आत्रेयको ‘संकल्प’ प्रथम

काठमाडौं । सुनसरीकी टीका आत्रेयको ‘संकल्प’ शीर्षकको कविता ‘राष्ट्रिय कविता महोत्सव २०७९’ मा प्रथम भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको महोत्सवमा आत्रेयसहित पाँच जना कविका कविता पुरस्कृत भएका छन् । महोत्सवमा धादिङका कवि यात्रीप्रकाश पाण्डेयको कविता ‘आगोमा फुलेको देश’ द्वितीय, भक्तपुरकी सीता तुम्खेवाको कविता ‘चरिसो फूल’, सुनसरीका किरन सिवाको कविता ‘बुबाको सिलाइ मेसिन’ र अछामका कमलराज केसीको कविता ‘सपना उम्रन्छ माटोमा’ तृतीय भएका छन् ।
प्रतिष्ठानले बिहीबार आयोजना गरेको कविता महोत्सवमा अन्तिम छनोटमा ३० कविता परेका थिए । प्रत्यक्ष सहभागी हुन नसकेका विदेशमा रहेका कविले भिडियोमार्फत कविता वाचन गरेका थिए ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले साढे छ दशकमा नेपाली भाषा, साहित्य, संस्कृतिलाई स्वदेश एवं विदेशमा फिँजाउन अग्रणी भूमिका खेलेको बताएका छन् । प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवका अवसरमा आयोजित महोत्सव शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रका क्षेत्रलाई क्रियाशील रूपमा अघि बढाउन अझै महत्वपूर्ण काम गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्री देउवाले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण सम्पन्न हुन लागेको र एक लाख ५० शब्द रहेको प्रज्ञा नेपाली बृहत् शब्दकोश तयार भएको जानकारी गराए । उनले रचनात्मक क्रियाकलाप गर्न प्रतिष्ठानलाई आवश्यक बजेट मन्त्रिपरिषद्मा सल्लाह गरेर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले प्रतिष्ठानले तयार पारेको नेपाली बृहत् शब्दकोशको एपका कारण विश्वभरका नेपाली भाषीले यसको उपयोग गर्न सकेको बताए । उनले सनातन संस्कृति कोश, लोकवार्ता कोश जस्ता महत्वपूर्ण ग्रन्थ यसैवर्ष प्रकाशन गर्न लागिएको प्रतिष्ठानको संरक्षकसमेत रहेका मन्त्री आलेले जानकारी दिए । मन्त्री आलेले काम बढी भएको प्रतिष्ठानको बजेट अर्थ मन्त्रालयले कटौती गरेकोमा असन्तुष्टि व्यक्त गरे । उनले विसं २०१४ मा स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ६४ वर्षको यात्रामा थुप्रै साहित्य विकासका काम गर्न सफल भएको भन्दै प्रशंसासमेत गरे । प्राज्ञिक संस्थाको संरक्षकसमेत रहेका मन्त्री आलेले प्रतिष्ठानको स्थापनाकालदेखि हालसम्म भएका प्राज्ञिक गतिविधिका बारेमा विगतमा थोरबहुत जानकारी भए पनि पछिल्ला केही वर्षमा यस प्रतिष्ठानले गरेका कामका बारेमा नजिकैबाट हेर्ने, बुुझ्ने र सहकार्य गर्ने मौका पाएको सुनाए । भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र नेपाल प्रज्ञा–प्रतिष्ठानका कार्यक्षेत्रअन्तर्गत पर्ने तथा यस प्रतिष्ठानले आफ्ना ११ विभागका माध्यमबाट विभिन्न गोष्ठी, अनुसन्धान र प्रकाशनका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको जनाउँदै उनले उक्त कार्यमा लाग्ने सबैलाई धन्यवादसमेत दिए ।
सोही अवसरमा मन्त्री आलेले भने, ‘भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रजस्ता कार्यक्षेत्र बोकेको नेपाल प्रज्ञा–प्रतिष्ठानका लागि बजेट न्यून रहेको छ । कोभिडको महामारीमा देश आतंकित भएका बेलामा पनि आफ्ना कामलाई नरोकी अनुसन्धान र प्रकाशनका क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्ने प्रतिष्ठानको सबैले उच्च मूल्याङ्कन गर्नुपर्दछ ।’

