अटो चलाएपछि भोकै बस्न परेन

विपन्न महिला भन्छन्

वीरेन्द्रनगर । वीरेन्द्रनगरकी सिर्जना गुरुङले साँझ बिहान पेटभर खान पाइएला भनेर सोचेकी थिइनन् । १४ वर्षकै उमेरमा विवाह बन्धनमा बाधिएकी उनको आर्थिक अवस्था नाजुक हुनाले मजदुरी गरेर ल्याएको पैसाले साँझ बिहानको गुजारा चलाउन समस्या थियो । विगतमा सिर्जनाका दुई छोरा र दुई छोरी सानै भएकाले मजदुरी गर्न जान पनि नसकिने अवस्था थियो । त्यतिबेला कैयौँ रात भोकै बस्नुपरेको उनले सुनाइन् । ‘काम गरेको पैसाले कहिले आधा किलो चामल र चाउचाउ किन्थे तर सबैलाई पेटभर खान पुग्थेन’, विगत सुनाउँदै उनले भनिन्, ‘कहिलेकाहीँ कोही छिमेकीले दिएको खाएर बस्थ्यौँ ।’ छोराछोरीलाई भोकै सुताउनुपर्दा राती सिर्जनालाई निद्रा लाग्दैनथ्यो । श्रीमान्को सहयोग नभएकाले चार छोराछोरीको पालनपोषण गर्ने जिम्मा उनैको काँधमा थियो ।

जीवनमा कहिले घाम त कहिले छाया भनेझैँ सिर्जनाको जीवनले पनि अर्काे मोड लियो । त्यो हो ‘अटो रिक्सा’ उनले अटो चलाउन थालेपछि आर्थिक अवस्था सुधार हुँदै आएको छ । ‘अहिले भोकै बस्नुपरेको छैन’, उनले भनिन्, ‘अटो चलाएपछि पेटभर खान पाएका छौँ’, उनी दैनिक गुजारा गर्नाका साथै मनग्य आम्दानी गर्न सफल भएकी छन् । अटो चलाएरै मासिक ३० हजार बढी आम्दानी हुने गरेको उनले बताइन् ।

सरकारी विद्यालयमा पढाउँदै आएका छोराछोरीहरूलाई अहिले निजी विद्यालयमा पढाउने सोचमा छिन् उनी । विद्यालय नगएर बसेकी ठूली छोरी पनि अब विद्यालय जान पाउने भएकी छन् ।

वीरेन्द्रनगर–१२ की कल्पना सिंहका श्रीमान्ले दोस्रो बिहे गरे । आफ्ना दुई छोरासहित भाडामा बसेकी उनी श्रीमान्ले सहयोग नगरेपछि समस्यामा परिन् । छोराछोरीसहित उनलाई बिहान बेलुकाको छाक टार्नै हम्मेहम्मे थियो । एकदिन उनले नगरपालिकाले अटोरिक्सा चलाउने तालिम दिन लागेको सुनिन् ।

वीरेन्द्रनगर नगरपालिकाले महिलालाई लक्ष गरी एक महिनासम्म अटो रिक्सा चलाउने तालिम दिने कार्यक्रम ल्याएको थियो । कल्पनाले पनि उक्त तालिम लिइन् । यसपछि नगरपालिकाबाट अटो किन्न दुई लाख पनि सहयोग पाइन् । दुई लाखमध्ये एक लाख अनुदान हो भने अर्को लाख एक वर्षमा तिर्ने ऋण । अटो चलाउनथालेपछि उनलाई श्रीमान्को आश गर्नै परेन । ‘श्रीमान्ले सहयोग नगरे पनि आफँै आत्मनिर्भर बन्दै आएको छु’, उनले भनिन्, ‘रिक्सा चलाउन थालेपछि तीन जनाको मेरो परिवार सजिलै पालेकी छु ।’ अटो सिक्ने बेला कल्पनालाई समाजले के भन्ला भन्ने डर लागेको थियो तर अहिले अटो चलाएर मनग्य आम्दानी गर्न थालेपछि टोल–समाजले उल्टै हौसला दिन थालेका छन् ।

‘समाजमा मैले अटो चलाउँदा अर्कै सोच्छन् कि भन्ने लागेको थियो’, उनले भनिन्, ‘तर सोचेजस्तो छैन, राम्रो गरेकी छाँै, अझ मिहिनेत गर्दै जाउ भन्छन् ।’ कल्पनालाई सवारी चालक अनुमतिपत्र नहुँदा समस्या भएको छ । उनी अहिले अनुमतिपत्र निकाल्ने प्रक्रियामा छिन् । ‘ट्रायल कटाउन सक्दिनकी भनेर चिन्ता लाग्छ’, उनले भनिन् । कल्पना मात्र होइन, अहिले सुर्खेतका यस्ता अटो रिक्साचालक महिला धेरै छन् । प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा उपत्यकाभित्रको सार्वजनिक यातायात भनेकै अटो रिक्सा हो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालका अनुसार महिला स्वरोजगार कार्यक्रममार्फत तालिम लिएका १५ जनाले अहिले अटो चलाउँदै आएका छन् ।

वीरेन्द्रनगरको झुप्रा खोलामा गिट्टी कुट्ने र बालुवा चाल्दै आएकी २८ वर्षीया पवित्रा रावतले अहिले अटो चलाउँदै छिन् । पहिले मजदुरी गरेर कमाएको पैसाले घरखर्च चलाउन कठिन थियो । उनका श्रीमान पनि मजदुरी गर्छन् । दुवैजनाले मजदुरी गरे पनि घरखर्च चलाएर छोराछोरी पढाउन समस्या परेको थियो तर अहिले अटो चलाउन थालेपछि मासिक ५० हजार देखि ६० हजारसम्म आम्दानी हुने गरेको छ । घरखर्च चलाउन सजिलो भएपछि उनका श्रीमान् पनि खुुसी छन् । पहिला सामान्य घरायसी सामान किन्न पनि आँट नगर्ने पवित्रा अहिले जग्गा किन्ने सोचमा छिन् । ‘आफू आत्मनिर्भर भएपछि मात्र आँट आउँदो रहेछ’, उनले भनिन्, ‘अब घरको ऋण सबै तिरिसकेपछि जग्गा किन्ने सोच बनाएकी छु ।’ पवित्राले गाउँको सहकारी संस्थामा वचत गरेकी छन् ।

अटो चलाउँदा थरिथरिका व्यक्तिसँग कुराकानी गर्दै बाटो काट्नु पर्छ । ‘कोही कति पीडामा हुन्छन् अनि कोही खुसीमा रमाएका भेटिन्छन्’, उनले भनिन्, ‘उनीहरूसँग कुरा गर्दा आफ्ना पीडा पनि बिर्सन्छु ।’ वीरेन्द्रनगर–७ की मौसमी शाही पनि अटो रिक्सा चालक हुन् । साँझ बिहानको घरको कामबाहेक दिउँसोको समय सदुपयोग गर्न उनले अटो रिक्सा तालिम ल्याएकी हुन् । सानोतिनो खर्च चाहिए पनि श्रीमान्कै हात थाप्नुपर्ने भएपछि आफैँ आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचले तालिम लिएको मौसमीले बताइन् । उनका श्रीमान् नेपाल प्रहरीमा छन् । अटोको आम्दानीबाट मौसमीका परिवार सन्तुष्ट छन् । अटोबाट मासिक ४० हजारसम्म आम्दानी हुने गरेको उनले सुनाइन् ।

प्रतिक्रिया