँ । ०३३ सालमा मुक्तिमोर्चा कब्जा गरेर बृहत् एकता अभियानका दौरान को–अर्डिनेसनमा सामेल भइसक्दासम्म हामी मदन भण्डारीलाई पूर्णरूपमा संगठनमा लगाउने प्रयासमा लाग्यौँ ।

जागीर तथा घरव्यवहारको सोचबाट मुक्त भएपछिका मदन भण्डारीलाई नेकपा मालेले संगठनको वैचारिक नेता मान्न थाल्यो । ०४६ सालको संयुक्त जनआन्दोलनको नेतृत्वपछि मदन भण्डारीको प्रभाव जनतामाझ पर्दै गयो । पार्टीको चौथो महाधिवेशन र पाचौँ महाधिवेशनबाट उहाँ नेकपा एमालेको प्रमुख नेता चुनिनुभयो । उहाँले प्रस्तुत गरेको बहुदलीय जनवादको विचारले वामखेमामा गहिरो प्रभाव पार्यो ।

राजधानीमा बहालवाला प्रधानमन्त्रीलाई आमचुनावमा पराजित गरेपछि मदन भण्डारीको प्रभावले थप उचाइ पायो । ज्युँदा कार्लमाक्र्सको चर्चासम्म पायो । माले माक्र्सवादी एकीकरणपछि पार्टीको गोंगबुमा बसेको राष्ट्रिय परिषद्को बैठकमा हामीले ‘जनताको’ थपेर ‘जनताको बहुदलीय जनवाद’ नामाकरण गरेका थियौँ ।

नेकपा बनाउने धुनमा जबज छाडेको परिणाम हो वामखेमाभित्र दक्षिणपन्थीहरूको घुसपैठ र बिध्वंश पनि । संगठन विचारले चल्ने सत्यलाई भिडले चल्छ भनेर सिद्ध नहुने नकारात्मक शिक्षा लिन सकेपछि परन्तुलाई काम लागिरहन्छ । यतिबेला पनि दक्षिणपन्थी खेमाभित्र वाम एकताको रोइलो मच्चिरहेको छ । वैशाख ३० गते ०७९ मा सम्पन्न स्थानीय निकाय निर्वाचनले नेपालको राजनीतिक रंगमञ्चमा ताजा तस्बीर देखायो । वामखेमाका विग्रहीहरूको सहयोगमा नेपाली कांग्रेस पहिलो शक्ति बन्यो । नेकपा एमाले वामखेमाको मूलधारमा उभिएर दोस्रो शक्ति बन्यो । वामखेमा छिन्नभिन्न पार्ने दक्षिणपन्थी अनुदार क्याम्पमा गएकाहरू तेस्रो र चौथो बने ।

सुरूदेखि जबजको विपक्षमा सिपी मैनाली, झलनाथ खनाल मोहनचन्द्र अधिकारीहरूलगायत रहेका थिए । परम्परागत रूपको कम्युनिस्ट संगठन र नेतृत्वको ढाँचाले (केन्द्रबाट निर्देशित हुने) मात्र जनताको बहुदलीय राखेर अघि बढ्न स्वभाविक रूपले सक्दैनथ्यो ।

०४६ भदौमा नेकपा मालेको चौथो माहाधिवेशनदेखि आन्तरिक जनवादको संघर्षले पाँचौँ महाधिवेशन २०४९ मा आउँदा बहस अघि बढ्यो मात्र, निर्णयमा पुग्न सकेन । बहुपद सहितको अध्यक्षात्मक सांगठनिक ढाँचाको मत थोरै देखियो । नेकपा एमाले कम्युनिस्टहरूको एकीकृत पार्टी बन्ने क्रम जारी रह्यो ।

पार्टी सुदृढीकरण तथा एकीकरणमा लागेका नेताद्वय मदन भन्डारी र जीवराज आश्रितको दासढुंगामा दुःखद् निधन भयो । यसको सत्यतथ्यको माग आज पनि जनताको रहेको छ । यो कल्पना बाहिरको अपूरणीय क्षति थियो । त्यसपछि माधव नेपाल माहासचिव बने । ०५१ सालको निर्वाचनमा अल्पमतको सरकार बन्ने अवस्थामा यसमा जान हुन्न भन्ने राधाकृष्ण मैनालीहरू थिए । पार्टीले मनमोहन अधिकारीलाई प्रधानमन्त्री र महासचिव माधव नेपाल उपप्रधान मन्त्री बनायो ।

