इन्धन खपत घटाउन चार विकल्प

काठमाडौं । सरकारले इन्धनको खपत दर घटाएर नेपाल आयल निगमको घाटा न्यूनीकरण गर्न महत्वपूर्ण विकल्प अघि सारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअनुसार इन्धनको खपत दर (उपभोग दर) घटाउनका लागि चार प्रकारको विकल्पको बारेमा सरकारले छलफल गर्न सुरु गरेको छ । मन्त्रालयले डिजेलमा तथा पेट्रोलमा इथानोल र सजिवन मिसाउने योजना तयार पारेको छ । सजिवन मिसाउने योजना नौलो होइन । सरकारको नीतिगत समस्याका कारण करिब ३० वर्षदेखि यस विषयमा विभिन्न चरणमा छलफल हुनुका साथै सजिवनको खेती पनि भएको थियो । किसानले करोडौँ लगानी गरेर सजिवनको खेती गरे पनि बजार नपाएको दर्जनौँ घटना छन् ।

यसबाहेक इथानोलको विषय पनि नौलो होइन । यस विषय वर्षांैदेखि विभिन्न समयमा चर्चामा आए पनि यसबारेमा सरकारले ठोस नीति नलिँदा यो योजना पनि कार्यान्वयनमा आउन सकेको छैन । यसका साथै सरकारले सवारी साधनको इन्जिन फेरेर विद्युतीय इन्जिन जडान गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

यसैगरी सरकारले यात्रु बोक्ने इन्धनमा आधारित ठूलो सवारी साधनको साटो विद्युतीय सवारी साधन गुडाउने तयारी पनि गरेको छ । ‘यो विषयमा नीतिगत व्यवस्था गरी मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी भइरहेको छ’, मन्त्रालय स्रोतले भन्यो ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा पनि यो विषयमा छलफल भएको थियो । यसबाहेक सरकारी कार्यालयको सवारी साधनलाई विद्युतीय सवारीमा परिवर्तन गर्ने, पुरानो गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्ने र सिंहदरबारका सम्पूर्ण मन्त्रालयबाट बिस्तारै एलपी ग्यासलाई विस्थापित गर्ने विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया