माउन्ट एभरेष्ट तेक्वान्दो असोजमा

काठमाडौं । तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोजको पहिलो साता आयोजना हुने भएको छ । च्याम्पियनसिप असोज ५ देखि ९ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुनेछ ।
जी–२ ¥याङकिङ प्रतियोगितामा जुनियरतर्फ महिला र पुरुष गरी २० तथा सिनियरमा महिला र पुरुष गरी १६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विभिन्न देशका १ हजार ५ सय खेलाडीको सहभागिता रहने छ । च्याम्पियनसिपका लागि १ सयभन्दा वढी विदेशी निर्णायकसमेत नेपाल आउने छन् । च्याम्पियनसिप सञ्चालनका लागि २ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । वल्र्ड तेक्वान्दो फेडरेसनको वार्षिक क्यालेन्डरमा समावेश च्याम्पियनसिप सन् २०१९ मा आयोजना गर्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण त्यतिबेला सम्भव नभएपछि यस वर्ष आयोजना गर्न लागिएको हो ।

यसैबीच, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्र्समा गरी ३८ वटा टोलीका सहभागिता रहने जानकारी बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आइतबार आयोजित पत्रकार सम्मेलनमा दिए ।

सिनियर ब्वाइइजमा १९, जुनियर ब्वाइजमा १२ र गल्र्समा ७ टोली सहभागी हुनेछन् । लिग कम नकआउट आधारमा हुने उक्त प्रतियोगिताका खेलहरु बसुन्धारामा हुनेछ । पत्रकार सम्मेलनमा प्रिन्सिपल चापागाईंले कोभिड–१९ का कारण विद्यालय खेलकुद ज्यादै न्युन मात्रमा भइरहेको अवस्थामा यो प्रतियोगिताले विद्यालयमा अध्ययनरत बास्केटबल खेलाडीलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले कोभिड–१९ कै कारण बीएनए कपको २ वटा संस्करणमा आयोजना हुन नसकेको जानकारी पनि दिए । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने बीएनएका संयोजक सन्तोष फुयालले जानकारी दिए । बीएनएका अध्यक्ष प्रमोद श्रेष्ठ र बास्केटबल प्रशिक्षक नारायण खवासले प्रतियोगिताको विविध पक्षबारे जानकारी दिएका थिए । प्रतियोगिताको फाइनल असार १ गते हुनेछ ।

यसैबीच, चावहिल स्पोर्टस क्लबको आयोजनामा प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ७ को मुख्य प्रायोजनमा हुन लागेको उक्त प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका १४ पुरुष टोलीको सहभागिता रहने जानकारी प्रतियोगिताका संयोजक केशर गोर्खालीले दिए ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठले जानकारी गराए । उत्कृष्ट खेलाडी, डिफेन्डर र गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । सिक्स ए साइड स्वरुपमा हुने उक्त नकआउट प्रतियोगिताका खेलहरु चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा हुनेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३१ गते हुनेछ ।

प्रतिक्रिया