प्रशिक्षक अब्दुल्लाहको नेपाल भविष्य अन्योल !

काठमाडौं । एसिया कप छनोटको तीनै खेलमा पराजित भएपछि नेपाली फुटबल टिम कुवेत सिटीबाट नेपाल फर्कने तयारीमा थियो । नेपाली टिम अपरान्ह निस्कने तयारीमा थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाली टिमको बिदाइ गर्न सल्मियास्थित होटल मिलेनियम होटल तथा कन्भेन्सन सेन्ट्रको गेटमै थिए ।
विमानस्थल पुर्याउन आउने बसको पर्खाइमा रहँदा कुवेती नागरिक अब्दुल्लाहले आफ्नो नेपाल फर्कने विषयमा भनेका थिए, ‘हेरौं, आउने चुनावको नतिजा के हुन्छ ?’ । सोमबार अर्थात् ६ असारमा सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभाबाट नयाँ अध्यक्षमा पंकजविक्रम नेम्बाङ निर्वाचित भए । पंकजसँग ६ मतले पछि परे निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा । जुन नतिजा आयो, त्यो नतिजा अब्दुल्लाहले चिताएका थिएनन् । उनको चाहना र प्रार्थना दियो । एन्फाको आगामी चार वर्षे कार्यकालमा कर्मानै दोहोरिउन् । तर भयो उल्टो ।

नेपाल बसाई क्रममा अब्दुल्लाह कहिल्यै गुमनाम रहनु परेन । कहिले मैदानभित्र त कहिले बाहिर उनि सधै चर्चा पात्र रहे । अब्दुल्लाह सामाजिक सञ्जालमा बढी समर्थकबाट रुचाइए । उनको विषयमा राम्रो या नराम्रो प्रतिक्रिया आओस् । समर्थनले साथ दिइरहे । एक वर्षको लागि नेपाल झरेका अब्दुल्लाहले विभिन्न विवादका बीच आफ्नो नेपाल बसाईलाई गत वर्ष सम्झौता नवीकरण गर्दै सन् २०२४ सम्मलाई पुर्याएका थिए ।

एन्फाको अध्यक्षमा पंकज विजयी भएसँगै अब्दुल्लाह नेपाल बस्छन् कि बस्दैछन् ? बहसको विषय बनेको छ । सनकका भरमा जस्तोसुकै निर्णय गर्ने अब्दुल्लाहले यसअघि नै कर्माबाहेकको टिमसँग सहकार्य नगर्ने बताएका थिए । सोमबार राति १२ बजे चुनावको पूर्ण नतिजा नआउँदा नै अब्दुल्लाहले इन्स्ट्राग्राममा स्टोरी राख्दै नेपाल नफर्कने संकेत गरेका छन् । यद्यपि उनले त्यो स्टोरी केही समयमै हटाएका थिए ।

अध्यक्षमा निर्वाचित पंकजले जितपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै खेलाडी–प्रशिक्षक विवाद छानविन समितिको प्रतिवेदन हेरेर कार्यसमितिको बैठकबाट निर्णय गर्ने बताएका छन् । ‘प्रशिक्षकको विषय पहिलो कार्यसमितिको बैठकबाट निर्णय गर्छौं । छानबिन समितिको प्रतिवेदन बृहत् रूपमा छलफल गरेर त्यो समस्याको समाधान गर्छाै,’ पंकजले भनेका थिए ।

यसअघि टोलीका नियमित सदस्य रोहित चन्दले खेलाडीको सामान्य माग प्रशिक्षक अब्दुल्लाह समक्ष राख्दा रोहितलाई घर पठाइएको थियो । यसपछि आफ्नो माग राखेका रोहितलाई अब्दुल्लाहले क्याम्पबाट निकालेपछि बाँकी १० खेलाडीले १४ वैशाखमा होटेल छाडेका थिए । १० खेलाडीलाई सामाजिक सञ्जालबाट समर्थन गरेका कप्तान किरणकुमार लिम्बूलाई समेत अब्दुल्लाहले कुवेतमा भएको एएफसी एसियन कप २०२३ छनोट खेलबाट बाहिर राख्दै ‘रिस्क’ मोलेका थिए ।

यसपछि एन्फाले भिक्टोर राणाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको थियो । जुन समितिले ४ जेठमा एन्फालाई प्रशिक्षक अब्दुल्लाहल र व्यवस्थापक मधुसुदन उपाध्यायको विकल्प खोज्न सुझाव दिएको थियो । यता, वरिष्ठ उपाध्यक्षमा निर्वाचित वीरबहादुर खड्काले आगामी कार्यसमितिको बैठकले छानविन समितिको सुझावमा रहेर निर्णय हुने र आफूहरु खेलाडीको पक्षमा जाने बताइसकेका छन् । ‘हामी छानबिन समितिको सुझावअनुसार अगाडि बढ्छौं । हामी खेलाडीको पक्षमा छौं,’ खड्काले भनेका छन् ।

यसअघि १० साउन ०७८ मा अब्दुल्लाहले तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण आफू एन्फामा राजीनामा दिन जाँदैछु भनेर फेसबुकमा स्टाटस राखेका थिए । तर उनले राजीनामा भने गरेका थिएनन् । यसपछि पंकज अब्दुल्लाह र एन्फा नेतृत्वविरुद्ध असहमतिमा रहँदै आएका थिए । जुन विवाद पछि पंकजले आफ्नो फेसबुक अकाउन्ट बन्द गर्नुपरेको थियो । हाल भने मुटुको समस्याको कारण अब्दुल्लाह कुवेतमै रहेका छन् । उपचारका लागि उनले एन्फाको अघिल्लो नेतृत्वसँग तीन महिनाको छुट्टी लिएका छन् । अब बस्ने एन्फाको कार्यसमितिको पहिलो बैठकले यो विवादमा कुन निर्णय लिन्छ त्यो भने प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया