बाबुरामसहितका नेतालाई कारवाही गर्ने जसपाकाे तयारी

जसपा भित्र चर्काे विवाद

काठमाडौं । सत्तारूढ दल जनता समाजवादी पार्टीले पार्टी विभाजन हुने गरि गतिविधी गरेको भन्दै संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेतालाई कारवाही गर्ने भएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवपक्षीय नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा २० जना कार्यकारिणी सदस्यको उपस्थिति थियो । जसपामा हाल ३३ जनाकको कार्यकारिणी समिति छ ।

सोमबार सोमबार राति बसेको बैठकमा डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव, गंगानारायण श्रेष्ठलगायतका नेताहरु लाई कारवाही गर्ने विषयमा चर्चा भएको एक केन्द्रीय सदश्यले बताए । उनले भने, ‘नाम नै तोकेर नभनौं तर कारवाही हुन्छ ।’ पार्टीमा अराजक गतिविधि गर्ने, पार्टी फुटाउन हस्ताक्षर अभियान चलाउने जस्ता गतिविधि गर्नेहरुलाई विधान बमोजिम कारवाही गरिने उनले बताए । त्यसैगरी बैठकले असारभित्रै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

त्यस्तै, सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सोमबार राति बसेको बैठकले सरकारमा रहेका चारजना मन्त्रीमध्ये कसलाई फिर्ता बोलाउने भन्ने खुलेको छैन् । फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने अधिकार अध्यक्ष यादवलाई नै दिइएको छ ।

जसपाबाट सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, वनमन्त्री रामसहायप्रसाद यादव र कृषिमन्त्री महेन्द्र राय यादव रहेका छन् ।

प्रतिक्रिया