आज असार १५ : दहीचिउरा र धान दिवसको महत्व

प्रल्हाद दाहाल

असार १५ नेपाली समाजमा खेतमा रोपाइँ गरी दहीचिउरा खाएर मनाउने परम्परा छ । असार १५ मा रोपाइँ भएको खुसीयालीमा भोज स्वरूप दही र चिउरा खाने दिनको रूपमा पनि चिनिएको हो । सरकारले यस दिनमा धानदिवससमेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागतरूपले नै असार १५ मा दहीचिउरा खाने प्रचलन रहँदै आएको हो ।

यसदिन रोपाइँ गरी दहीचिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाइँ गरी हिलो छ्यापेर रमाइलो गरी दहीचिउरा खाने चलन हाम्रो समाजमा छ । रोपाइँ गीतको रन्कोमा रोपाइँ गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत गह्रामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाइँमा व्यस्त हुने गर्दछन् ।

असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो हुन्छ भने कोरीबाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बिउ काड्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेको देख्दा हाम्रो नेपाली परम्परा साँच्चै रमाइलो र आकर्षक छ भन्ने कुरा प्रष्ट हुन्छ ।

कृषिप्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत यसले प्रभाव पार्ने भएकाले रोपाइँको ठूलो महत्व छ । सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरू हुन्छ ।

अहिले बजारमा दहीचिउरा १२ महिना उपलब्ध छन् । तर पहिला यस्तो हुँदैन थियो । रोपाइँमा सबैलाई भ्याइनभ्याइ हुने भएकाले पकाइरहन पनि नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने भएकाले दहीचिउरा खाने प्रचलनले महत्व पाएको पनि भन्ने गरिन्छ । असारमा कामको व्यस्तताले अरू खानेकुरा जोहो गर्ने समय हुँदैन र पकाइवरी गर्न नपर्ने र सरल रूपमा सबैका घरघरमा उपलब्ध हुने भएकाले असार १५ मा दहीचिउरा खाने थिति नै बसेको हो भन्ने पनि गरिन्छ ।

देशमा धान खेतीको लागि सिँचाइ सुविधा कम उपलब्ध भएकाले मनसुनमै भर पर्नुपर्ने परिस्थति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भए पनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् । पहाडी क्षेत्रमा असार महिनाभित्रै रोपाइँ गर्न नपाइएमा धान पाक्ने संभावना कम हुने हुनाले पनि यो समयमा रोपाइँमा व्यस्त हुनु परेको हो ।

महिना १५ दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको चाप भएकाले वास्तवमा सबै कृषकका लागि असारको १५ को महत्व धेरै भएको हो । लासलाई एकछिन घुमले छोपेर भए पनि असारे भेल छोप्नु पर्दछ भन्ने बुढापाकाको भनाइले समेत यसको महत्व अझ थप भएको दर्शाउँछ ।

रोपाइँ कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाइँको पहिलो दिन देवतालाई बिउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाइँको श्रीगणेश गरिन्छ । रोपाइँमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाइँ गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पुर्याउँदै आएको छ ।

कतै कतै ठूला खेती भएकाले रोपाइँ गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन ठाउँठाउँमा रहेको छ । एक आँकडाअनुसार नेपालमा धान खेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एक प्रकारको घैया धान लगाउने गरिन्छ ।

तर, वर्षे धानभन्दा यसको उत्पादन भने कम हुन्छ । लगानी बढी हुन्छ । नेपालमा ८५ प्रतिशत पानी जुनदेखि सेप्टेम्बरसम्मको मनसुनी सिजनमा र १० प्रतिशत हिउँदमा पर्ने गरेको छ । नेपालमा समुद्री सतहभन्दा ७० मिटर उचाइमा रहेको झापाको केचनादेखि २ हजार ७ सय ८० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिँदै आएको छ ।

जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धान खेती भएको मानिन्छ । पहिला–पहिला मार्सी, तौली, थापा चिनियाँ, बासमती खट्टेखानी आदि जातका धान खेती गरिन्थ्यो भने हाल ताइचुङ, विन्देश्वरी, खुमल, मन्सुली, राधा आदि विकासे जातका धान लगाइन थालेको पाइन्छ ।

असार १५ मै किन खाइन्छ दहीचिउरा ? प्रायःको एउटै उत्तर हुने गर्छ, पहिलेदेखि खाँदै आएको त्यसैले होला । आखिरमा किन असार १५ को सांस्कृतिक महत्व छ त ? संस्कृतिकर्मीका आधारमा कर्णाली क्षेत्रतिर असारमा समयमै रोपाइँ सकिएको खुसीयालीमा दहीचिउरा खाइन्छ ।

परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आएकोले नै होला । तर समयक्रमले यसलाई असार १५ को पर्वका रूपमा पु¥याएको संस्कृतिकर्मीको तर्क छ । उनीहरूका अनुसार रोपाइँ नसकिएसम्म दहीचिउरा खाइँदैन । तर अहिले रोपाइँ सकियोस् या नसकियोस् प्रत्येक वर्षको असार १५ मा दहीचिउरा खाने गरिन्छ । हुन त अहिले दहीचिउरा खान असार १५ सम्म पर्खन पर्दैन ।

अहिले बजारमा दहीचिउरा १२ महिना उपलब्ध छन् । तर पहिला यस्तो हुँदैन थियो । रोपाइँमा सबैलाई भ्याइनभ्याइहुने भएकाले पकाइरहन पनि नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने भएकाले दहीचिउरा खाने प्रचलनले महत्व पाएको पनि भन्ने गरिन्छ ।

