अमेरिकी दूतावास काठमाडौंबाट भिजिटर भिसामा रेकर्ड ब्रेक

काठमाडौं । अमेरिकी दूतावास काठमाडौंले भिजिटर भिसामा रेकर्ड ब्रेक गरेको छ । गत महिना अर्थात मे महिनामा अमेरिकी दूतावास काठमाडौंले २०२३ जनालाई भिजिटर भिसा जारी गरेको छ ।

दूतावासले भिजिटर भिसा जारी गरेको मासिक रेकर्ड सार्वजनिक गर्न थालेपछिको यो नै पहिलो पटक हो । सन् २०१७ को मार्चदेखि अमेरिकी विदेशमन्त्रालयले मासिक रुपमा जारी भिसा संख्या सार्वजनिक गर्न थालेको हो ।

कोरोना महामारी सुरु भएपछि अत्यन्तै कमलाई मात्र भिजिटर भिसा जारी गरिरहेको अमेरिकी दूतावासले मे महिनामा अहिलेसम्मकै सबै रेकर्डहरु तोड्दै भिजिटर भिसा जारी गरेको छ । तर, डिभी लगायतका अन्य आप्रवासी भिसाहरु भने निकै कममात्र जारी गरेको छ ।

अमेरिकी दूतावासले मे मा ८५० जनालाई विद्यार्थी भिसा दिएको छ भने डिपेन्डेन्टका रुपमा भिसा पाउनेहरु थप ५७ जना रहेका छन् । अप्रिलमा भने दूतावासले १३४० लाई भिजिटर भिसा र १८८ लाई विद्यार्थी भिसा जारी गरेको थियो ।

तर, अप्रिलमा भने दूतावासले आफ्नो जनशक्ति डाइभर्सिटी भिसा जारी गर्नमा बढी केन्द्रीत गरेको देखिएको छ । दूतावासले उल्लेख्य संख्यामा विना अन्तरवार्ता भिजिटर भिसा नविकरणसमेत गरिरहेको छ ।

विगतमा भिजिटर भिसा लिएका र भिसा सकिएको ४८ महिना ननाघेकाहरुले यो सुविधा पाइरहेका छन् । त्यस्तै विगतमा कुनै पनि प्रकारको गैर आप्रवासी भिसा लिएकाहरुलाई पनि विना अन्तरवार्ता विद्यार्थी भिसा प्राप्त गर्ने सुविधा रहेको छ ।

प्रतिक्रिया