१ करोड ५३ लाख भ्रष्टाचार : २१ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको दाबीसहित रौतहटको फतुवा विजयपुर नगरपालिकाका जनप्रतिनिधिविरुद्घ आइतबार मुद्दा दायर गरेको छ । उक्त नगरपालिकाका नगरप्रमुख गोपाल राय यादवसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । उनीहरूले १ करोड ५३ लाख ५० हजार १ सय ९९ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टी भएको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


अख्तियारले मुद्दा दायर गरेका अन्य आरोपीमा उक्त नगरपालिकाका तत्कालीन नगरउपप्रमुख कान्तीदेवी, वडा–१ का तत्कालीन वडाध्यक्ष सञ्जयप्रसाद, वडा–२ का तत्कालीन वडाध्यक्ष भविछन राय यादव, वडा–३ का तत्कालीन वडाध्यक्ष दीपनारायण साह, वडा–५ का वडाध्यक्ष शेख एजाज अहमद रहेका छन् । यसैगरी अख्तियारले तत्कालीन वडाध्यक्ष हिरा राय यादव, तत्कालीन वडाध्यक्ष र हालका नगर कार्यपालिकाका सदस्य उमाशंकर साह कलवार, तत्काली वडाध्यक्ष दीपनारायण चौधरी, तत्कालीन वडाध्यक्ष योगेन्द्रप्रसाद चौधरी र वडाध्यक्ष ज्ञानेन्द्र चौधरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
यसैगरी अख्तियारले नगर कार्यपालिका तत्कालीन सदस्य लक्ष्मण साह कानु, नगर कार्यपालिका तत्कालीन सदस्य सुन्दरी माझी, नगर कार्यपालिका तत्कालीन सदस्य एवं हालकी वडा सदस्य जिरनी देवी, नगर कार्यपालिका तत्कालीन सदस्य फूलकुमारी देवी, संजुदेवी जयसवाल, शशीकुमार साह र रविन्द्रकुमार निधिविरुद्ध पनि मुद्दा दायर गरेको छ ।


अख्तियारले मुद्दा दायर गरेको अन्यमा नगरकार्यपालिका तत्कालीन समयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रञ्जना साह रहेका छन् ।
अख्तियारका अनुसार रौतहटको गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापनसम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुवै नगरपालिकाले संयुक्त रूपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का लगाउने सम्झौता गरेका थिए ।


सम्झौताअनुसार प्राप्त हुन आउने आयको फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम बाडँफाँड गर्ने निर्णय भएको थियो । फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ को लाल बकैया नदीको ठेक्का प्रचलित ऐन नियमविपरीत रद्द गरी नगरपालिकालाई नोक्सानी पु¥याएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया