पोखरा स्पोर्टस अवार्ड असार १८ गते

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले बर्सेनी दिँदै आएको ‘पोखरा स्पोर्टस् अवार्ड’को ४ विधातर्फको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत वर्ष खेलाडी (महिला, पुरुष), वर्ष उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो ।
असार १८ गते पोखरा सभागृहमा हुने छैटौं पोखरा स्पोर्टस अर्वाडको वर्ष खेलाडी पुरुषतर्फ ब्याडमिन्टनबाट विधान अधिकारी, करातेबाट बुद्ध लामा र टेनिसबाट प्रदीप खड्का छनोट भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

वर्ष महिलातर्फको वर्ष उत्कृष्ट खेलाडीतर्फ भलिबलबाट अरुणा शाही, क्रिकेटबाट मनिषा उपाध्याय र करातेबाट सरगम कुमाल छनोट भएकी छन् । वर्ष उदीयमान खेलाडीतर्फ टेनिसबाट दर्शिल श्रेष्ठ, क्रिकेटबाट श्रृष्टि जैसी र बक्सिङबाट शाहिल लिम्बु छनोट भएका छन् ।

मञ्चका महासचिव पौडेलका अनुसार उत्कृष्ट प्रशिक्षकमा क्रिकेटबाट रिजन प्रजू, टेक्वान्दोबाट रेखमाया गुरुङ र टेनिसबाट निरज थापा मनोनयनमा परेका छन् । टेक्वान्दोबाट उत्कृष्ट प्रशिक्षक विधामा मनोनयनमा परेकी गुरुङ पछिल्लो समय फेन्सिङको प्रशिक्षण दिँदै आएकी छन् ।

मञ्चले ७ वटा विधामा पुरस्कार वितरण गर्दै आइरहेकोमा प्रारम्भिक चरणमा ४ विधाको मात्रै मनोनयन सार्वजनिक गरिएको मञ्चका पूर्वअध्यक्ष तथा खेलाडी छनोट उपसमितिका संयोजक विनोद लामिछानेले जानकारी दिए ।

लाइफटाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार गरी ३ विधा भने पछि सार्वजनिक गरिनेछ । ‘खेलाडीले हालसम्म पाएका उपलब्धी रे खेल कौशलका आधारमा मनोनयन गरिएको हो,’ संयोजक लामिछानेले भने ।

लाइफटाइम अचिभमेन्ट अवार्ड विजेताले चाँदीको करुवा, ट्रफी र ताम्रपत्र, वर्ष खलाडी (पुरुष, महिला) ले इलेक्ट्रिक स्कुटर र ट्रफी पाउने मूल आयोजक समितिका सहसंयोजक सुरज श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार वर्ष उदीयमान खेलाडी, प्रशिक्षक, खेल पत्रकार र खेलकुद संघले समान ३५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् । ‘उत्कृष्ट ३ मनोनयन सूचीमा परेका खेलाडीले पनि ट्रफी पाउनेछन्,’ उनले भने ।

प्रतिक्रिया