रिक्त ३२ एसएसपीमा घम्साघम्सी

काठमाडौं । १७ प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा सिफारिस भएसँगै नेपाल प्रहरीमा ३२ वटा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पद रिक्त भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको बैठक बसेर एक/दुई दिनभित्रै बढुवा सिफारिस गर्ने तयारी गरेको छ ।

डिआइजी बढुवा सिफारिससँगै जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका ट्राफिक कार्यालयलगायत १७ स्थानमा केही दिनमै एसएसपी रिक्त हुँदै छ । यसैगरी अन्य १५ एसएसपी यसअघिबाटै रिक्त छन् । गत वैशाख १९ गते एसएसपीहरू अनिवार्य अवकाशमा जाँदा र बाँकी रहेका एसएसपी पनि डिआइजीमा बढुवा हुँदा ठूलो संख्यामा एसएसपीको दरबन्दी खाली हुन पुगेको हो ।

रिक्त दरबन्दीमा बढुवा हुन राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर ०५८ सालबाट नेपाल प्रहरीमा प्रवेश गरेका तीन ब्याचका १८ जना र नेपाल प्रहरीकै तीन ब्याचका १६ जनाबीच तीव्र प्रतिस्पर्धा छ । यीमध्ये ०५४ सालमा सेवा प्रवेश गरेका १११औँ ब्याचका १४ जना पनि बढुवा आकांक्षी हुन् ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा बर्खास्तीमा परेर जागिर जोडिएका एसपी डिल्लीराज विष्ट पनि एसएसपी बढुवाको लाइनमा छन् । उनको ब्याचका सबै एसएसपी भइसकेका छन् । कोही डिआइजी सिफारिसमा समेत परेका छन् ।

यसैगरी ०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेका सिद्धिविक्रम शाहसहित १२ जनाको टोली ०६४ सालमा डिएसपीमा बढुवा भएको थियो । यो टोली राष्ट्रिय अनुसन्धान विभागमा भर्ना हुँदा पनि खुला प्रतिस्पर्धाबाट आएको हो । पछि भर्ना भएका ६ जना भने राष्ट्रिय अनुसन्धानमा आन्तरिक रूपमा भर्ना भएका थिए ।
यसरी भर्ना हुने पहिलो नम्बरका शाहसहित सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ, विमल बस्नेत, मनोज यादव, दिलीपसिंह देउवा र सञ्जीवशर्मा दास हुन् ।
०५४ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा प्रवेश गरेका विनोद घिमिरे, दीपक बस्नेत, जयराज सापकोटा, रामेश्वरप्रसाद यादव तथा ०५५ सालमा भर्ना भएका शारदाप्रसाद चौधरी र दीपेन्द्र घर्ती पनि एसएसपीको प्रतिस्पर्धामा छन् ।

एसपीको पाँचौँ वरीयतामा रहेका गणेश चन्द भने हालै डिआइजीमा सिफारिस भएको एसएसपीका ब्याची हुन् । एउटै विज्ञापनमा भर्ना भए पनि उनको राष्ट्रिय अनुसन्धान विभागमा पोस्टिङ भएको थियो । पछि नेपाल प्रहरीमा फर्किएका चन्द ब्याचीभन्दा पछि परेका हुन् । सँगै भर्ना भएकी चन्दकै ब्याची पत्नी दुर्गा सिंहसहितको टोली भने डिआइजीमा सिफारिस भइसकेको छ ।

०६६ सालमा डिएसपी भए पनि सँगै एसपी भएका राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल र दानबहादुर कार्कीसहितको टोली पनि एसएसपी बढुवाको बलियो दाबेदार हुन् । नेपाल प्रहरीको निरीक्षकमै भर्ना भएका उनीहरू डिएसपी हुँदा दुई वर्षपछि परेका थिए भने एसपी हुँदा पनि वरीयतामा १० नम्बरभन्दा पछाडि छन् । उनीहरू राष्ट्रिय अनुसन्धान विभागबाट आएका १८ जनाको टोलीभन्दा अघिल्लो वरीयतामा बढुवा हुन दौडधुपमा छन् ।

यसैगरी जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी र लोकेन्द्र श्रेष्ठ पनि एसएसपी हुने होडमा छन् । लोकेन्द्र भने आगामी साउनमा अनिवार्य अवकाशमा जाँदैछन् । प्रतिस्पर्धामा रहेका ३४ मध्ये डिल्लिराज विष्टबाहेक सबै ०७४ साल साउनमा सँगै एसपी भएका हुन् ।
नेपाल प्रहरीमा सिधै भर्ना भएको टोलीले राष्ट्रिय अनुसन्धानबाट आएको टोलीलाई प्रहरी संगठनलाई नै बदनाम गराएको आरोप लगाउँदै आफू अगाडि जाने दाउमा छ । राष्ट्रिय अनुसन्धानबाट आएकाहरू भने आफूहरू पनि समान पदमा खुला प्रतिस्पर्धाबाट भर्ना भएको र सरकारले कठिन समयमा प्रहरीमा ल्याएकाले आपूmहरूलाई अन्याय गर्न नहुने पक्षमा छन् ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह बढुवा सिफारिस पारदर्शी र विवादरहित ढंगबाट हुने बताउँछन् । कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवामा कसैलाई काखा र कसैलाई पाखा नगरिने दावी सिंहको छ । उनले भने, ‘मेरिटभित्र पर्ने सबै एसपीहरू बढुवाको लागि उपयुक्त पात्र हुन् । केही दिनभित्रै बढुवाका लागि सिफारिस गर्छौं ।’ एसपीबाट एसएसपी बढुवामा प्रहरी अतिरिक्त महानिरीक्षक भने बढुवा समितिको सदस्यसचिव रहने प्रावधान छ ।

प्रतिक्रिया