मैले प्रयास गरेको भए एमाले विभाजन हुने थिएन : वामदेव गौतम

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका नेता वामदेव गौतमले आफूले प्रयास गरेको भए एमाले पार्टी विभाजन नहुने भन्दै आत्मालोचना गरेका छन् ।

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गौतमले नेकपा विभाजनमा आफ्नो पनि कमजोरी स्वीकार गरेका हुन् ।

तत्कालीन नेकपाको सचिवालय सदस्यहरुले चाहेको भए नेकपा विभाजनबाट जोगिन गौतमको भनाई छ । ‘धेरैजसोले वामदेवकै कारण विभाजित भयो भने आरोप लाग्यो,’ उनले भने, ‘मैले पनि गल्ती गरेकै हो भनेर आजको प्रस्तावमा पनि लेखेको छु , वामदेव लागेको भए पार्टी जोगाउन सकिन्थ्यो भन्नुभयो, यो साँचो हो, म लागेको भए पार्टी विभाजन हुँदैनथ्यो, म आत्मालोचित भएको छु ।’

पार्टी विभाजनबाट रोक्न आफूहरु असफल भए पनि मुख्य दोषी केपी ओली नै भएको गौतमको भनाई छ । ओलीले गरेको संसद विघटनका कारण पार्टी विभाजित भएको उनको तर्क छ ।

अर्कोतर्फ गौतमले तत्कालिन नेकपाका अध्यक्ष प्रचण्डले ओलीमाथि आरोपै आरोप लगाएर तयार पारेको दस्ताबेज फिर्ता लिएको भए पनि पार्टी विभाजन हुनबाट जोगिने बताए । ओलीले प्रधानमन्त्री पद छोड्न तयार भएको तर आरोपपत्र फिर्ता लिनुपर्ने शर्त राखेको गौतमको दाबी छ ।

‘सायद त्यतिबेला प्रचण्डले त्यो आरोपपत्र फिर्ता लिएँ भन्नुभएको भए पार्टी फुट्नबाट जोगिन्थ्यो कि भन्ने आज पनि मलाई लाग्छ,’ उनले भने, ‘ओलीजीले मलाई लगाइएको संगीन आरोप जुन छ, त्यो फिर्ता गरौं भन्नुभयो, प्रधानमन्त्री छाड्ने र अर्कोलाई बनाउने विषयमा थोरै छलफल भयो, तर त्यसलाई अघि बढाउन सकिएन, तर संगीन आरोपपत्र फिर्ता लिन मैले सक्दिँन भनेर प्रचण्डले भन्नुभयो, सायद, त्यतिबेला प्रचण्डले त्यो आरोपपत्र फिर्ता लिएँ भन्नुभएको भए पार्टी फुट्नबाट जोगिन्थ्यो कि भन्ने आज पनि मलाई लाग्छ ।’

आफू पार्टी विभाजनको विपक्षमा रहेकाले ओली र प्रचण्डले बोलाउँदा कतैतिर पनि नगएको उनले बताए । फरक प्रसंगमा गौतमले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) नेपालमा घुमाउरो तरिकाले प्रवेश गरिसकेको बताएका छन् ।

गौतमले अझै पनि नेपालमा कम्युनिस्ट पार्टीहरूको एकता सम्भव रहेको प्रतिवेदन ल्याएका छन् । नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो बैठकमा उनले प्रस्तुत गरेको राजनैतिक प्रस्तावमा फेरी एमाले माओवादी र नेकपा एकीकृत समाजवादी एक हुनु पर्ने औँल्याएका हुन् ।

प्रतिवेदनमा नेकपा विभाजन भएका कारण स्थानीय तहमा कांग्रेस पहिलो शक्ति बनेको र नेकपा विभाजन भएकै कारण शेरबहादुर देउवा प्रधानमन्त्री भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया