क्यान्सर पीडित विश्व कीर्तिमानी तामाङप्रति प्रचण्डको चासो

काठमाडौं । सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शम्भु तामाङको स्वास्थ्य अवस्थाबारे राजनीतिक नेतृत्वले चासो लिएको छ ।

उनी यतिबेला क्यान्सर रोगसँग लडिरहेका छन् । लिसङ्खुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक स्थायी घर भई हाल काठमाडौं महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका थिए ।

सगरमाथाको शिखर चुम्दा तामाङ १७ वर्ष ६ महिना १५ दिनको मात्रै थिए । सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गरेर गिनिज बुकमा नाम लेखाउन सफल तामाङको स्वास्थ्योपचारमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो व्यक्त गरेका छन् ।

आज बिहान ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुगेर तामाङको स्वास्थ्यस्थितिबारे अध्यक्ष दाहालले जानकारी लिएका हुन् ।

तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन् । तामाङको स्वास्थ्य अवस्थाबारे अध्यक्ष दाहालले चिकित्सकबाट जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले उनको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गरेका थिए । अध्यक्ष दाहालले देशका लागि तामाङले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताए ।

प्रतिक्रिया