केही घण्टामा मन्त्री फेरिने समाजवादीको आश्वासन

काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीले छिटै मन्त्री हेरफेर हुने जानकारी दिएको छ । सो पार्टीको निर्णयअनुसार गएको जेठको अन्तिमसम्ममा मन्त्री हेरफेर भइसक्नुपर्ने थियो ।

बुधबार र बिहीबार बसेको सचिवालय बैठकमा सदस्यहरुले पार्टीको निर्णय कार्यान्वयन नभएको भन्दै उनीहरुले सो कार्यन्वयनमा जोड दिएको स्रोतले बतायो ।

बैठकमा सदस्यहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री हेरफेरका लागि तीव्र दबाब दिन सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसमक्ष आग्रह गरेका थिए ।

सो अनुसार आफूले यस विषयमा तत्कालै कदम चाल्ने बैठकमा अध्यक्ष नेपालले आश्वासन दिएका थिए । बैठकपछि प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले मन्त्री हेरफेर अब दिनमा र गतेमा नभइ केही घण्टाभित्र हुने जानकारी दिए ।

‘अब दिनहरुमा होइन, घण्टाहरुमा मन्त्रीहरु हेरफेर गर्ने दिशामा लागिरहेको छ’, बैठकपछि खतिवडाले भने । सरकारबाट फिर्ता हुन नमानेपछि अध्यक्ष नेपालले पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने चार जना मन्त्रीलाई बिहीबार बिहान आफ्नो निवासमा बोलाएका थिए ।

बिहीबारको भेटमा यसअघि शान्त देखिएकी शहरी विकासमन्त्री रामकुमारी झाँक्री उग्र बनेकी थिइन् । उनले ‘बाउ भने पनि आमा भने पनि तपाई नै हो मलाई केही समय काम गर्न दिनुपर्छ’ भन्ने माग राखेको निवास बाहिरै सुनिन्थ्यो ।

तर, होहल्ला बाहिर गएपछि स्वस्थ्यमन्त्री विरोध खतिवडाले झ्याल बन्द गरेका थिए । प्रचार विभाग प्रमुख खतिवडाका अनुसार शुक्रबार पार्टीको पोलिटब्यूरो बैठक बस्नेछ भने ११ गते केन्द्रीय कमिटी र १३–१४ केन्द्रीय परिषद्को बैठक बस्नेछ ।

उक्त बैठकमा स्थानीय चुनावको समीक्षा, सरकारको समीक्षा, गठबन्धन र आगामी चुनावबारे छलफल हुनेछ ।

प्रतिक्रिया