वर्षाको ‘अन्ततः यन्त्रणा’ लोकार्पण

काठमाडौं । कवि तथा साहित्यकार सुमन वर्षाद्वारा लिखित उपन्यास ‘अन्ततः यन्त्रण’ सार्वजनिक गरिएको छ । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा साहित्यकार विश्वप्रकाश शर्मा, साहित्यकार भुवन ढुङ्गाना, प्रयागराज भट्टराई, महेश पौडेल, अनुपमा रेग्मी, लेखक सुमन वर्षा र शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले संयुक्त रुपमा उक्त कृतिको सार्वजनिक गरे ।

उक्त उपन्यासमाथि समीक्षा गर्दै समालोचक महेश पौडेलले पुस्तकमार्फत सुमनले धेरै प्रश्न राखेको बताए । उपन्यास वर्तमान नारीको समवेदनाप्रति केन्द्रित रहेको धारणा राखे । उनले भने, ‘छोरा र छोरी जन्मिनु प्राकृतिक कुरा हो । यसमा नारीको मात्र होइन पुरुष पनि उत्तिकै जिम्मेवारी छ । विभेदलाई विषय बनाउनुहुन्न । उपन्यासले यिनै विषयलाई कलात्मक रुपमा उठान गरेको छ ।’

त्यसैगरी अर्का समीक्षक अनुपमा रेग्मीले उपन्यासमा गाउँघरको कथा रहेको सुनाइन् । उनले उपन्यासमा महिलाले महिलाको सामाजिक अवस्थाको सुन्दर वर्णन गरेकाले सबैलाई पढनु पर्ने विचार व्यक्त गरिन् । साहित्यकार भुवन ढुङ्गानाले नारी विषय समेटिएको यो उपन्यासमा जति पुस्ता आए पनि नारीका पीडाहरू उस्तै रहेका र महत्वपूर्ण विषयवस्तुको उठान गरिएकोले खुसी लागेको बताइन् । कार्यक्रमका प्रमुख अतिथि शर्माले राजनीतिभन्दा साहित्य निकैमाथि रहेको र समाज रुपान्तरणमा यसले ठूलो टेवा पु¥याएको बताए ।

उनले भने, ‘साहित्य गहना र गौरव दुवै हो । राम्रा र उत्कृष्ट साहित्यले थुप्रै यन्त्रणाहरूको हल गर्न सक्दछन् ।’ शिखा बुक्सले आयोजना गरेको उक्त कार्यक्रम ऋषभदेव घिमिरेले सञ्चालन गरेका थिए । ‘अन्ततः यन्त्रणा’ धनुषचन्द्र गोतामे आख्यान पुरस्कार २०७८ बाट पुरस्कृत भएको छ । रोशन थापा निरवद्वारा सम्पादित ३६५ पेजको उक्त उपन्यासको मूल्य ५२५ रहेको छ ।

प्रतिक्रिया