बजेटले निजी क्षेत्र उत्साही

चितवन । सरकारले आइतबार ल्याएको बजेटले निजी क्षेत्र उत्साहित भएको छ । ठूलो आकारको बजेट भएकाले कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण रहेको बताइएको छ । देशकै मध्यभागमा रहेको चितवनका उद्योगी व्यवसायीले बजेट निजी क्षेत्रमैत्री भएको बताएका छन् । उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष चुननारायण श्रेष्ठले बजेटमा उद्योगका धेरै कुरा समेटिएको बताए । उनले भने, ‘आकार ठूलो हुँदा कार्यान्वयनमा समस्या हुन्छ कि भन्नेमा हामीहरूमा चिन्ता छ ।’ बजेटले चितवनको भौतिक निर्माणका विषयलाई सम्बोधन गरेको भन्दै अध्यक्ष श्रेष्ठ छिमेकी सहरको केन्द्रका रूपमा यसलाई विकास गर्न खोज्नु सकारात्मक रहेको बताए । कोभिडबाट असर परेका क्षेत्रलाई राहतको प्याकेज ल्याएको चर्चा गर्दै उनले भने, ‘समग्रमा बजेटले निजी क्षेत्रलाई उत्साहित बनाएको छ ।’

उद्योग संघका पूर्वअध्यक्ष राजु पौडेलले बजेट सकारात्मक गरेको बताए । शक्तिखोरमा लामो समयदेखि प्रक्रियामा रहेको औद्योगिक क्षेत्रलाई सार्वजनिक निजी साझेदारी बनाउने विषय निकै महत्वपूर्ण भएको उनको बुझाइ छ । सरकारी प्रक्रियाका कारण ढिलो भएको र अब यसले गति लिने उल्लेख गर्दै पूर्वअध्यक्ष पौडेल भने, ‘बजेटले समाजवाद उन्मुख हुने प्रयत्न गरेको छ ।’ ५० बिघासम्मको जमिनलाई हदबन्दी नलाग्ने, निर्यातमा सहुलियत बढाउने, उद्योग र व्यापारमा व्याजदर फरक, किसान पेन्सन, कृषकलाई पाँच अर्ब रुपैयाँको लघुबित्तमार्फत ऋण जस्ता कार्यक्रम महत्वपूर्ण रहेको छ ।’

पर्यटन व्यवसायीले पनि बजेटलाई सकारात्मक भनेका छन् । कोभिडका कारण थला परेको व्यवसाय उकास्न बजेट सहयोगी हुने उनीहरूको बुझाइ छ । क्षेत्रीय होटल संघका जिल्ला अध्यक्ष दीपक भट्टराईले समग्रमा बजेट स्वागतयोग्य रहेको बताए । पर्यटन क्षेत्रमा नयाँ कुरा नआए पनि पुराना महत्वपूर्ण पक्षलाई समाबेस गरिएको भन्दै उनले भौतिक पूर्वाधारमार्फत सहजरुपमा सहरलाई जोड्नु पर्यटन क्षेत्रका लागि सकारात्मक भएको उल्लेख गरे । अध्यक्ष भटृराईले भने, ‘कार्यान्वयन पक्ष राम्रो भयो भने बजेट सकारात्मक छ ।’

पोल्ट्री क्षेत्रमा भने बजेटले सम्बोधन गर्न नसकेको सम्बद्ध व्यवसायीको गुनासो छ । नेपाल दाना उद्योग संघ केन्द्रीय समितिका पूर्वध्यक्ष डा. तिलचन्द्र भट्टराईले पोल्ट्री क्षेत्रलाई बजेटले सम्बोधन गर्न नसकेको बताए । विगत तीन वर्षदेखि भटमासमा लाग्दै आएको नौ प्रतिशत र मकैमा पाँच प्रतिशत भन्सार शुल्क घट्नुपर्ने माग व्यवसायीको छ । शतप्रतिशत भटमास र ७० प्रतिशत मकै बाहिरबाटै आउँछ । पूर्व अध्यक्ष भट्टराई कोभिड र बर्डफ्लुका कारण थलिएकोे पोल्ट्री क्षेत्रलाई बजेटमा सम्बोधन गर्नुपर्नेमा त्यसो नहुँदा व्यवसायी विस्थापित हुनसक्ने उनले गुनासो गरे ।

अन्य क्षेत्रलाई सम्बोधन गरिए पनि पोल्ट्री क्षेत्रलाई प्रत्यक्ष छुन नसकेको भन्दै उनले उद्योगलाई दिइने सुविधाबाट भने केही हदसम्म लाभ लिन सक्नेमा आशावादी भएको बताए । ५० बिघासम्मका जग्गालाई उद्योगमा हदबन्दी नलाग्ने निर्णयले उद्योगी लाभान्वित हुने देखिएको छ । केरा व्यवसायी संघका पूर्वजिल्ला अध्यक्ष यज्ञप्रसाद सुवेदी बजेटले कृषि क्षेत्रलाई समेटे पनि कार्यान्वयन पक्ष भने हेर्न बाँकी रहेको बताए । उनले भने, ‘बजेटमा सम्बोधन भए पनि कार्यान्वयन नहुँदा समस्या हुने गरेको छ ।’ बजेटमा कृषि क्षेत्रलाई समेटेका कारण यहाँका कृषक बजेटप्रति सकारात्मक छन् । यद्यपि कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्नेबारेमा ढुक्क हुन नसकेको बताएका छन् ।

कृषि क्षेत्रमा काम गर्दै आएका उद्योग वाणिज्य संघका पूर्व जिल्लाअध्यक्ष राजन गौतम बजेटले आफ्नै उत्पादन आफ्नै उपभोग भन्दै आत्मनिर्भरतातर्फ जान खोज्नु सकारात्मक रहेको बताएका छन् । बजेट ठूलो आकारमा आएकाले कार्यान्वयन पक्ष चुनौती पूर्ण रहेको उनले सुनाए । विलाशिताका वस्तुको मूल्य बढाएसँगै विकल्पसमेत सोच्नुपर्ने पूर्व अध्यक्ष गौतमको सुझाव छ ।

प्रतिक्रिया