‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर’

काठमाडौं । चलचित्र ‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । दीपक वली निर्देशित चलचित्रको गीतमा गायक रवि ओड र गायिका सुनीता कार्कीको स्वर रहेको छ । डा. डिआर उपाध्यायको शब्द र बाबुल गिरीको संगीत रहेको गीतको भिडियोमा उत्सव दाहालको छायांकन छ । माइकल चन्दको कोरियोग्राफी रहेको गीत राजधानीको बिश्वज्योति हलमा आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनसमेत गरियो ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर छन् । गीत मनाङको तिलिचो ताल र त्यसभन्दा माथिको करिब ५२ सय मिटर उचाइको रमणीय स्थलमा खिचिएको हो । कार्यक्रममा अभिनेता पुष्पले ‘कृष्ण–लीला’ मा आफूले अत्यन्तै मिहिनेत गरेको स्मरण गरे । उनले ‘ए मेरो हजुर’ पनि दर्शकले अधिक मन पराउने आफू विश्वस्त रहेको बताए । ‘फिल्म तथा गीतका लागि मिहिनेत गर्न कत्ति पनि कन्जुस्याइ गरेका छैनौ,’ अभिनेता पुष्पले भने, ‘हाइ अल्टिच्युडमा समेत हामीले ज्यानको पर्वाह नगरी काम गर्यौ । अहिले पर्दामा हेर्दा त्यतिबेला गरेको दुःख सबै बिर्सिएको छु ।’ उनले चलचित्रमा आफू कृष्णको शीर्ष भूमिकामा रहेको खुलाए ।

त्यसैगरी, यो नै आफ्नो प्रदर्शन हुन लागेको डेब्यु चलचित्र भएकाले आफू निकै उत्साहित रहेको अभिनेत्री श्रद्धाले बताइन् । उनले ‘कृष्ण–लीला’ को अघिल्ला गीतले दर्शकको मन जितिसकेकाले यो गीतले पनि माया पाउने बिश्वास व्यक्त गरिन् । उनले आफू अभिनयमै करिअर बनाउने योजनाका साथ आएकाले ‘कृष्ण–लीला’ हेरेर आफ्नो कामको प्रतिक्रिया दिनसमेत आग्रह अनुरोध गरिन् । कार्यक्रममा चलचित्र निर्देशक नरेश पौड्याल, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, चलचित्र वितरक तथा निर्माता गोपालकाजी कायस्थ तथा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले ‘ए मेरो हजुर’ निकै सुन्दर लागेको प्रतिक्रिया दिँदै ‘कृष्ण–लीला’ लाई सफलताको शुभकामना ब्यक्त गरे ।

प्रस्तुतकर्ता रोहित कट्टेलले कोरोना कालमा निकै दुःखका साथ ‘कृष्ण–लीला’ निर्माण गरेको स्मरण गर्दै आफूहरु अब चलचित्र निर्माणमा निरन्तर लाग्ने बताए । ‘हामी फिल्म बितरणका साथै निर्माणमा पनि लागिसकेका छौ । ‘कृष्ण–लीला’ हाम्रो पहिलो प्रयास हो,’ उनले भने, ‘मनोरञ्जक फिल्म बनाउन कुनै कसर बाँकी राखेका छैनौ । त्यसकारण दर्शकको साथ र हौसला पाउनेमा बिश्वस्त छु ।’ चलचित्रका निर्माता केवल तामाङ र प्रकाशराज कार्कीले पनि ‘कृष्ण–लीला’ ले दर्शकको मन जित्ने आशा राखेको बताए ।

कोरोयोग्राफर माइकलले ‘ए मेरो हजुर’ निकै सुन्दर बनेकाले दर्शकको मनमा बस्ने ठोकुवा गरे भने संगीतकार बाबुल, गायक रबि र गायिका सुनीताले प्रत्यक्ष गीत गाएरै सुनाए । उनीहरुले गीत गाउँदा माहौल झुमेको थियो । संगीतकार बाबुलले गीतझै भिडियो पनि सुन्दर बनेकोमा खुशी ब्यक्त गरे । गायक रबि र गायिका सुनीताले पाश्र्व गायनमा आफूहरुलाई यो गीतले निकै हौसला प्रदान गरेको बताए । निर्देशक वलीले आफूले मनोरञ्जनक चलचित्र निर्माण गरेको बताए ।

उनले ‘कृष्ण लीला’ को यसअघिको ‘त्यो कथामा एउटा राजा एउटी रानी’ र ‘डिएर बन्न मन छ मलाई’ स्रोतादर्शकले अत्याधिक मन पराएकोमा धन्यवाद दिए । भदौ ३ गते कृष्ण जन्माष्टमीका दिन प्रदर्शन हुने चलचित्रमा पुष्प, श्रद्धाका साथै बुद्धि तामाङ, रवीन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, आयुषा क्षेत्री, हिउँवाला गौतम तथा बालकलाकर आयुष गुरागाइँ मुख्य भूमिकामा छन् ।

पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको चलचित्रको लाइन प्रोड्युसरमा रमेश तामाङ छन् । पूर्वी नेपालको इलाम, पाँचथर तथा झापाका रमणीय स्थानमा छायांकन गरिएको चलचित्र शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको यो चलचित्रको लेखन लक्ष्मण सुवेदीको रहेको छ । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी रहेको चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

रंगपत्रकार, निर्देशक, निर्माता तथा स्क्रिप्ट राइटर लक्ष्मण सुवेदीले सञ्चालन गरेको कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला लगायतका थुप्रै सञ्चारकर्मी, हल सञ्चालक गोपाल कायस्थ, मदनमान बज्राचार्य, छिरिङ लामा, निर्देशक प्रदीप श्रेष्ठ र नवल नेपाल निर्मात्री पुनम गौतम र शर्मिला पाण्डे तथा अभिनेता भोलाराज सापकोटा, प्रकाश शाह लगायतका कलाकर्मीको उपस्थित थियो । ‘ए मेरो हजुर’ युट्युब च्यानल डिआर म्युजिक एण्ड क्रिएसन्समार्फत दर्शकमाझ ल्याइएको छ ।

प्रतिक्रिया