पार्टीमा सुस्तरी जबजलाई पन्छाउने र सत्तामोह जगाउने काम नेतृत्वले गर्न थाल्यो । फलस्वरूप पार्टी एक रहन सकेन छैटौँ महाधिवेशनमा माधव नेपाल र वामदेव पदको तानातानलाई महाकाली सन्धी देखाएर पार्टी विभाजन गरे । नेकपा एमालेमा जबजको झण्डा बोक्ने बहुमत जमात हुँदाहुँदै यसको नेता नहुने अवस्था देखिन थाल्यो । मदन भण्डारी र जीवराजको निधनपछि जबज विरोधीहरू अग्ला देखिन थाले ।

महासचिव माधव नेपाल न विरोध न समर्थनको पोजिसनमा थिए, जनकपुरको साताैँ माहाधिवेशनसम्म । केपी ओली पनि सातौँ महाधिवेशनमा जबजको नेतृत्व गर्ने पक्षमा उभिन आँटेका थिएनन् । बुटवलको आठौँ महाधिवेशनमा आउँदा माधव नेपालको जबज बिरोधीतिर मौन समर्थन देखियो ।

झलनाथ खनाल पार्टी अध्यक्ष भए । पार्टीभित्र जबजविरूद्ध गतिविधि हुन थाले । मदन भण्डारीको तस्बिर लिएर उहाँकै विचार ढाकेर सत्तामा जाने होडले प्रश्रय पाउन थाल्यो । पार्टी गुटको अखडा हुँदै गयो । नवौँ माहाधिवेशनमा जबज बिरोधीहरू एउटै पार्टीमा दुई प्यानलको निर्वाचन ढाँचामा गए । माधव नेपाललाई पराजित गरेर केपी शर्मा ओली अध्यक्षमा विजयी भए । पार्टीमा जबजले दह्रो आड पाएन ।

छिर्केमिर्के विचारको केन्द्र बन्यो एमाले । नेकपा बनाउने धुनमा जबज छाडेको परिणाम हो वामखेमाभित्र दक्षिणपन्थीहरूको घुसपैठ र बिध्वंश पनि । संगठन विचारले चल्ने सत्यलाई भिडले चल्छ भनेर सिद्ध नहुने नकारात्मक शिक्षा लिन सकेपछि परन्तुलाई काम लागिरहन्छ । यतिबेला पनि दक्षिणपन्थी खेमाभित्र वाम एकताको रोइलो मच्चिरहेको छ ।

वैशाख ३० गते ०७९ मा सम्पन्न स्थानीय निकाय निर्वाचनले नेपालको राजनीतिक रंगमञ्चमा ताजा तस्बिर देखायो । वामखेमाका विग्रहीहरूको सहयोगमा नेपाली कांग्रेस पहिलो शक्ति बन्यो । नेकपा एमाले वामखेमाको मूलधारमा उभिएर दोस्रो शक्ति बन्यो । वामखेमा छिन्नभिन्न पार्ने दक्षिणपन्थी अनुदार क्याम्पमा गएकाहरू तेस्रो चौथो बने । त्यसको लगत्तै दलालपुँजीवादी खेमाका शरणार्थीहरूमा कम्पन पैदा भएको छ ।

त्यसका सरगना माउहरू एकातिर कम्फरटेबल गठबन्धनको वकालत गरिरहेका छन् भने अर्कातिर आफ्ना साहन बाहनबाट वामएकताको डम्फू बजाउने चर्तिकला देखाइरहेका छन् । यतिवेला ‘बिग्रेका मान्छेका भत्केका कुरा’ बनेको छ वामएकताको भजन । वाम एकता विरोधीको ट्याग मेटाउने गाना गाउन उनीहरूलाई भ्याइनभ्याइ छ । आफू वामएकता गर्न आतुर रहेको र एमाले अझ त्यसका नेता केपी शर्मा ओली वामएकता विरोधी रहेको हो कि हो, भन्न थालेका छन् ।