असारमा कामको व्यस्तताले अरू खानेकुरा जोहो गर्ने समय हुँदैन र पकाइवरी गर्न नपर्ने र सरल रूपमा सबैका घरघरमा उपलब्ध हुने भएकाले असार १५ मा दहीचिउरा खाने थिति नै बसेको हो भन्ने पनि गरिन्छ । पहिला–पहिला सबैसँग आजभोलिजस्तो माछा, मासु लगायतका पौष्टिक आहार खाने क्षमता थिएन । रोपाइँले थाकेका किसानलाई माछा–मासु पकाएर बस्ने फुर्सद पनि हुँदैन थियो ।

प्रायःजसो सबै किसानका घरमा गाईभैँसी पालिएको हुन्थ्यो । गाईभैँसीले दिने दूधले गर्दा घरघरमा दही, मही र घ्यू खाली हुँदैन थियो । त्यस्तै खेती किसानी गर्ने भएकाले चिउरा पनि घरमै हुने भइहाल्यो । त्यसैले घरमै रहेको दहीचिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुसीयालीमा भोज गर्ने प्रचलन रहेको संस्कृतिकर्मीहरूले भन्ने गरेका छन् ।

दहीचिउरा पौष्टिक आहार पनि भयो । धेरै समय लाग्ने गरी दहीचिउरा अरू खानेकुरा जसरी पकाइरहन पनि पर्दैन । त्यसैले यसको प्रयोगले महत्व पाएको हो । यसै प्रयोगले आज संस्कृति र पर्वको रूप लिएको मात्र हो भन्नेहरू पनि धेरै छन् । कृषिमा परनिर्भरता बढेसँगै १५ असारको महत्व खल्लो हुने क्रम बढेको छ ।

असार १५ कृषिमा नेपालीहरूको आत्मनिर्भरताको प्रमाण पनि हो । पहिले दही र चिउरा घरमै हुन्थ्यो तर अहिले दही र चिउरा दुवै किन्नुपर्छ । अहिले कमैका घरमा गाईभैँसी छन् । गाईभैँसी नपालेपछि घरघरमा दही बन्ने कुरा भएन । तर बजारबाट किनेर भए पनि असार १५ मा भने दहीचिउरा खाने प्रचलनमा कमी भने आएको छैन ।

विवाह, व्रतबन्ध, सभा समारोहपछि सबैभन्दा बढी दही प्रयोग हुने दिन भनेकै असार १५ हो । दही बनाउने पेसा पनि मौसमी व्यवसाय हो । विशेषगरी माघ र फागुन महिना दही उपभोग हुने खास महिना हुन् । अरू समय भनेको चाडबाड, विवाह, व्रतबन्ध तथा सभा सम्मेलन नै हो । त्यस्तै गर्मी याममा पनि दहीको उपभोग अघिपछिभन्दा बढी नै हुन्छ ।

तर, बजारमा आजभोलि दूध अभाव भएपछि दही बनाउन अलि कठिन हुन थालेको छ । दूध आवश्यक मात्रामा नआउँदा अहिले दही धेरै जमाउन पाइँदैन र १५ गतेलाई कसरी पु¥याउन सकिन्छ भन्ने कुरामा हामी लाग्न पर्छ । १५ गते दिउँसोदेखि नै दहीको अभाव हुन थाल्छ ।

भक्तपुर नगरभित्र करिब १ सय ५० घरपरिवारले परम्परागत रूपमा मौलिक जु जु धौ बनाउँछन् । उनीहरूले वार्षिक १ हजार ५ सय मेट्रिक टन दही बनाउँछन् । दही भक्तपुरको मौलिक उत्पादन हो । भक्तपुरमा बन्ने विशेष प्रकारको दहीलाई जुजु द्यौ (राजादही) भन्ने प्रचलन पनि रहँदै आएको छ ।

दही बनाउने पेसा आफैँमा स्वतन्त्र र आत्मनिर्भर व्यवसाय भने होइन । यो पशुपालनमा आधारित व्यवसाय हो । त्यसमा पनि गाईको दूधबाट राम्रो दही बन्दैन । त्यसैले भैँसीको दूध आवश्यक पर्छ । सहरीकरण र फेरिएको जीवनशैलीले नेपाली समाजमा पशुपालन गर्ने क्रमशः घट्दै आएको छ । यसले गर्दा पनि पहिले पहिलेको जस्तो स्वादमा दही पाउन कठिन हुने गरेको छ ।

नेपालमा असार १५ मा अरू दिनभन्दा झन्डै पाँच गुना बढी दही खपत हुन्छ । यो दिन हाम्रो देशमा करिब ६०–७० हजार लिटर दही खपत हुन्छ । आर्थिक रूपले हेर्ने हो भने असार १५ गते दहीको मात्र कारोबार करिब ८०–९० करोडको हुने देखिन्छ ।

यस दिन आमउपभोक्ताले दही नपाइएला भनेर अघिल्लो दिनदेखि नै घरमा दही लाने गरेको देखिन्छ । असार १५ गते दिउँसोदेखि नै प्रायः डेरीहरूमा दही पाउन गाह्रो छ । असार १५ को महत्व कति छ भन्ने कुरा सबै कुराहरू हेर्दा पनि प्रष्ट देखिन्छ ।

(दाहाल नेपाल डेरी एसोसिएसनका अध्यक्ष हुन्)

प्रतिक्रिया