निरूका दुई कृति विमोचित

काठमाडौं । स्रष्टा निरु न्यौपानेका उपन्यास ‘अर्को अध्याय’ र गजल ‘सिरानीको तस्बिर’ सार्वजनिक गरिएको छ । थापागाउँस्थित लेखनकुञ्जमा आयोजित कार्यक्रममा कवि तथा गीतकार रमेश पौडेलले न्यौपाने राम्रो सर्जकका रुपमा आफूले चिनेको बताए ।
उनले उपन्यास पठनयोग्य रहेको जिकिर गर्दै संघर्षका कथालाई कलात्मक रुपमा उनिएको सुनाए । उनले भने, ‘उपन्यासमा नेपालदेखि विदेशिएको अनुभव छ । लेखक आफै पनि विभिन्न देश पुगेर संघर्ष गरेका कारण गहकिलो र पठनयोग्य किताब पाएका छौँ ।’

समालोचक ज्ञानु अधिकारीले उपन्यासमा पारिवारिक, मानवीय संवेदना प्रचुरमात्रामा रहेको बताइन् । उनले उपन्यासमा महिलाको संवेदनालाई आकर्षक ढंगले प्रस्तुत गरिएको जनाइन् । अधिकारीले भनिन्, ‘उपन्यासमा माया, विश्वास, सम्बन्ध मुख्य रुपमा आएको छ ।

एकपटक पढ्न बसेपछि उठ्न मन लाग्दैन ।’ उनले उपन्यासमा महिला संवेदनालाई मिहिन ढंगले प्रस्तुत गरिनु तथा सबै पुरुषलाई गलत नदेखाउनु लेखकको सबल पक्ष भएको जिकिर गरिन् । सो अवसरमा समीक्षक रेणुका सोलुले उपन्यास नेपाली महिलाको यथार्थ भएको बताइन् । उनले भनिन्, ‘अर्को अध्याय नेपाली महिलाले दुलही भएर भित्रिएबाट सुरु भएको विभेददेखिको कथा हो । यसले नेपाली समाज र महिलालाई प्रस्तुत गरेको छ ।’ सोलुले उपन्यास पढ्दै गर्दा परिवारको सकारात्मक भूमिकाले नेपाली समाज त्यस्तै भए हुने जस्तो लाग्ने विचार व्यक्त गरिन् ।

उनले यौनमात्रै ठूलो कुरा नभएको सुनाउँदै विदेशको भोगाइका विविध पाटालाई उठान गरिएको बताइन् । सोलुले भनिन्, ‘पितृसत्तामाथि उठाएको प्रश्न, बिहे आफैमा नराम्रो हैन, छोरालाई नैतिक शिक्षा दिनुपर्छ लगायतका कुराहरू उपन्यासको राम्रो पक्ष हुन् ।’

यसैगरी, गजलकार ललिजन रावलले ‘सिरानीको तस्बिर’ गजल नौलोपन भेटिने बताए । उनले भने, ‘उपन्यास लेख्नु जोखिम कुरा हो । लेखकले राम्रो काम गरेकी छन् । यस्तै, गजल पढेँ, यसमा विषयक विविधता धेरै छ । एउटा गजलकारका लागि राम्रो कुरा हो ।’ कार्यक्रममा प्रा.डा. सावित्री कक्षपतिले नयाँ लेखकलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै गीत राम्रो बनेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘लेखन उत्पादन हो, उत्पादन निर्माण हो । यसरी नै गीत, भिडियो निर्माण हुन्छ । भिडियो राम्रो छ ।’

त्यस्तै, सर्जक न्यौपानेले आफूलाई किताब लेख्न समर्थन तथा प्रोत्साहन गर्ने सबैलाई धन्यवाद दिंइन् । उनले आफू सानैबाट लेख्ने भए पनि अरूलाई नसुनाउने र नदेखाउने विचार व्यक्त गरिन् । कार्यक्रममा पेशलकुमार ढकालको ‘हिसाब किताब’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो । गायक राज सिग्देलले गाएको उक्त गीतको लेखनसमेत न्यौपानेले नै गरेकी हुन् । अनुप चापागाईंले निर्देशन गरेको भिडियोमा गरिमा शर्मा र जीवन भट्टराईको अभिनय छ ।

प्रतिक्रिया