यसो गर्न उनीहरू अभिसप्त छन् । उनीहरूका प्रश्न यस्ता रहेका छन्, ओलीले प्रचन्डलाई पदको भाग आधा दिनुपथ्र्यो । ओलीले माधव झलनाथका कुरा सुन्न पथ्र्यो । ०७४ सालको नेकपा दुई जनाको प्रम बन्ने स्वार्थी एकता थियो । ओलीले संसद् भंग हुँदैनथ्यो । ओलीमाथि लगाइएका आरोप यिनै चार वटा हुन् ।

विचार सिद्धान्तको र देश जनताका सवाल प्रमुख थिएनन् । यी आरोप लगाउनेलाई वाम खेमाका हामी मतदाहरू सोधिरहेका छौँ, पार्टी केन्द्रमा यसको समाधान किन गरिएन ? पार्टीको अधिवेशन नपर्खी त्यस अगावै वामआन्दोलन किन भत्काइयो ? प्रचन्ड प्रधानमन्त्री बन्ने अविश्वासको प्रस्ताव वामएकता तोड्ने मात्रै थालिएको थियो ? बहुमतको नाममा ओलीलाई निष्काशन वामएकता विरोधी किन थिएन ?

प्रचण्ड, माधव, झलनाथहरूको वामएकता भाँड्ने नियत थिएन भने माओवादी केन्द्र नब्युताइ एमालेकै एकीकृत मूलधारकै नेतृत्व गर्ने वैधानिक बाटोमा किन लागिएन ? यसले प्रचण्ड, माधव, झलनाथहरूको उद्देश्य वामखेमा भत्काउनुरहेको अहिलेको स्थानीय चुनावले देखिएन र ? नेपाली वामखेमाको मूलधार एमाले र त्ससको नेतृत्वविरूद्ध लागेका दक्षिणपन्थीका मतियार सावित भएनन् र ?

प्रचण्ड, माधव, झलनाथहरू वामपन्थी हुन चाहेको भए, अझ वामखेमाकै मूलधार हुन चाहेको भए आपसी तालमेल गरेर वाम पहिचानसहित निर्वाचनमा उठ्न कसले छेकेको थियो ? अब हुने संघ र प्रदेशको निर्वाचनमा दलाल पुँजीवादी नोकरशाही दलदलबाट बाहिरिएर प्रचण्ड, माधव, झलनाथहरू वामएकताको पक्षमा उभिन आँट गर्लान् ? यसैगरी हामीले दिएका मतबाट सांसद मन्त्री हुने, विपक्षलाई प्रधानमन्त्री बनाउने हस्ताक्षर गर्नेहरू विग्रही कि विद्रोही ? भन्ने प्रश्न पनि छ ।

वामएकता विचार र व्यवहारबाट देखिनुपर्यो, झेली राग टिकाउ हुन्छ र ? वाममूलधारका नेता केपी शर्मा ओलीले आफ्ना त्रुटि आत्मसाथ गरी सच्याउनुपर्छ । जबज नमान्नेहरूसँग पार्टी एकता गर्नु झन् जबज छाडेर अर्कै घाँडो भिर्नु गम्भीर गल्ती थियो । वामखेमा भत्काउने प्रचण्ड, माधव, झलनाथहरूबाट प्रतिनिधिसभा विघटन गराउने चक्रव्युहमा फँसेर पूर्व निकास नसोची विघटनमा जानु त्रुटि थियो ।

यसका बाबजुद एमालेलाई वामएकताको मूलधार बनाउन, वामखेमाको आशाभरोशा टुट्न नदिन यसले खेलेको भूमिका र पाएको सफलताप्रति धन्यवाद छ । आफैँभित्रको शुद्धीकरण र सुदृढीकरणमा सफल होस् र सही ढंगले वामएकताको नेतृत्व गरी सुखी नेपाली र समृद्ध नेपालको अभियन्ता बनिरहोस् ।

अन्त्यमा अहिले जननेता मदन भन्डारीको ७१औँ जन्मजयन्ती, मदन आश्रितविहीन २९ वर्षहरूमा देशले भोगेका समस्या र समाधानका प्रयत्नसँग हेरिनुपर्छ भन्ने मलाई लागेको छ । २००९ साल असार १४ गते जन्मेका जबजका प्रणेता जननेता मदन भण्डारीमा जन्मजयन्तीको यस अवसरमा हार्दिक श्रद्धा सुमन ।

(वामपन्थी नेता देवेन्द्र घिमिरेको फेसबुकबाट )

प्रतिक्रिया