एकलाख राशिको लेखक पुरस्कार

काठमाडौं । नेपाली साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एक स्रष्टालाई नेपाली लेखक सङ्घले एक लाख राशिको पुरस्कार दिने भएको छ । संघको शनिबार बसेको बैठकले विशिष्ट लेखक पुरस्कारको स्थापना गर्दै नेपाली वाङ्मय क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने स्रष्टालाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
सघका अध्यक्ष एवं कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विसं २०८० वैशाख १६ गतेदेखि हरेक वर्ष ‘लेखक दिवस’ मनाउने निर्णयसमेत गरेको छ ।

उक्त दिन नेपाली लेखक संघका सबै प्रदेश तथा जिल्ला शाखालाई लेखक दिवस मनाउन निर्देशन दिने निर्णय बैठकले गरेको जनाइएको छ । संघका सचिवालय सदस्य नवीनचन्द्र घिमिरेले लेखनप्रति सबैलाई जागरुक र अभिप्रेरित गर्नका लागि उक्त निर्णय गरिएको बताए । उनका अनुसार स्रष्टाहरूले राजनीति परिवर्तनका लागि चालेको संगठनात्मक चेतको उच्च स्मरण गर्दै उक्त ऐतिहासिक दिनलाई नेपाली लेखक संघले ‘लेखक दिवस’ मनाउने निर्णय गरेको हो ।

उक्त दिवसकै अवसर पारेर प्रदान गरिने विशिष्ट लेखक पुरस्कारको अक्षयकोष स्थापना गर्न संघले आफ्नो तर्फबाट रकम संकलन गर्न सुरु गरेको छ । सो पुरस्कार प्रदान गर्न अक्षयकोषका लागि कार्यसमितिको तर्फबाट मात्रै छ लाख बराबरको रकम संकलन भएको छ । सुरुआतमै निकै उत्साहपूर्वक स्वतस्फुर्त रकम संकलन भएको उक्त अक्षयकोषमा आगामी दिनमा पनि विभिन्न संघसंस्था र व्यक्तिबाट रकम संकलन गरी कोषमा कम्तीमा २० लाख बराबरको मूल धन पु¥याउने लक्ष्य लिइएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले उक्त पुरस्कार वितरण गर्नका लागि एक कार्यविधि निर्माण गरी स्रष्टाबाट स्रष्टाका लागि प्रदान गरिएको रकमलाई व्यवस्थित गरिने स्पष्ट पारे ।

प्रतिक्रिया