उनले महाकवि देवकोटा सङ्ग्रहालय निर्माणकार्य अन्तिम चरणमा पुुगेको र सम्भवतः केही महिनाभित्रैमा त्यसको समुद्घाटन हुने आफूले खबर पाएकोसमेत जानकारी दिए । एक लाख ५० हजार शब्दको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोष’, पाँच हजारभन्दा बढी लेखक तथा साहित्यकारको परिचय समेटिएको ‘लेखक साहित्यकार परिचयकोष’, नेपालभित्रका सम्पूर्ण सांस्कृतिक शब्दहरूको अर्थ र प्रयोग सन्दर्भसमेत समेटिएको ‘सनातन संस्कृतिकोष’, नेपाली भूमिमा प्रवर्तन भएका पचासभन्दा बढी दर्शन समेटिएको ‘नेपाली दर्शन’, सम्पूर्ण नेपाली लोकजीवनलाई समेटेर तयार गरिएको ‘लोकवार्ताकोष’ जस्ता ऐतिहासिक महत्व राख्ने बृहत् ग्रन्थ यसै आर्थिक वर्षमा प्रकाशन हुनेसमेत मन्त्री आलेले जानकारी दिए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका आगामी दिनमा अगाडि सारिने प्राज्ञिक योजना र कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सबै सहयोग अनवरत भइरहनेसमेत मन्त्री आलेले विश्वास दिलाए । प्रतिष्ठान जस्ता संस्थाको बजेट वृद्धि गर्न आफूले पटकपटक कुरा राखेको उनको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका संस्कृति हेर्ने सदस्य डा रामकुमार फुयाँलले प्रतिष्ठानलाई अध्ययन अनुसन्धानका क्षेत्रमा समयापेक्ष विशिष्टिकृत संस्थाका रूपमा स्थापित गरिनुपर्नेमा जोड दिए । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संविधान अनुसार नेपालको बहुलताका विषयमा प्रतिष्ठानले अध्ययन अनुसन्धान गराइरहेको जानकारी दिए । उनले छिमेकी देशका प्रज्ञा प्रतिष्ठानसँग पनि सहकार्य गरेर प्राज्ञिक आदानप्रदानका माध्यमबाट काम गरिरहेको बताए । प्रतिष्ठानका पूर्वकूलपति वैरागी काइँलाले ज्ञान विज्ञानका क्षेत्रमा प्रतिष्ठानले गरिरहेका कामलाई अझै तीव्र रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले प्रतिष्ठान राष्ट्रको आवश्यकता पूर्ति गर्ने शिरफूलका रूपमा स्थापित संस्था भएको धारणा व्यक्त गरे । सातै प्रदेशको परिचय दिने नेपाल दर्पण बजेट अभाव र कोरोना महामारीका कारण पूरा हुन नसकेको बताए । नेपाललाई विश्वमा चिनाउने यस्ता पुस्तक छिट्टै प्रकाशनमा ल्याउन सरकारको पनि सहयोग आवश्यक परेको उनले जनाए । मधेश प्रदेशको इतिहास, भाषा, संस्कृति, सङ्गीत, कृषिलगायतका विविध विषयको अध्ययन गरी भदौमा पुस्तक प्रकाशनको तयारी गरिएको प्रतिष्ठानले जनाएको छ । गुरुङले अन्य प्रदेशमा भने यस्तो गर्न नसकिएको गुनासो गरे । सो कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले चालु आर्थिक वर्षको बजेटमा निवृत्तिभरणमा शून्य गरिएकामा दुःख प्रकट गरे । प्रकाशनको तयारीमा १५० पुस्तक रहे पनि बजेट नभएकाले समस्या आएको उनको भनाइ थियो । उनले वाल्मीकि रामायण, प्रज्ञा नेपाली शब्दकोश लगायत देशकै गौरव बढाउने कृति छाप्नसमेत पैसा नभएकाले व्यवस्था गरिदिन माग गरे । महोत्सव आयोजक समितिका संयोजक प्राज्ञ हेमनाथ पौडेलले प्रतिष्ठानले कवितालाई विशेष महत्व दिएर विसं २०२२ देखि कविता महोत्सव सुरु गरेको जानकारी गराए ।

विसं २०२२ मा सुरु भएको महोत्वस अहिलेसम्म विसं २०४७, २०६३ देखि २०६६ सम्म प्राज्ञपरिषद् गठन नभएका कारण रोकिएको थियो । अहिलेसम्म महोत्सवबाट पहिलो, दोस्रो, तेस्रो गरी २६० जना स्रष्टा पुरस्कृत भइसकेका छन् । यसवर्ष पनि पहिलो, दोस्रो दुई र तेस्रो तीन जना गरी पाँच जनालाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । यसवर्ष महोत्सवका लागि ५८८ कविता देश विदेशबाट प्राप्त भएका थिए । त्यसमध्येबाट ३० कविता वाचनका लागि छनोट गरिएको छ । अप्रतियोगी १५ कविता पनि वाचन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । विदेशमा रहेका कवि एवं कवयित्रीले भिडियोबाट नै कविता वाचन गर्न सक्ने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया