घट्यो खेलकुदको बजेट

काठमाडौं । आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयको बजेट घटेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेट घटेको हो । आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्व ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सरकारले खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद्लाई २ अर्व ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरी नयाँ आर्थिक वर्षमा खेल पूर्वाधारमा ८७ करोड रुपैयाँ बजेटको विनियोजन गरिएको छ ।

खेलकुद पर्यटनको प्रबद्र्धनका लागि सार्वजनीक नीजि साझेदारीमा शाहसीक तथा पर्वतीय खेलकुदका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न प्रोत्साहन गरिने व्यवस्था बजेटमा गरेको छ । जुम्लाको कोप्लापाटन लगायतका स्थानमा हाइअल्टिच्युड एण्ड स्पोर्टस सेन्टर स्थापना गर्न बजेट विनियोजन गरिएको छ ।

यसैगरी सरकारले आगामी आर्थिक वर्षमा मुलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । कीर्तिपुरस्थित त्रिभुवना विश्वविद्यालय क्रिकेट मैदानमा रात्रिकालिन खेल सञ्चालन गर्न सकिने गरि फ्लड लाइट राख्न आवश्यक बजेट विनियोजन गरेको छ ।
प्रदेश र स्थानीय तहसँगको समन्वयमा चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय खेल मैदानको निर्माण कार्य पुरा गरिने लक्ष्य राखिएको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

यसैगरी कर्णाली प्रदेशमा आयोजना हुने १०औं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पुर्वाधारण निर्माण गरिने बजेट भाषणमा उल्लेख गरिएको छ । सरकारले स्थानीय तह खेल ग्राम कार्यक्रमलाई निरन्तरता दिँदै बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण र रंगशालाका लागि आवश्यक बजेट विनियोजन गरेको बताएको छ ।

बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले धनगढीको फाप्ला अन्तर्राष्ट्रिय खेल मैदान र खेलग्रामको निर्माण गरिने उल्लेख गर्दै नीजि क्षेत्रलाई खेल विश्वविद्यालय खोल्न प्रोत्साहित गरिने बताए । विदेशी क्लबलाई नेपालमा फ्रेन्चाइज लिग आयोजना गर्न अनुकुल वातावरण निर्माण गरिने बताइएको छ ।

सरकारले खेलाडी र प्रशिक्षकको क्षमतालाई अभिवृद्धि गर्दै खेलाडीलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिइएको बताएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडीको विमाको प्रबन्ध गरिने व्यवस्था बजेटमा मिलाएको छ ।

यसैगरी महोत्तरीको मटियानी, चितवनको कठार र पूर्वी नवरपरासीको मध्यविन्दुमा स्थानीय तह र नीजि क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रियसन सेन्टर स्थापना गरिने उल्लेख गरिएको छ । एसियाली र ओलम्पिक खेलकुदमा पदक विजेता खेलाडीलाई आजिवन भत्ताको व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया