सिवाकोटीको स्मृति ग्रन्थ

काठमाडौं । दोलखाका अग्रणी समाजसेवी तथा शिक्षाप्रेमी स्व. रूक्मणिराज सिवाकोटीको स्मृति ग्रन्थ प्रकाशित भएको छ । शिक्षा तथा समाजसेवामा योगदान दिएका शिवाकोटी सम्झनामा ‘समाजसेवी रूक्मणिराज सिवाकोटी स्मृति पुष्प भाग–१’ को विमोचन गरिएको हो । सिवाकोटीको गएको मंसिर १४ गते ९० वर्षको उमेरमा निधन भएको थियो ।

ग्रन्थको संस्कृतिविद् डा. विणा पौड्याल, सर्वोच्चका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी, प्राज्ञ दिनेशराज पन्त, इतिहासविद् नयनाथ पौडेल तथा प्रा.डा. सुरेन्द्र पौडेलले संयुक्त रूपमा विमोचन गरे । कृतिको विमोचनपछि संस्कृतिविद् डा. विणा पौड्यालले समाज र देशका लागि विशिष्ट योगदान दिएका शिवाकोटीको स्मृति ग्रन्थ प्रकाशन गरेर सराहनीय काम गरेको बताइन् ।

ग्रन्थमा सिवाकोटीले दोलखाको शिक्षा तथा समाज सेवाको क्षेत्रमा पुर्याएको योगदानका साथै उनको व्यक्तित्वका विभिन्न पाटाका बारेमा चर्चा गरिएको छ । विभिन्न व्यक्तिले उनका बारेमा लेखेका रचना पुस्तकमा समावेश गरिएको छ । सो कार्यक्रममा उक्त ग्रन्थसँगै अन्य चार कृतिसमेत सार्वजनिक गरियो ।

यस्तै, कार्यक्रममा २०५० सालदेखि शृखंलाबद्ध रूपमा प्रकाशित हुँदै आएको न्याय भाग ३२ र ३३ सँगै ०४३ सालदेखि निरन्तर प्रकाशित हुँदै आएको ज्ञानगुनका कुरा २०४ र २०५ सार्वजनिक गरियो । प्रकाशित न्याय भाग ३२ नयनबहादुर खत्री स्मृति अंक १ रहेको छ । यस्तै, भाग ३२ अमेरिकी न्यायाधीश जोन मार्सल स्मृति अंकका रुपमा प्रकाशित गरिएको छ । यसैगरी, ज्ञानगुनका कुरा भाग २०४ पृथ्वीनारायण शाह स्मृति अंकका रुपमा निकालिएको छ भने २०५ सरदार कालु पाँडे स्मृति अंकका रुपमा प्रकाशन गरिएको हो ।

प्रतिक्रिया